३ कार्तिक २०८३, मंगलबार

एसपी यादवको यस्तो छ अर्को ‘काण्ड’, प्रहरी हेडक्वाटरमै पुग्यो कुरा

15k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, ९ साउन । कपिलवस्तु जिल्लाका चामल व्यापारीहरूले प्रहरीले घुस मागेर हैरान बनाएको गुनासो गरेका छन् । प्रहरीले घुमुवामार्फत आफूहरूसँग पैसा लिने गरेको व्यापारीहरूको गुनासो छ ।

कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवले जिल्लाको कमाण्ड सम्हालेसँगै घुसको पैसामा दोब्बर भएको व्यापारीहरूले बताएका छन् । केही दिन अगाडि चालम व्यापारीहरूलाई बोलाएर कपिलवस्तु प्रहरीले पैसा माग गरेको पीडितहरूले बताएका छन् ।

बहादुरगञ्जमा रहेको नेपाल–इण्डो प्लाइउड उद्योगमा सरकारी अनुदानको युरिया मलखाद तस्करी विवादमा मुछिएका एसपी यादवले जिल्लाका व्यापारीहरूको सूची तयार पारेर मासिक रुपमा अबैध असुली गर्दै आएको पीडितहरूको भनाइ छ । दैनिक नेपाल डटकमले फेला पारेको भिडियोमा प्रहरीले रंगपुरका तीनजना चामल व्यापारीहरूसँग अबैध असुली गरेको उल्लेख छ ।

रंगपुरका चामल व्यापारीहरूलाई चिया खाने बहानामा बोलाएर एसपी यादवले मासिक रुपमा पैसा बुझाए आफूले केही समस्या उत्पन्न नगर्ने बताएका थिए । चामल व्यापारीहरूले एसपी यादवको अगाडि केही बोल्न नसकेपनि स्थानीय पत्रकारहरूसँग पैसा मागेर प्रहरीले दुःख दिएको गुनासो गरेको भिडियो दैनिकले नेपाललाई प्राप्त भएको छ ।

दैनिक नेपाललाई प्राप्त भिडियोमा पीडित व्यापारीले भनेका छन्, ‘रंगपुरका हामी चामल व्यापारीहरूलाई प्रहरीले बोलाएर एकजना व्यापारीले मासिक ४५ हजार ५ सय माग गरिएको छ । कागजपत्र हुँदाहुँदै पनि प्रहरीले अबैध असुली गर्छ । नेपालको चामल किन्दा पनि हामीलाई दुःख दिएको छ ।’

ती व्यापारीका अनुसार नेपालभित्रकै चामल खरिद गरेर विक्री गर्दा पनि प्रहरी प्रशासनले अवैध असुली गरेर हैरान गरेको पीडितहरूले बताएका छन् । कपिलवस्तु प्रहरी प्रमुख एसपी यादवसहितका ६–७ जना प्रहरीले आफूहरूसँग अबैध असुली गर्ने गरेको पीडितहरूको दाबी छ ।

पीडित व्यापारीले एसपी यादवको नाम लिएर पुरन केवट (घुमुवा)ले आफूहरूसँग अबैध असुली गरेर लैजाने गरेको बताएका छन् । एसपी यादवले रंगपुरका तीनजना चामल व्यापारीसँग महिनामा एक लाख ३५ हजार रुपियाँ बुझ्ने गरेको व्यापारीहरूको भनाइ छ । एसपी यादवले प्रत्यके महिना २ गतेभित्र सो रकम लिने गरेका छन् ।

चामल व्यापारीहरूले लगाएको आरोपका विषयमा जानकारी लिन एसपी यादवसँग मोबाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुने सकने ।
सरकारी अनुदानको युरिया मलखाद अबैध तस्करी गर्ने नेपाल–इण्डो प्लाइउड उद्योगका व्यापारीलाई आफूसँगै राखेर जिल्ला प्रहरी कार्यालयभत्रै पत्रकार सम्मेलन गरेर विवादमा तानिएका एसपी यादवले दोषीलाई कारबाही गर्नुको साटो तस्करी गर्न रोक्न खोज्न चारजना स्थानीय युवाहरूलाई पक्राउ गरेर थुनामा राखेका छन् ।

त्यति मात्रै होइन एसपी यादवले कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिषेकप्रताप शाहमाथि समेत गम्भीर आरोप लगाएका छन् । एसपी यादवको आरोपका सांसद शाहले खण्डन गर्दै कडा आपत्ति जनाएका छन् ।

यसैबीच, नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेन्द्र थापा क्षेत्रीले कपिलवस्तुका प्रहरी प्रमुख एसपी यादवका विषयमा आएका समाचारका विषयमा जानकार रहेको बताएका छन् । ‘प्लाइउड उद्योगमा सरकारी अनुदानको मल तस्करी प्रकरणका विषयमा हामी जानकार छौँ’, उनले भने, ‘सो विषयमा सत्यतथ्य बाहिर आउँछ । अनुसन्धान भइरहेको छ ।’

सरकारी अनुदानको मल तस्करीको अभियोग लागेको प्लाइउड उद्योगका मालिकलाई साथमा राखेर पत्रकार सम्मेलन गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको जिज्ञासामा एसएसपी थापाले भने, ‘घटनाको प्रकृति हेरेर राख्न मिल्छ । कुनैमा मिल्दैन । कुनैमा साथमा राख्न मिल्छ । कपिलवस्तुको घटना के भएको रहेछ यसबारेमा हामी पनि हेर्दै छौँ ।’ प्रवक्ता थापाले चामल व्यापारीको आरोपका बारेमा पनि ध्यान दिने बताएका छन् ।

(गोपनीयताका कारण भिडियो सार्वजनिक गरिएको छैन । आवश्यक पर्‍यो भने सम्बन्धित निकायलाई भिडियो उपलब्ध गराइनेछ ।)