
-प्रदिप अधिकारी
काठमाडौं, २१ साउन । नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि नेदरल्याण्डसँग पहिलो सिरिज खेल्यो । सिरिजको पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल आफ्नो पक्षमा पार्यो । र, एक दिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गर्यो। नेपालले डेब्यू सिरिज १-१ को बराबरीमा टुङ्ग्यायो ।
पछिल्लो समय खराब फर्मबाट गुज्रिएका ज्ञानेन्द्र मल्लले डेब्यू खेलमै अर्धशतक प्रहार गरे । त्यो नेपालको लागि वान डे मा पहिलो अर्धशतक थियो । दोस्रो खेलमा सिरिज बराबरी गर्ने लक्ष्यसहित मैदान प्रवेश गरेको नेपाली टोलीले उच्च प्रदर्शन गर्यो । खेल अन्तिम बलमा पुगेर नेपालको पक्षमा आयो । समग्रमा खेलाडीहरुले राम्रो प्रदर्शन गरेको खेल पण्डितहरुले बताएका छन् ।
नेदरल्याण्डसँग एक दिवसीय खेल सकाएर नेपाली टोली सोमबार स्वदेश फर्कियो । खेलाडीहरुलाई स्वागत गर्न विमानस्थलमा खेलप्रेमीहरुको घुँइचो नै लागेको थियो । यसैबीच कप्तान पारस खड्काले नेपालको पहिलो खेल ऐतिहासिक भएको बताएका छन् । उनले भने, ‘हाम्रो पहिलो एक दिवसीय जित ऐतिहासिक थियो । नेपालको खेल नेपालीहरुले हेर्न पाउनुभयो ।’
नेपाले लर्ड्समा पनि खेलेको थियो तर वर्षाका कारण खेल प्रभावित भयो । खेलबारे कप्तान पारस खड्का भन्छन्, ‘दुईटा ओडीआई ११ को बराबरीमा सकियो । आशा गरौं नेपालले यस्ता सिरिजहरु अझ खेल्नेछ । र, राम्रो प्रदर्शन गर्नेछ । त्यहीअनुसार एक्साइटमेन्ट बढ्नेछ ।
यस्ता खेलमा दबाब कत्तिको रह्यो यसपालीको खेलमा भन्ने सञ्चारकर्मीको प्रश्नमा खड्का भन्छन्, ‘आफ्नो देशका लागि खेल्दा दबाब त जहिल्यै हुन्छ । सबै खेलाडीहरुलाई दबाब ह्याण्डल गर्ने बानी भइसकेको हुन्छ । हामी आफ्नो तर्फबाट जीउ ज्यान लगाउने हो । मैदानभित्र हुँदा राम्रो प्रदर्शन गर्न कोशिश गरेका हुन्छौं ।’
यो महिनाको अन्त्यमा एसिया कप क्वालिफायर महत्वपूर्ण भएको उनले उल्लेख गरे ।















प्रतिक्रिया