
जनकपुर, ९ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट ३ राज्यमन्त्री थप्दै प्रदेश २ को सरकार तेस्रो पटक विस्तार भएको छ ।
राजपाले सिफारिस गरेका डा डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डलले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले राज्यमन्त्री छानेको हो ।
तीनै जनालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका हुन् । झाले भौतिक योजना, अभिराम शर्माले सामाजिक विकास र सुरेश मण्डलले वन–पर्यटन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
सपथ ग्रहण समारोहमा सभामुख, उपसभामुख, मन्त्री, राज्यमन्त्रीहरु, सरकारका सचिवहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो । राज्यमन्त्रीमा सपथ लिएका शर्मा प्रहरीको फरार सूचीमा थिए । मधेश आन्दोलनका बेला जलेश्वरमा घाइते भएका सई अमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै हत्या गर्नेमा शर्माको संलग्नता रहेको अदालतले पुष्टि गरिसकेको छ । तर, उनी पक्राउ परेका थिएनन् ।
फरार अभियुक्तलाई मन्त्री नै बनाउने भएपछि राजपाभित्र चर्काचर्की भएको थियो । वान्टेडको सूचीमा रहेका व्यक्तिलाई राज्यमन्त्रीमा सिफारिस गरेकोमा नेताहरुले आपत्ति जनाएका थिए । तर, उनले बुधबार झा र मण्डलसँगै राज्यमन्त्रीको सपथ लिएका छन् ।















प्रतिक्रिया