३ कार्तिक २०८३, मंगलबार

‘प्रधानमन्त्री ओलीको लोकप्रियता कम भएको छैन’

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको लोकप्रियता कम हुन थालेको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ ।

तर, यो टिप्पणी मान्न नेकपाका नेताहरू तयार छैनन् । नेकपा प्रतिनिधि सभाका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री ओलीको लोकप्रियता झन् बढ्दै गएको दावी गरे । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा गुरुङले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नो दलको उदेश्यअनुसार काम गर्नुभएको छ । लोकप्रियतामा कुनै ह्रास आएको छैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो बचाउनका लागि सांसद र दलका नेताहरूलाई आह्वान गरेका विषयमा गुरुङले अन्यथा लिन नहुने बताए । ‘प्रधानमन्त्रीज्यूको आलोचना गर्नुपर्ने काम छैन’, उनले भने, ‘सरकारको बचाउ गर भनेर त जसले पनि भन्छन् नि !’

प्रधानमन्त्री ओलीको पछिल्लो समय आलोचना बढेको छ । तर, ओलीले ती आलोचनाहरूको डटेर सामना गरिरहेका छन् । उनलाई नेकपाका नेताहरूले पनि साथ दिएका छन् ।

भारतले लगाएको नाकाबन्दीका बेला ओलीको लोकप्रियता जति शिखरमा पुगेको थियो अहिले नरहेको स्वयं मुख्य सचेतक गुरुङले पनि घुमाउरो भाषामा स्वीकार गरे । उनले भने, ‘समय परिवेश अनुसार चल्नुपर्छ । त्यस बेला र अहिलेको कुरा फरक छ ।’

डा.गोविन्द केसीका माग र अनशन, माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा, मन्त्रीहरूका विवादास्पद अभिव्यक्ति र निर्णय आदिले गर्दा प्रधानमन्त्री ओलीलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेस र आलोचकहरूले सामाजिक सञ्जालमा आलोचना गरेका थिए । तर, ओलीले आफ्नो लयलाई सुधार गरेर अगाडि बढेको गुरुङको भनाइ छ ।

नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले ओली सरकारले सर्वसत्तावाद लाद्ने प्रयास गरेकै कारण जनताको साथ गुमाउदै गएको आक्षेप लगाए । ‘अहंकारका कारण ओली सरकार बद्नाम हुँदै गएको छ’, उनले भने, ‘जनताले गलत काम गर्नेलाई कहिल्यै पनि साथ दिँदैनन् । यो कुरा ओलीजी र उनको सरकारले बुझ्नुपर्छ ।’