
काठमाडौँ, १९ गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सचिवालय सदस्य बामदेव गौतमलाई सांसद बनाउन डोल्पामा उपनिर्वाचन गराउने तयारीको यतिबेला चर्चा छ । तत्कालीन एमाले र माओवादीको एकताका सुत्रधार भनिएका गौतम गएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । उपनिर्वाचन गराएर गौतमलाई प्रतिनिधिसभामा ल्याउन नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ग्रिनसिग्नल दिइसकेको बताइन्छ । तर, यसको औपचारिक घोषणा भने अहिलेसम्म कतैबाट भएको छैन ।
गौतमको सचिवालयले पनि उनलाई प्रतिनिधिसभामा लैजाने तयारी चलिरहेको बताएपनि कहाँबाट लड्ने भन्ने खुलाएको छैन । गौतम स्वयंले पनि प्रतिनिधिसभामा ‘तपाईको आवश्यकता पर्यो’ भनेर दुवै अध्यक्षले गौतमलाई आश्वासन दिइसकेका छन् । स्रोतका अनुसार डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर गौतमलाई त्यहीबाट उठाउने तयारी छ । र, आउँदो दशैँभित्र उपनिर्वाच गरिसक्ने योजना पनि छ । बुढा अहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन राज्यमन्त्री छन् ।
स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर, कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्नेछ ।
डोल्पाका सांसद बुढा भने राजीनामाबारे अहिलेसम्म केही पनि बोलेका छैनन् । गएको प्रतिनिधिसभा निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । लामो समय राप्रपाको राजनीति गरेका बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए ।
यता गौतम भने बर्दिया–१, बाट काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । काँग्रेस उम्मेदवार गौतमले ४४ हजार ८ सय २९ ल्याएका थिए भने वाम गठबन्धनका वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए ।
वामदेवलाई डोल्पामा कति सजिलो ?
गौतम राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव भएका नेता हुन् । पटक पटक लाभको पद लिइसकेका गौतम एमाले–माओवादी एकताका सुत्रधार पनि हुन् । द्वन्द्वकालमा पनि उनले पटक पटक माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग वार्ता गर्न पुगेका थिए ।
यतिले मात्र डोल्पालीले उनलाई सहजै स्वीकारिहाल्ने अवस्था छैन । डोल्पामा गौतमलाई सहजै स्वीकार्ने अवस्था भने छैन । मुख्य कुरा डोल्पाको भूगोल र त्यहाँका मतदाता गौतमका लागि नयाँ हुन् । यसअघि प्युठान र बर्दियाबाट चुनाव लड्दै आएका गौतम डोल्पाका लागि नयाँ अनुहार हुन् । ०७० को संविधानसभा निर्वाचनमा बर्दिया र प्युठानबाट जितेका उनले उपनिर्वाचनमा प्युठान रोजेका थिए । त्यसकै असरस्वरुप ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियामा हार व्यहोर्नुपरेको चर्चा छ । पटक पटक निर्वाचन जितेपनि आफू निर्वाचित क्षेत्रलाई वास्ता नगरेको, विकासमा उपेक्षा गरेको लगायतका आरोप पनि गौतमलाई लाग्ने गरेको छ ।
यसको असर कतै न कतै डोल्पामा पनि पर्नेछ । विपक्षीले यो मुद्धालाई हतियार बनाउने सम्भावना उच्च छ । विपक्षी मात्र होइन पार्टीभित्रैबाट पनि उनलाई अफ्ठेरो पर्ने संकेत देखिइसकेको छ । शुक्रबार मात्रै डोल्पाका युवाहरुले काठमाडौँमा पत्रकार सम्मेलन गरेर गौतमलाई नस्वीकार्ने चेतावनी दिइसकेका छन् ।
युवाहरुले पत्रकार सम्मेलनमा सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेकपाको नेतृत्वलाई ध्यानाकर्षण पनि गराएका छन् । सांसद बुढालाई राजीनमा गराएर अर्काे कुनै व्यक्तिलाई चुनाव लडाउने कुरा आफूहरुलाई मान्य नहुने डोल्पाका युवाहरुले चेतावनी दिइसकेका छन् ।
डोल्पाली जनताका आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसाबले नमिल्ने भएकाले त्यसो नगर्न नेकपालाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले पत्रकार सम्मेलनमा बताएका थिए । पटक पटक लाभको पद लिइसकेका गौतमलाई फेरि सांसद बनाउन आफ्ना प्रतिनिधिलाई ‘बलिको बोको’ बनाउन नहुने उनीहरुको जिकिर छ ।
यति मात्र होइन पछिल्लो समय कर्णाली प्रदेशमा गौतमप्रति राम्रो प्रभाव छैन । प्रदेश विभाजनका बेला गौतमले बर्दिया जिल्लालाई पाँच नम्बर प्रदेशमा जोडेकोप्रति कर्णाली प्रदेशका नेता, कार्यकर्ता र जनता आक्रोशित छन् । बर्दिया तत्कालीन अवस्थामा भेरी अञ्चलमा थियो । भूगोलका हिसाबले पनि बर्दिया पाँच नम्बर प्रदेश भन्दा कर्णाली प्रदेशकै लागि उपयुक्त जिल्ला भएको कर्णालीवासीको बुझाई छ । बाँके, बर्दियालाई कर्णाली प्रदेशमा नमिलाउँदा कर्णाली प्रदेशको भारतसँगको नाका टुटेको छ । यसको दोष अहिलेसम्म गौतमलाई नै लगाउने गरिएको छ ।
राजीवको हल्ला
यदि डोल्पामा उपनिर्वाचन गराएर नेकपाले गौतमलाई अघि सारे काँग्रेसले छिमेकी जिल्ला जाजरकोटका नेता राजीव विक्रम शाहलाई अघि सार्ने तयारी गरेको छ । स्थानीय स्तरका नेता, कार्यकर्ताहरुले यसका लागि नेतृत्वलाई दवाव दिन शुरु गरिसकेका छन् ।
भूगोलका हिसाबले गौतमभन्दा शाह डोल्पालीका मित्र हुन् । जाजरकोट र डोल्पाको भूगोल मात्र जोडिएको छैन, व्यापार व्यवसाय लगायत अन्य सामाजिक र सांस्कृति सम्बन्धहरु पनि जोडिएका छन् । यसकारण भूगोल, सामाजिक, सांस्कृतिक सम्बधको ‘सेन्टिमेन्ट’ले निर्वाचनमा काम नगर्ला भन्न सक्ने अवस्था छैन । यद्यपी, राजीव स्वयंले भने यसमा मुख खोलेका छैनन् । जाजरकोटबाट पराजित भएपछि उनको राजनीतिप्रतिको रुची घट्दै गएको बताइन्छ ।
समाजसेवीको छाप बनाएका शाह गएको प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनका शक्ति बहादुर बस्नेतसँग पराजित भएका थिए । ६० हजार ८ सय ९७ मत खसेको जाजरकोटमा बस्नेतले ३२ हजार दुई सय ८१ मत ल्याएर विजयी भएका थिए । शाहले २३ हजार दुई सय ८९ मत ल्याएका थिए । ०७० सालको संविधानसभा निर्वाचनमा भने शाह एमालेका कृष्ण बिसीलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
यदि, डोल्पामा गौतमको प्रतिद्वन्द्वी शाह नै भए भने गौतमलाई यो पनि अर्काे अफ्ठेरो हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत विश्लेषण गर्दा नेकपा धेरै बलियो छ । तर, चुनाव जित्नलाई गौतमले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
अघिल्लो निर्वाचनको मत अवस्था
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई सिट भएको डोल्पामा तीनै सिटमा वाम गठबन्धन विजयी भएको थियो । प्रतिनिधिसभा सदस्यमा तत्कालीन एमालेका धनबहादुर बुढाले खसेको मत १५ हजार ८ सय १२ को ७४ प्रतिशत मत प्राप्त गरेका थिए । प्रदेशसभा ‘क’मा तत्कालीन एमालेकै नन्दसिंह बुढाले खसेको मत ६ हजार ७ सय ८८ को ८१ प्रतिशत र प्रदेशसभा ‘ख’ मा तत्कालीन माओवादी केन्द्रका वीरबहादुर शाहीले खसेको मत ९ हजार २६ मतको ७१ प्रतिशत मत प्राप्त गरेका थिए ।
धनबहादुर बुढाले ११ हजार ७ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १ सय ६७ मत प्राप्त गरेका थिए । प्रदेशसभा क मा नेकपा नन्दसिंह बुढाले ५ हजार ४ सय ९० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वेगमसिंह ठकुरीले १ हजार २ सय १३ र प्रदेशसभा ख मा वीरबहादुर शाहीले ६ हजार ४ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेशबहादुर शाहीले २ हजार १ सय ५ मत प्राप्त गरेका थिए ।















प्रतिक्रिया