
काठमाडौं, १८ साउन । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठको खेल कौशलताको व्याख्या एकातिर छ, नेपाली सेनामा उनको हैसियत अर्कातिर छ ।
केही समयअघिसम्म सेनाको साधारण पदमा रहेका उनको बढुवा भएको छ । धेरै खेलप्रेमीले उनको सेनाभित्रको पदबारे जानकारी पाएका थिएनन् । उनको अन्तर्राष्ट्रिय परिचय भनेकै नेपाली फुटबलका फरवार्डमात्र हो ।
तर, उनको वैयक्तिक परिचयको दायरा भने अलिक फरक छ । सेनाभित्र उनको परिचय त्यतिमात्र छैन, त्यसैले उनी– सुवेदार नवयुग उर्फ फरवार्ड नवयुग पनि हुन् ।
म्याच फिक्सिङको आरोप लागेपछि ओरालो लागेको नेपाली फुटबलमा नवयुगले आशा जगाएका थिए । नेपाल आर्मी क्लवका उत्कृष्ट भएकै कारणले उनलाई राष्ट्रिय टोलीको महत्वपूर्ण स्थानमा खेल्ने मौका मिलेको थियो ।
यी २८ बर्षे फरवार्ड इलाममा जन्मिएका थिए । सन् १९९० मा घाम उदाउने सुदूर पूर्वी जिल्लाबाटै उदाएका नवयुग नेपाली फुटबल इतिहासमा लगातार तीन ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि हुन् ।
तीन वर्ष अघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपले उनको फुटबल कलाको उत्कृष्ट परिचय दिएको थियो । जहाँ उनले ४ गोल गरी दक्षिण एसीयाली फुटबलमा नेपालको नामको उचाई दिलाए ।
दक्षिण एसीयाली खेलकुद (साफ) २०१६ मा ७ गोल गरेका उनले पहिलो र तेस्रो ह्याट्रिक माल्दिभ्स र दोस्रो भुटानविरुद्धको खेलमा गरेका थिए । जसका कारण साफमा खस्किएको नेपाली फुटबलको उचाई एक कद बढ्यो ।
भारतमा भएको २०१५ को साफ च्याम्पियनसीपबाट उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
एकपछि अर्को गर्दै अविच्छिन्न रूपमा हात लाग्ने सु.खद परिणामहरूमा ‘भाग्य’ मात्र उनका लागि कारण बनेनन । मेहनत र प्रयासले उनी फुटबलमा चर्चाको शिखरमा पुगे ।
नवयुगले आफ्नो लयलाई निरन्तरता दिएको अवस्थामा अहिलेसम्मकै उत्कृष्ट फरवार्डमा दरिएका छन् ।
नवयुग राष्ट्रिय टिममा संयोगले आइपुगेका खेलाडी हुन् । म्याच फिक्सिङ काण्डले राष्ट्रिय टिममा खेलाडी अभाव भएपछि त्यही रिक्त ठाउँ भर्न उनलाई उपस्थित गराइएको थियो । यद्यपि यही अवसरको सदुपयोग गर्दै उनले आफूलाई फुटबल स्टारका रूपमा उभ्याएका थिए, उनी नेपालका मात्र होइन, नेपाल आर्मीका पनि सान भएकाले उनको सुबेदारमा बढुवा भएको हो ।















प्रतिक्रिया