३० आश्विन २०८३, शुक्रबार

महिला अधिकार, हरियो साउन र श्रीमानको आयु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

साउन महिना शुरु भएसँगै हिन्दु नारीहरुले हातभरि हरियो चुरा, मेहेन्दी र हरियो पहिरनमा देख्न सकिन्छ । कतिपय महिलाहरु श्रीमानको दिर्घायु हुन्छ भन्ने विश्वासमा त कतिपयले सुन्दरताको लागि भन्दै हरियो चुरा र हरियो कपडा लगाउने गरेको बताउँछन् । साउन महिनामा हरियो चुरा र कपडा लगाउनाले भाग्य बलियो हुने जनविश्वास व्याप्त देखिन्छ । साउन महिनामा प्रकृतिको पूजा गर्ने गरिन्छ । हरियो चुरा र साडी लगाएर महिलाहरुले प्रकृतिलाई विशेष पुजा अर्चना गर्छन जसका कारण आफ्नो र श्रीमानको आय समेत बढ्छ धार्मिक मान्यता छ ।

उनलाई छोरीहरुको पालनपोषणका लागि कसरी आर्थिक जोहो गर्ने र श्रीमानको गाली बेइज्जतीबाट कसरी बच्ने भन्ने कुराको दिनभर तनाव हुन्छ ।  सीताजस्ता तमाम महिलाहरुलाई कहिले छुने हरियो साउन र मेहन्दीको रङ्गले ?

साउन महिनामा हरियो पहिरनमा सजिदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । हरियो लाउँदा जीवन हराभरा हुन्छ र जीवनसाथीको आयु लामो हुन्छ भन्ने विश्वासले त जरा नै गाडेको छ । तर, विडम्बना पीडित महिलाहरुले आफूले जीवन भर साथ दिने र साथको अपेक्षा गरेको जीवनसाथीले समेत अपेक्षा अनुसारको साथ नदिदाको अवस्थामा जीवनमा हरियाली छाउनु त परको कुरा उनीहरुको जीवन नै उजाड भएको तमाम उदाहरण हाम्रा सामु छन् ।

साउन महिनाको शुरुमैै कामको सिलसिलामा पंक्तिकार शारदा नगरपालिकको एउटा गाउँमा पुग्दा घरेलु हिंसा पीडित महिला सीता (नाम परिवर्तन) सँग भेट भयो । सीता एउटा यस्ति महिला हुन जसले साउन त के कुनै पर्वमेला रमाइलो आदि इत्यादी आएको गएको कुनै अत्तोपत्तो हुदैन । पाँच जना छोरीकी आमा सीताको आर्थिक अवस्था एकदमै कमजोर छ । तर, उनलाई छोरीहरुको पालनपोषणका लागि कसरी आर्थिक जोहो गर्ने र श्रीमानको गाली बेइज्जतीबाट कसरी बच्ने भन्ने कुराको दिनभर तनाव हुन्छ । भारी अनुहार लिएर घरी गाईवस्तु चराउन त घरी बाख्रालाई घाँस काट्नमै आप्mनो दिनहरु बिताइरहेकी छन् । अझ ती छोरीहरुको शिक्षा दिक्षा र मिठो मसिनो खाने त परको कुरा । सीता त प्रतिनिधि पात्र मात्रै हुन । सीताजस्ता तमाम महिलाहरुलाई कहिले छुने हरियो साउन र मेहन्दीको रङ्गले ?

के को हरियो चुरा लाउनु र किन लाउनु बरु श्रीमानको आयु घटाउने चुराको कुनै रंग हुन्छ भने त्यस्तो लाउने थिएँ भन्ने जवाफले सोच्न बाध्य बनायो ।

कुरा यत्तिमा मात्रै सिमित छैन । शारदा नगरपालिका भित्रकै कुनै गाउँमा बस्ने उनीलाई श्रीमानले छोरा जन्माउन सक्दिनस् भनेर जहिले कुट्ने, गाली गर्ने र अपहेलना गर्ने गरेको उनी बताउँछिन् । ‘मेरो पाँच छोरी छन्, जेठीको बिहे भई सक्यो, जेठी छोरीको कोखबाट छोरी जन्मेकी छ’–उनले भनिन्–‘तर मेरो उहाँलाई भने अझ छोरा चाहिएको छ । दुई महिना भयो पछिल्लो पटक गर्भपतन भएको । यस सँगै गर्भपतन भएको चार पटक भई सक्यो । कति पटक त उहाँले जाँच्न लगेर गर्भपतन गराउन लगाउनु भयो । कति पटक आफै कोख रित्तियो । शरीर नै कमजोर भई सकेको छ । पहिला जस्तो काम गर्न सकिदैन । घरगृहस्थी गर्न छाड्ने हो भने छोरीहरुको पीर लाग्छ । उहाँले भने चौबीस घण्टा नै रक्सी खाएर कराउने गर्नु हुन्छ ।’

कुरा गर्दै जाँदा पंक्तिकारको ‘सबैको हातमा हरियो चुरा छ तपाईले लाउनु भएन्? साउनमा हरियो चुरा, हरियो कपडा लगाउने हो भने श्रीमानको आयु लामो हुन्छ भन्छन् त ?’ भन्ने जिज्ञासामा उनको जवाफले मलाई भित्रै देखी हल्लायो । सीताको के को हरियो चुरा लाउनु र किन लाउनु बरु श्रीमानको आयु घटाउने चुराको कुनै रंग हुन्छ भने त्यस्तो लाउने थिएँ भन्ने जवाफले सोच्न बाध्य बनायो । म अच्चम्ममा परे अनि भने किन यस्तो दिदी ? उनको आँखाबाट बर्बती आँशु बग्न थाल्यो र एकछिन पछि उनले भनिन्, श्रीमानले माया गर्ने, छोराछोरी पाल्नलाई केही कमाएर ल्याउने भए पो श्रीमानको लामो आयुको लागि धर्म, वर्त गर्नु । जो श्रीमानसँग सुत्दा भोली बाँचिन्छ कि बाँचिदैन भन्ने डरका साथ ओच्छ्यानमा सुत्नु पर्छ, आँखा चिम्लिदा घाँटी नै थिचेर मारदिन्छ कि भन्ने डरका साथ अबेर राती निदाएको पत्तो पाईदैन यस्ता श्रीमानको लामो आयुको हैन छोटो आयुको कामना गर्छु म ।

उनको मुखबाट शब्द नै राेिकएनन् उनी धाराप्रवाह भन्दै आफ्ना वेदनाहरु पोख्दै गइन् । तपाईहरुजस्ता लाई पो साउन आउछ, तीज आउछ, दशैं आउछ, हाम्रो लागि त यो कुनै चाड पर्व नआए हुन्थ्यो जस्तो लाग्छ । पोईले रक्सी खाएर माईत जान दिदैन र माईत आको छोरी बहिनीसँग दुव्र्यवहार गर्छ । चाडपर्वमा माईत आएकी छोरी बहिनीलाई एक छाक मिठो खुवाउन त परै जाओस चाहिने नचाहिने बोलेर छिट्टै फर्केर जाने बनाउँछ अनि के को चाडपर्व मनाउने ?

आफूलाई माईती गएको बेला कोसँग सुतेर आईस अब मेरो घरमा बस्न पाईदैन भन्दै कुटपिट शुरु हुन्छ के गर्नु यो त जुनी भरी रही रहने भयो । तपाईलाई श्रीमानले यस्तो दुःख दिन्छ भने किन सहेर बसिरहनु भएको छ त ? मैले भने प्रहरीमा जाहेरी दिनु न । न्याय पाउनको लागि किन पहल गर्नुभएको छैन ? प्रहरीमा त गएकी छैन यहाँ गाँउमा ठूला बडा मान्छेहरुसँग त कतिपटक छलफल गराई सके उनीहरुका अगाडी अबदेखि यस्तो गर्दिन भन्दै माफी माग्छ तर, घर आएपछि फेरि उहि कुटपिट अनि गालीगलौज शुरु हुन्छ । प्रहरीमा भने केही दिनको सजाय भोगेर फेरि घर आउला अनि यो घरमा बस्न दिदैन मेरो छोरीहरुको बिच्चल्ली हुन्छ भन्ने डरले जान सकेकी छैन ।

महिलाहरुको एउटा ठूलो तप्का जसकोे मनको कालो पखालिन नसक्दा साउनको हरियोले अहिले छुन सकेको छैन । ग्रामीण भेगका अधिकांश महिलाहरुको उस्तै पीडा लुकेको छ । कतिपयले श्रीमानबाट त कतिपय महिलाले घरपरिवारका अन्य सदस्यबाट कुनैनकुनै तरिकाबाट हिंसा भोग्नु परिरहेको छ ।

यस्तै शिद्धकुमाख गाउँपालिका–३ की एक महिला विगत ३ वर्षदेखि घरेलु हिंसाको चपेटामा छिन् । पक्तिकारसँगको भेटमा उनले श्रीमानले आफूलाई तीनवर्षदेखि वेवास्ता गरेको बताइन् । काठमाडौँमा बस्दै आएका श्रीमान घरमा आउँदैनन् । घरमै बस्दै आएकी उनलाई परिवारका अन्य सदस्यहरुले घरमा बस्न दिएनन् । परिवारका सदस्यहरुले घरमा बस्न नदिएपछि उनी माइतिमा बस्दै आएकी छन् ।  एक छोराकी आमा उनलाई श्रीमानले घरमा बसेमा ज्यान मार्ने धम्की दिने र घरमा बसेको बेला कुटपिट गरेको उनले बताइन् । श्रीमानले घरमा बस्नै नदिने जता जान्छेस् जा म तँलाई अब मेरो घरमा बस्न दिन्न भन्दा कम्ति पीडा हुँदैन । उनले भनिन, –कम्तिमा आफूलाई के कारणले श्रीमानले वेवास्ता गरेको भन्ने थाहा भए चित्त बुझाउन सजिलो हुन्थ्यो । हामी जस्तालाई त के हरियो चुरा, के मेहन्दी अनि के चाडवाड ?
यी त केवल प्रतिनिधि घटना मात्र हुन । महिलाहरुको एउटा ठूलो तप्का जसकोे मनको कालो पखालिन नसक्दा साउनको हरियोले अहिले छुन सकेको छैन । ग्रामीण भेगका अधिकांश महिलाहरुको उस्तै पीडा लुकेको छ । कतिपयले श्रीमानबाट त कतिपय महिलाले घरपरिवारका अन्य सदस्यबाट कुनैनकुनै तरिकाबाट हिंसा भोग्नु परिरहेको छ ।

ज्योतीषीहरुका अनुसार हरियो रंग सौभाग्यको रंग मानिन्छ । साथै साउन महिनामा प्राकृतिक रुपमा जताततै हरियाली छाएको हुन्छ जसका कारण जताततैको हरियालीले सबैको मनलाई मोहित पार्ने गर्दछ । यो महिनामा मानिस प्रकृतिसँग आफूलाई जोड्न चाहन्छ । यस महिनाले प्राकृतिक रुपले हरियालीका साथै मनलाई छुट्टै आनन्दको अनुभूति दिलाउँछ । साउन महिनामा शिवजीको पूजाआजा र भक्ति गर्नाले मनले सोचेको मनोकामना पूर्ण हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।

तमाम रुपमा एउटा वर्गमा साउने उमंगका कारण यस्तो देखिएता पनि ग्रामीण भेगमा रहेका महिलाहरुको अवस्था भने अलि फरक छ । ग्रामीण क्षेत्रमा महिलाहरुको एउटा ठूलो तप्का महिला हिंसाको चपेटामा छन् । पीडित महिलाहरुले जति पूजा गरे, जति हरियो लाए र जति कोशिस गरे पनि हिंसाको घेराबाट माथि उठ्न नसकेको यथार्थ हाम्रै अगाडि छर्लङ छ ।

साउनको हरियो प्रकृति जस्तै आफूलाई हरियो हराभरा बनाउने र जिन्दगीको मज्जा लिने रहर कस्लाई पो नहुँदो हो र ? तर साउन महिनामा हरियो रङ्गका कपडा लगाएर प्रकृतिसँग नजिक हुन अनि प्रकृतिको मनोरम लाभ लिन खोजे प्रकृतिले समेत आफूलाई जिस्काइरहेको भान उनीहरुलाई हुन्छ । तर पारिवारिक काम र पारिवारिक हिंसाले थिलथिलो परेका पीडितका मनमा साउनमा हरियो लगाउँदा प्रकृतिको साथ रहने र भाग्यमा सकारात्मक प्रभाव पर्ने कुरामा रतिभर विश्वास छैन । परिवारलाई रिझाउनु र कामधन्दा गर्नु नै उनीहरुको दैनिकी हुन्छ जसमा उनीहरुमाथि हुने पारिवारिक र घरेलु हिंसा त छदैछ ।

घरेलु हिंसा र सामाजिक हिंसा भौग्दै आएका ग्रामीण भेगका महिलाहरु सकेसम्म आफ्नो पीडा लुकाउने कोशिश गरि रहेका हुन्छन् । जति हिंसामा परे यहाँका ग्रामीण भेगका महिला अझै न्याय पाउनका लागि कानुनी रुपमा अगाडी बढेको पाइदैन । त्यो कुरा त माथी सीताले भनेकी छिन् । श्रीमानलाई प्रहरीमा लगे आफू कहाँ जानु ? कसरी त्यो घरमा बस्नु ? तर सबै विकल्प बन्द हुँदा मात्र प्रहरी, प्रशासन र अदालत सम्म यस्ता घटना र मुद्दाहरु आउने गरेका छन् । गत आर्थिक वर्ष ०७४/०७५ मा जिल्ला प्रहरी कार्यालयमा ६८ महिला न्याय पाउनका लागि आएको प्रहरीको तथ्याँकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालयको महिला सेलमा यस अवधिमा घरेलु हिंसाका ३३ वटा तथा सामाजिक हिंसाका ३५ वटा लिखित उजुरी परे । उनीहरुमध्ये अधिकांश महिलाको दैनिकी उस्तै छ ।

एकातर्फ शहरिया महिलाहरुकाे तडकभडकपूर्ण जीवनशैली छ, जसले ग्रामीण महिला र शहरिया महिलबीच ठूलो खाडल श्रृजना गरेको छ । अर्कोतर्फ ग्रामीण महिला जो घरबाटै हिंसापीडित भएर बाँचिरहेका छन् ।

यस्तै जिल्ला अदालत सल्यानमा सम्बन्ध विच्छेदका १ सय १ र अंश सहित सम्बन्ध विच्छेदका ३२ गरि १ सय ३३ मुद्दा परेको अदालतको तथ्याकंमा उल्लेख छ । जिल्ला न्यायाधीश मदन बहादुर धामीका अनुसार जिल्लामा सम्बन्ध विच्छेदका घटनाहरु वर्षैपिच्छे बढ्दै गएका छन् । यहाँ सम्बन्ध विच्छेद गर्न आउने सबै भन्दा बढी १४ देखि १९ वर्ष उमेर समूहका किशोरीहरुले सम्बन्ध विच्छेदको निवेदन दिने गरेका छन् । यसलाई न्यूनिकरण गर्न सचेतना बाहेक अरु केही कार्यक्रम यहाँ भएका छैनन् ।

यो या त्यो कारण देखाएर महिलाहरुलाई हिंसामा पारिदै आएको छ । अथवा कतिपय घटनामा त बिना कारण महिलाहरुले हिंसा भोग्नु परि रहेको छ । हिंसामा परेका महिलाहरुका लागि आउने चाडवाडहरु उनीहरुको उमंग र हाँसोको लागि हैन नुनचुक छर्केर जाने उत्सव बनिरहेका छन् । एकातर्फ शहरिया महिलाहरुकाे तडकभडकपूर्ण जीवनशैली छ, जसले ग्रामीण महिला र शहरिया महिलबीच ठूलो खाडल श्रृजना गरेको छ । अर्कोतर्फ ग्रामीण महिला जो घरबाटै हिंसापीडित भएर बाँचिरहेका छन् । उनीहरुले भोलिको सम्बन्ध हेरेर आफ्नै घरपरिवारविरुद्ध कानुनी प्रकृयामा आउन सकेका छैनन् भने हिंसालाई भित्रभित्रै राखेर बाँचिरहेका छन् ।

यसका लागि राज्यले उपयुक्त नीति बनाउनु आवश्यक छ । राज्यले सबै महिलाहरुलाई एउटै नीति बनाएर हेरेकै कारण हिंसा पीडित महिलाहरु हिंसा सहेरै बाँचिरहेका छन् । अर्कोतर्फ संघसंस्थाका सामाजिक अभियान परियोजनामुखि तथा दिगो रुपमा लिन सकेका छैनन् । राज्यले यस्ता पीडित महिलाहरुका लागि ठोस कदम नचाल्दा सम्ममा यस्ता अदृश्य तथा भयानक महिला हिंसाबाट ग्रामीण भेगमा महिलाहरु युगौँयुग सम्म पीडित भइराख्नुपर्ने छ ।