काठमाडौं, ३० पुस । परीक्षा सञ्चालन भएको झन्डै १० महिनासम्म पनि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा प्रकाशित गर्न सकेको छैन । गत १ जेठदेखि १२ जेठसम्म कक्षा ११ को परीक्षा सञ्चालन भएको थियो ।
केही दिनअघि परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले पुसभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएका थिए । तर, परिषद्का एक कर्मचारीले पुसमा नतिजा प्रकाशनको सम्भावना टरेको बताए । उनका अनुसार आगामी शुक्रबारसम्ममा नतिजा आउने सम्भावना छ ।
परीक्षा नियन्त्रक अर्यालले डेढ महिनाजति परीक्षा शाखामा ताला लागेका कारण ढिलाइ भएको बताए । उनले केही दिनमै नतिजा आउने पनि बताए ।
परिषदमा अहिले पदाधिकारी नहुँदा पनि काम प्रभावित भएको कर्मचारीको भनाइ छ । परिषदमा पदाधिकारी नहुँदा कुनै पनि नीतिगत निर्णयका काम हुन सकेका छैनन् ।
कक्षा ११ को नतिजा प्रकाशनमा दबाब सिर्जना भएको छैन भने आगामी परीक्षाको कार्यतालिकासमेत तय हुन सकेको छैन । गत १२ असोजदेखि परिषद्मा उपाध्यक्ष र सदस्यसचिव पद रिक्त छन् ।
परिषद्का कर्मचारीले शिक्षामन्त्री चित्रलेखा यादवको बेवास्ताका कारण उच्च माध्यमिक शिक्षा परिषद्मा लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसकेको र धेरै समस्या उत्पन्न भएको बताएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर, शिक्षामन्त्रीले आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्दा विवाद उत्पन्न हुने अवस्था आएपछि पदाधिकारी नियुक्तिका लागि सिफारिस नै नगरेकी हुन् ।
शिक्षामन्त्री यादवले केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा कांग्रेसनिकट व्यक्तिलाई उपाध्यक्षमा नियुक्त गर्न प्रस्ताव लगेकी थिइन् ।
एमालेले उपाध्यक्ष र सदस्यसचिव दुवैको प्रस्ताव नल्याएको भन्दै विरोध गरेपछि निर्णय हुन सकेको थिएन । स्रोतका अनुसार सत्तापक्ष कांग्रेसको सदस्यसचिव र एमालेको उपाध्यक्षमा दाबी छ ।















प्रतिक्रिया