![]()
काठमाडौं, ११ साउन । डा. गोविन्द केसीको सत्याग्रह आन्दोलन चल्दै गर्दा सडकमा एउटा नारा र मिडियामा त्यहि शव्दको उच्च प्रयोग भयो– मार्सी भात ! जुम्लामा मात्रै उत्पादन हुने यो चामलको विज्ञापन नै भयो भन्दा हुुन्छ । कतिसम्म भने आन्दोलनकारीले मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एउटा पत्रकार सम्मेलन गरी ‘मार्सी चामल मिठो हुँदैन’ भन्दिए ।
यो चामलको निशुल्क प्रचारको श्रेय झापाको विर्तामोडमा बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाई अर्थात् कथित मेडिकल माफियालाई जान्छ । बास्तवमा माफियाको संज्ञा झुन्डिएपछि उनी रिसले भाउन्न हुन्छन् । एउटा मेडिकल कलेजको सपनामात्र होइन, त्यसबाट हुनसक्ने लाभांशको लोभ पनि छ उनमा । तर माफिया होइनन् ।
झापामा मनग्गे सम्पत्ति भएका व्यक्ति हुन् उनी जसले मार्सी चामलको खाना प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुवाउने अवसर पाए । यो अवसरलाई उनले प्रायोजनको शैली पनि अपनाए । आम साधारणले अपनाएजस्तो– फेसबुकमा राखेर ! उनको तिव्र आलोचना भयो, उनकै भाषा बोलिँदिँदा कानुन मन्त्रीको पदबाट शेरबहादुर तामाङले राजीनामा नै दिनु परेको थियो । प्रसाईँको आलोचना यतिमा सीमित भएन, शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका तीन सांसदले कारबाहीको माग नै गरे ।
प्रतिनिधि सभामा उनलाई कारबाहीको मागसम्म हुनुचाहीँ आफैंलाई मिडियामा देखिरहन चहानुको परिणाम पनि हो । पत्रकारहरूसँग अन्तरवार्ताका लागि उनका कयन सिफारिस त्यसबेलादेखि नै हुन्थे, जुनबेला उनी मेडिकल कलेजको सपना देखेर अस्पताल खोल्ने सुरसार गर्दैथिए ।
प्रसाईको बोल्ने बानी छ । उनी विचार बोल्छन् । राजनीतिक, सामाजिक वा अन्य विषयमा विवेचना नगरी बोल्छन् । उनमा बोल्ने कलाको कमी छ । यसकारण एउटा अस्पताल चलाएर मेडिकल कलेजको सपना बुन्दाबुन्दै उनी नेताहरूसँग जोडिन पुगे । पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीसँग जोडिनुको तात्विकता पनि फरक छ, उनको । माओवादीमा हिँडेका कारण प्रचण्डसम्मको पहुँच र झापा घर भएका कारण ओलीसँगको सम्बन्ध उनले बनाएका हुन् ।
अझ कम्युनिस्टको झापा आन्दोलनमा उनका आफन्तको पनि ठूलै सहयोग र सद्भाव थियो ।
‘उनलाई मिडियामा आउने, चर्चा कमाउने भोक यसबेला पुरा भयो । डा. केसीले राखेका मागले उनको मेडिकल कलेजलाई वैधानिकताका लागि खासै असर गर्दैन’, प्रसाईनिकट स्रोतले भन्यो,‘प्रदेशका हिसाबमा हेर्ने हो भने १ नम्बर प्रदेशको पूर्वी भागमा पहिलो मेडिकल कलेज बन्न लागेको हो । यो सहजता छ । तर, मिडियाबाजी गरी चर्चामा आउने भोकले उनी मेडिकल माफियाको नाममा चिनिन थाले ।’
प्रसाईलाई चर्चामा आउने रहरले नै कम्युनिस्ट एकताअघि उनले दुई अध्यक्षको तस्बिर फेसबुकमा राखेका थिए । मिडियामा ड्राइभरको दोष देखाए पनि फेसबुक एकाउन्ट नभएका प्रसाईकै निर्देशनमा छोरीले उक्त तस्बिर पोस्ट गरिन् । ‘उनीसँग मेडिकल कलेज खोल्ने नाममा कतिपयले लाभ लिन खोजेका कारण राजनीतिक पहुँच देखाएका थिए तर कुरा अन्तै मोडियो र फरक चर्चा हुन पुग्यो’, प्रसाईँबारे जानकार एकजनाले भने,‘यो तस्बिरले सामाजिक सञ्जालमा प्रसाईको मनसायभन्दा फरक हिसाबले चर्चा पायो । पछिल्लो पटक प्रसाईको भन्दा उनले खुवाएको चामलको चर्चा चुलियो ।’
नेपालमा मेडिकल कलेज खुलेपछि विदेशमा नेपाली विद्यार्थी नजाऊन् भन्ने आशयले उनले बंगलादेशमा नेपाली विद्यार्थीमाथि अपमान हुने बताएका थिए । उनी कलात्मक भाषा बोल्न नजान्ने भएकैले ‘करणी’ भन्ने शव्द पनि उच्चारण गरेका छन् । पछि विभिन्न मिडियामा प्रेस विज्ञप्ति जारी गरेरै त्यसप्रति उनको आत्मालोचना प्रकाशित भएको थियो । अन्तरवार्ताहरूमा उनले प्रस्ट भन्ने गरेका छन्– म आठ कक्षा पढेको मान्छे । बैंकले पत्याएको मान्छे । जग्गा जमिन भएको मान्छे । उनको भाषामा पूर्वेली ठेट र ठाडो शैली छ । जसलाई ‘कोपा’ भाषा अर्थात् कोसी पारीको भाषा पनि भन्ने चलन छ ।















प्रतिक्रिया