
काठमाडौँ, २१ साउन । नेपाली क्रिकेट टिम युरोपमा टी– २० ट्राइसिरिज तथा ऐतिहासिक पहिलो एकदिवसीय खेलपछि सोमबार स्वदेश फर्केको छ ।
नेपालले नेदरल्यान्डविरुद्ध उसकै मैदानमा दुइटा ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेको थियो । तर टि–२० सिरिज वर्षाका कारण पूरै खेल्न भने पाएन ।
कप्तान पारस खड्काले टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले अबको टिमको लक्ष्य एसियन कप छनोटमा स्थान बनाउने रहेको बताए । पारसले नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ । नेपाली टोली जेट एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
युरोप भ्रमणमा गएका नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले नेदरल्यान्डविरुद्ध दुई खेलको ऐतिहासिक एक दिवसीय सिरिज खेलेको थियो ।
गत बुधबार र शुक्रबार भएको सिरिजमा नेपाल र नेदरल्याण्डले १–१ खेल जितेका थिए । बुधबार भएको एक दिवसीय क्रिकेटको डेब्यु खेलमा नेपाल नेदरल्यान्डसँग ५५ रनले पराजित भएको थियो । तर, शुक्रबार भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई १ रनले हरायो ।
सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो । नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो ।















प्रतिक्रिया