३ कार्तिक २०८३, मंगलबार

एसपी यादव र तस्करको खुल्दै छ कनेक्सन, यसरी भएको थियो उद्योगभित्रै तस्करी (भिडियोसहित)

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, ८ साउन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवले सरकारी अनुदानको कृषि मल (युरिया मलखाद) तस्करी गर्ने नेपाल–इण्डो प्लाइउड उद्योगलाई कारबाही गर्नुको साटो त्यही उद्योगका व्यापारीलाई साथमा राखेर पत्रकार सम्मेलन गरी तथ्यलाई तोडमोड गर्न खोजेको रहस्य बाहिर आएको छ ।

कपिलवस्तु जिल्लाको कमाण्ड सम्हालेसँगै विवादमा तानिएका एसपी यादवले प्लाइउड उद्योगको मालिक अभय रानालाई साथमा राखेर सोमबार जिल्ला प्रहरी कार्यालयभित्रै पत्रकार सम्मेलन गरेपछि रहस्य बाहिर आएको हो । यादवले युरिया मलखाद तस्करीमा संलग्न नेपाल–इण्डो प्लाइउड उद्योगको बचाउ गरेका छन् ।

एसपी यादवले प्रहरी संगठनको आचरण विपरित सरकारी अनुदानको युरिया मलखाद तस्करी गर्ने प्लाइउडका व्यापारीलाई कारबाही गर्नुको साटो साथमा किन राखेको भनेर आलोचना भएको छ ।

पक्राउ परेका भनिएका चारजना स्थानीयले युवाले प्लाइउड उद्योगभित्रै ट्याक्टरबाट तस्करी गरेर झार्दै गरेको युरिया मलखादको भिडियो दैनिक नेपाल डटकमले फेला पारेको छ । भिडियो दैनिक नेपाल डटकमसँग सुरक्षित पनि छ ।

तौलिहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा एसपी यादवका गलत क्रियाकलापको समाचार सम्प्रेषण गर्ने दैनिक नेपाल डटकमविरुद्ध पनि उजुरी दिएर कारबाही चलाउने चेतावनी पनि दिएका छन् । उनले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै जुनियर अफिसरहरुको सातो लिएका छन् ।

युरिया मलखादको तस्करीविरुद्ध अभियान चलाएका कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिशेषप्रताप शाहविरुद्ध पनि एसपी यादवले नानाथरी आरोप लगाएका छन् । एसपी यादवले आफ्नो काम जिम्मेवारीका साथ गर्नुको साटो त्यस क्षेत्रको जनप्रतिनिधीविरुद्ध अनर्गल प्रचारमा लागेको भन्दै सो विषयमा गृहमन्त्री र आइजीपीसँग भेटेरै कुरा राख्ने सांसद अभिशेषप्रताप शाहले प्रतिक्रिया दिएका छन् ।

प्लाइउड उद्योगले युरिया मलखाद तस्करी गरेको भन्दै सोधपुछ र नियन्त्रणमा लिन पुगेका स्थानीय युवाहरु महेश पासवान, राकेशमणि त्रिपाठी, शशिकान्त कहार, सुदामा यादवलाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । यी चारजना युवाहरुले तस्करीको मलखाद ट्याक्टरबाट झार्दै गरेको भिडियो समेत बनाएका थिए ।

त्यो भिडियो प्रहरीलाई दिएर कारबाही गर्न आग्रह गर्दा समेत एसपी यादवले उद्योगका मालिकहरुलाई कारबाही गर्नुको साटो भिडियो किन बनाएको भन्दै ती चारजना युवालाई गाली गरेर पक्राउ गर्न मातहतलाई आदेश दिएका थिए । ती याुवाहरु तीन दिनदेखि थुनामा छन् ।
तस्करीको युरिया मलखादका बारेमा सोधिखोजी गर्ने ती युवाहरुविरुद्ध पत्रकार सम्मेलन गर्ने क्रममा एसपी यादवले नेपाल–इन्डो प्लाई उद्योगका मालिक रानालाई साथमा राखेर पत्रकार सम्मेलन गर्नुको कारणबारेमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।

युरिया मलखाद तस्करीमा संलग्नलाई कारबाही गर्नुको साटो भिडियो बनाएर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने चारजना युवालाई नै पक्राउ गरेपछि कृष्णानगर र बहादुरगञ्जका स्थानीयले आक्राश व्यक्त गर्दै आन्दोलन चर्काउने तयारी गरेका छन् ।

लु १ त ३५५३ नम्वरको ट्याक्टरमा लुकाएर अनुदानको युरिया मलखाद उद्योगमा राख्दै गर्दा स्थानीय चारजना युवाले भिडियो बनाएर प्रहरीलाई जानकारी दिएका थिए ।

तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काका बेला राष्ट्रिय अनुसन्धान विभागको छाडेर नेपाल प्रहरीमा जागिर प्रवेश गरेका एसपी यादवको उमेरलाई लिएर पनि विवाद छ । एसपी यादवको उमेरका विवादका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको उच्च स्रोतको भनाइ छ ।

 

कपिलबस्तुमा तस्करी मौलायो, एसपी नै गलत धन्दामा