
काठमाडौँ, १० साउन । दाङका सुन व्यवसायीले एक किलो सुन पचाउन लुटिएको नाटक गरेर प्रहरीलाई गुम्राहमा पार्न खोजेको रहस्या बाहिर आएको छ ।
बुधबार राती काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट दाङका सुन व्यवसायी खड्ग बहादुर सुनारले सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए ।
१ किलो सुन र २ लाख १७ रुपैयाँभन्दा बढी रकम लुटिएको भन्दै प्रहरीमा खबर गरेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफै घटनास्थल पुगेका थिए । तर, जब प्रहरीले अनुसन्धान अघि बढायो, सुन व्यवसायी खड्ग बहादुरको असलियत बाहिर आयो । लुटिएको भनेको सुन भेटिएको छ ।
घटनाको प्रकृति हेर्दा सुन लुटिएको नभएर लुकाएको हुनसक्ने भन्दै प्रहरीले सुन हरायो भन्ने सुनारलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानले सुन लुटिएको नभएर नाटकीय शैलीमा लुकाएको फेला पारेको छ । सुनारले सुन गोंगबुस्थित बिजीमलमा लुकाएर समितिको सुन पचाउन नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दाङ सुन व्यवसायी समितिको सुन सुनारले बुधबार मात्र न्यूरोडको सिद्धार्थबाट खरिद गरेका थिए । प्रहरीले सुनारसहित ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया