
काठमाडौँ, ८ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले विवादमा तानिएपछि मन्त्री तामाङ राजीनामा दिन बाध्य भएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भएका थिए ।
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनु पर्ने गरेको बताएका थिए । यसको सर्वत्र आलोचना भएपछि उनले सोमबार विज्ञप्ति जारी गर्दै माफी समेत मागेका थिए ।
सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
मन्त्री तामाङले गत चैत २ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा निकै भावकु भएका मन्त्री तामाङले आफू गरिब पृष्ठभूमिबाट आएको बताए ।
उनले आफ्नो विरुद्धमा कतिपय लागेको आरोप लगाउँदै कतिपय कमजोरीलाई मूल विषय बनाएर प्रचारित गरिएको बताए ।















प्रतिक्रिया