३० आश्विन २०८३, शुक्रबार

केपी ओलीको अनुहारमा शेरबहादुर देउवाको खोजी

125.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गणेश पाण्डे

केपी शर्मा ओलीमा जनताले शेरबहादुर देउवाको अनुहार खोजेका छैनन् । देउवा जस्तै सन्की र हुस्सु प्रधानमन्त्री अहिले देशलाई चाहिएको हैन् । त्यसैले पनि केपी ओलीको आलोचना हुन्छ । किनकी उनीसँग सबैभन्दा बढी अपेक्षा छ । 

बुधबार राति ११ बज्दै थियो । सरकारी पक्ष र ज्यानको बाजी लगाएर अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता भाँडिएको केहीबेरमात्रै भएको थियो । यसका जानकार प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको वार्ता टोलीलाई तत्कालै बालुवाटार बोलाए । राति ११ बजे सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र केसीका वार्ता टोलीबीच कुराकानी सुरु भयो । केसीका प्रतिनिधिहरुले जब आफ्ना मागका बारेमा बेलीविस्तार लगाए, प्रधानमन्त्री आधारभुत रुपमा ‘कन्भिन्स’ भए । त्यसपछि आफ्ना सहयोगी राजेश बज्राचार्य र निजी डाक्टर डा. दिव्या सिंहलाई केसीको वार्ता टोलीसँग अन्तिम कुराकानी गर्न जिम्मा दिएर प्रधानमन्त्री अन्य काममा लागे ।

डा. केसीको टोलीसँग मात्र होइन्, यस्ता कयौँ घटना छन् केपी ओली जागै बसेर काम गरेका । तत्कालिन एमालेको मुखपत्रमा अन्तरवार्ताका लागि युवा नेता योगेश भट्राई, सूर्य थापा र विष्णु रिजाललाई उनले राति ११ बजेपछि बालुवाटारमा अन्तर्वार्ताका लागि समय दिएका थिए । जुन राति १ बजेसम्म चलेको थियो ।

यो प्रसंग किन जोड्न खोजेको भने केपी शर्मा ओली आफैमा रोगसँग जुधिरहेका व्यक्ति हुन् । अहिले पनि बेलाबेला किड्नीको संक्रमण भइरहन्छ । जति नै बेला डाक्टरको निगरानी बसिरहन्छन् । तर, पनि झण्डै ७० पुग्न लागेका यी बृद्ध प्रधानमन्त्री नौजवानझैं काममा खटिरहन्छन्, अरुलाई सुनिरहन्छन, सुनाइरहन्छन् । उनी मुस्किलले दिनमा ४ देखि ५ घण्टामात्रै सुत्छन् । नत्र कामसँगै सुत्छन्, कामसँगै उठ्छन् । तर, पनि आलोचना उनकै हुन्छ ।

किन ?

किनकी केपी शर्मा ओलीमा जनताले शेरबहादुर देउवाको अनुहार खोजेका छैनन् । देउवा जस्तै सन्की र हुस्सु प्रधानमन्त्री अहिले देशलाई चाहिएको हैन् । त्यसैले पनि केपी ओलीको आलोचना हुन्छ । किनकी उनीसँग सबैभन्दा बढी अपेक्षा छ ।

शेरबहादुर देउवासँग जनताको धेरै अपेक्षा थिएन । र, छैन् पनि । किनकी उनी सत्ताका लागि जे पनि गर्न तयार हुन्छन् । सत्ता र मदिरा उनका लागि एउटै हो, जसको स्वाद देउवाका लागि प्रिय छ । तत्कालिन दरबारलाई प्रजातन्त्र बुझाउनेदेखि गएको स्थानीय चुनावमा अप्राकृतिक गठबन्धन गर्नेसम्मका उनका सबै खेल केवल सत्ताका लागि मात्रै थियो । इतिहासमा सबैभन्दा जम्बो मन्त्रिपरिषद् बनाउनेदेखि प्रधानन्यायाधिशलाई महाअभियोग लगाउनेसम्म अनि नेपाल प्रहरीलाई कलंकको टीका लगाउने काम देशमा समृद्धिका लागि थिएन । सत्ता र शक्तिको दुरुपयोगका विकृत नमुना थिए ।

तर, यति हुँदाहुँदै पनि नेपालमा एउटा यस्तो पंक्ति छ, जो केपी ओलीको स्थायी प्रतिपक्ष बनेर बसेको छ । त्यो पंक्तिलाई ओलीको राम्रो या नराम्रो कामसँग सरोकार छैन्, केवल विरोध गर्नुछ, गरिरहन्छ । ओलीको विरोध गर्ने नाममा जनतालाई अनेक भ्रम सिर्जना गर्ने काम भइरहेको छ ।

ओलीका विरोधीहरुलाई उधारोमा होइन्, हाताहाती विकास चाहिएको छ । आजको भोलि नै जादुझैं रेल, सडक, पानीजहाज र घरघरमा ग्यासका पाइप चाहिएको छ । मानौँ कि केपी ओली जादुगर हुन् र उनले यी सबै कुरा पाँच महिनामै पूरा गरिदिनुपथ्र्यो । ३० बर्षदेखि सत्ताकै वरिपरी रहेको काँग्रेसले गर्न नसकेको काम केपी ओलीले ३०० दिनमै गरिदिनुपर्ने तर्क पनि एकाथरिको छ ।

उनी मुस्किलले दिनमा ४ देखि ५ घण्टामात्रै सुत्छन् । नत्र कामसँगै सुत्छन्, कामसँगै उठ्छन् । तर, पनि आलोचना उनकै हुन्छ ।

अझ विदेशमा बस्ने, चिल्ला गाडी चढ्ने, घरघरमा पानी, ग्यास र कुलिङ सिस्टमको उपभोग गरिरहेकाहरु नै ओलीको सपनाको खिल्ली उडाउँछन् । मानौं कि ती कुरा नेपालका लागि आकाशका फल हुन् । यथार्थ के हो भने द्रूत रेल, मोनो रेल, घरघरमा ग्यास, पानी जहाज यी सबै सम्भव कुरा हुन् । तर, समय लाग्छ । आजको भोलि हुने कुरै होइन् । त्यसका लागि प्रक्रिया आजै सुरु गर्नुपर्छ । जुन केपी सरकारले प्रारम्भ गरिसकेको छ ।

म चाँहि केपी ओली नेतृत्वको यो सरकारले तत्कालै ठूलै जादु गर्छ भन्नेमा त्यतिधेरै कल्पना गर्दिन् । किनकी देश जटिल परिस्थितिमा गुज्रिरहेको छ । विगतमा सत्ताको चरम दुरुपयोगका कारण अर्थतन्त्र सही बाटोमा छैन् । जताततै बेथिती र लापरबाही छ, कर्मचारीको मानसिकता उही छ । लोकतन्त्रको नाममा छाडातन्त्र छ । हरेक पेशा, व्यावसायमा अराजकतामात्रै देखिन्छ । जनता आफ्नो निजी चाँहि केही नजाओस्, तर सरकारले चाँहि सबै गरिदियोस् भन्छ । यस्तो अबस्थामा थिति बसाउन केही समय लाग्छ । जगैदेखि बिग्रेको देश व्यवस्थालाई सुधार्न केपी ओलीले सबैभन्दा बढी समय खर्चिनुपर्छ । ओलीले देशलाई व्यवस्थित बाटोमा मात्रै हिँडाइदिने हो भने स्वतः विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ । देश अगाडि बढ्ने भनेको राज्यले लिने नीति र कार्यक्रमले हो । तेरो र मेरो भन्दा पनि राम्रोलाई प्रोत्साहन र आफ्नै भए पनि नराम्रोलाई दण्ड गर्न सके ओली सरकार सफल हुनेमा कुनै शंका छैन् ।

प्रधानमन्त्री ओलीको सचिवालय निकै अलमलमा भएको झैँ भान हुन्छ । प्रधानमन्त्रीको सचिवालय जुन रुपमा चलायमान हुनुपर्ने हो त्यो रुपमा चलायमान देखिन्न । कतै नै कतै ‘ग्याप’को अनुभूति हुन्छ ।

कमजोर सचिवालय

बाहिरबाट हेर्दा प्रधानमन्त्री ओलीको सचिवालय निकै अलमलमा भएको झैँ भान हुन्छ । प्रधानमन्त्रीको सचिवालय जुन रुपमा चलायमान हुनुपर्ने हो त्यो रुपमा चलायमान देखिन्न । कतै नै कतै ‘ग्याप’को अनुभूति हुन्छ ।

कतिपय मन्त्रालयका कामलाई अहिले प्रधानमन्त्री कार्यालयले सिधै हेर्ने गरी मिलाइएको छ । त्यसले काममा झन बढी भार थपेको छ । तर, खर्च कटौती गर्ने नाममा प्रधानमन्त्रीले सचिवालयमा पर्याप्त जनशक्ति राखेका छैनन् । राज्यको ढुकुटी जोगाउने कुरा त राम्रै हो तर त्यसले प्रधानमन्त्रीको काममै प्रभाव पारेको हो भने सच्चिनु जरुरी छ । यसको अर्थ डा. बाबुराम भट्टराईले जसरी सचिवालयमा झण्डै सय जना मानिस राख्न जरुरी छैन् । डा. भट्टराई प्रधानमन्त्री भएका बेला सचिवालयमा काम गर्ने गरी करिब सय जनाले नियुक्ति पाएका थिए । सायद त्यो नै अहिलेसम्मको सबैभन्दा जम्बो सचिवालय हो । विगतका अन्य प्रधानमन्त्रीले पनि सचिवालयको नाममा ठूलै भीडलाई भर्ती दिएका थिए ।
तर, अहिले ओलीको सचिवालयमा मुस्किलले दुई दर्जन व्यक्ति छन् । जसले चाहेको सबै काम फत्ते गर्न सक्दैन् ।

मैमत्ता मन्त्री

अहिले जनतालाई साना साना कुरामा परिवर्तन चाहिएको छ । प्रधानमन्त्री ओलीले जनताको यो भावनालाई बुझेको उनका अभिव्यक्तिबाट प्रष्ट हुन्छ । तर, प्रधानमन्त्रीको स्प्रीट अनुसार मन्त्रीहरु चल्न सकेको देखिन्न् । आफै मत्ता मन्त्रीका कारण काम प्रभावित भइरहेको छ । विगतका मन्त्रीहरु जसरी नै अहिले पनि रिबन काट्न र भाषण गर्नमै अल्झिएका छन् ।

यसो त पार्टीका बिभिन्न पेशागत विभाग, निकाय र जनसंगठन छन् । जसको काम पार्टी र सरकारलाई आवश्यक परेको बेला विज्ञता प्रदान गर्ने पनि हो । तर, मन्त्रीहरु आफू सबै विषयको विज्ञ जसरी प्रस्तुत भइरहेका छन् । त्यसैले पनि काममा ढंग पुगिरहेको छैन् । बेला बेला बिभिन्न मन्त्रीको मिडियामा अनेक समस्याहरु देखिनुको कारण पनि त्यही हो । मन्त्रीले आफूले अन्तिम निर्णय लिने हो । कर्मचारी र सचिवालयबाट काम लिने हो । अझै पनि बुझ्दैछु भनेर आफ्नो कर्तव्यबाट उम्किने मन्त्रीहरु पनि छन् । त्यस्ता मन्त्रीहरुका बारेमा प्रधानमन्त्री तत्कालै निर्मम रुपमा प्रस्तुत हुन जरुरी छ ।

काँग्रेसका लागि यो स्वर्णिम अवसर हो । काँग्रेस यस्तो संगठन बनाउन लागोस्, जसले विकासका लागि नेकपासँग प्रतिस्पर्धा गर्न सकोस् । अधिनायकवाद अहिलेको एजेण्डा हुँदै होइन् । अहिलेको एजेण्डा त समृद्धि हो ।

र, काँग्रेस

सरकार छाडेको छ महिना नबित्दै सत्ता र सदनमा रडाको मच्चाउनु देशका लागि दुर्भाग्य हो । सत्ताको स्वादमा छट्पट्एिका कतपिय काँग्रेसी नेताहरुले त एक सय दिन नपुग्दै सरकार ढाल्ने धम्की दिएका थिए । डा. गोविन्द केसीका नाममा भर्खरै काँग्रेसको असफल तुरुप पनि देखियो । संसदको पहिलो र तेस्रो पार्टी मिलेर देशकै सबैभन्दा शक्तिशाली पार्टी बनिरहेका बेला काँग्रेस अझै पनि सत्ताकै स्वादमा मुर्छित हुनु स्वयम् उसका लागि दुर्गाग्य हो ।

केपी ओलीको विरोधमा समय खर्चनु भन्दा पनि यतिबेला आफ्नो संगठन व्यवस्थापनमा जुट्नु काँग्रेसका लागि हितकर छ । किनकी संगठन निर्माणका लागि काँग्रेसका लागि यो स्वर्णिम अवसर हो । सत्ताको वरिपरी घुमेर उसले आफ्नो संगठनको कहिल्यै वास्ता गरेन । प्रजातान्त्रिक भनिने काँग्रेसका भातृसंगठन अहिले पनि टीके प्रथाबाट चलिरहेका छन् । केन्द्रदेखि जिल्ला समितिसम्मका धेरै विभागहरु रित्तै छन् । त्यसैले काँग्रेस यस्तो संगठन बनाउन लागोस्, जसले विकासका लागि नेकपासँग प्रतिस्पर्धा गर्न सकोस् । अधिनायकवाद अहिलेको एजेण्डा हुँदै होइन् । अहिलेको एजेण्डा त समृद्धि हो । विकास हो । तीव्र विकास, द्रूत विकास । कमसेकम काँग्रेसले विकासका एजेण्डालाई चर्को रुपमा उठाओस् । सरकारलाई घच्घचाओस् । यदि यो सरकार र नेपाल कम्युनिष्ट पार्टी असफल भयो भने त्यो काँग्रेसका कारणले होइन्, आफ्नै कारणले गर्दा हुने हो । किनकी यो पाँच बर्ष नेकपाले काम गर्न सकेन भने जनताले काँग्रेसलाई रोज्न सक्छन् । तर, सरकार बनेको पाँच महिना नपुग्दै सडक र सदनमा ताण्डप देखाउने हो भने काँग्रेसको बचेखुचेको शाख पनि समाप्त हुनेवाला छ ।