काठमाडौं, ५ साउन । सरकारले अनशनरत डा.गोविन्द केसीका बेढंगका मागहरू पूरा गर्न नसक्ने जवाफ दिएको छ ।
संसदमा दर्ता भएर कार्यसूचीमा प्रवेश पाइसकेको चिकित्सा विधेयकले सबै मेडिकल क्षेत्रको सबै समस्याको समाधान गर्ने सरकारको भनाइ छ । डा.केसीले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गर्न खोजेको सरकारले जनाएको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बेढंगका माग राखेर अनशन बस्ने डा.केसीलाई तस्करहरूले उचालेको आरोप लगाए ।
संसदमा रहेको चिकित्सा विधेक फिर्ता हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफमा मन्त्री बास्कोटाले भने, ‘पूर्वराजाले टुंडिखेलमा उभिएर मुकुट फर्काइदेउ भन्ने माग राखेमा मुकुट फर्काउन सकिन्छ त ? विधेयक फिर्ता हुँदैन । उहाँले भन्दैमा मान्न सकिदैन ।’ डा.केसी पूर्वाग्रहरी रहेको उनको आरोप थियो ।
डा.केसीले मनमोहन अधिकारीको नाममा खोल्ने भनिएको मेडिकल कलेजलाई सधै निशानामा राख्ने गरेको मन्त्री बास्कोटाले बताए । उनले पूर्वएमालेप्रति डा.केसी निर्मम् हुने गरेको बताए ।
शनिबार बिहान पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै मन्त्री बास्कोटाले विद्यार्थी भर्ना हुने बेला डा.केसी अनशन बस्ने गरेको आरोप लगाए । ‘उहाँले बेढंगका माग राख्नु हुन्छ । सिजनल अनशन बस्नु हुन्छ’, बास्कोटाले भने, ‘उहाँलाई एउटा तस्करले परिचालन गरेको छ ।’
डा.केसीलाई जुम्लाबाट किन काठमाडौं ल्याउनु भयो त भन्ने प्रश्नको जिज्ञासामा मन्त्री बास्कोटाले भने, ‘अहिले मर्छ, भोलि मर्छ भन्थे त डा.गोविन्द केसीलाई । हो त्यही भएर बचाउन ल्याएका हौं ।’ डा.केसी चिकित्सक नभइ नेता भएको बास्कोटाको आरोप थियो ।
डा.केसीको क्रियाकलापप्रति कठोर आलोचना गरेका मन्त्री बास्कोटाले सरकारी कर्मचारी हुँदा पनि आफूहरूले जागिरबाट निस्काशन नगरेको बताए ।
‘सरकारी कर्मचारीसँग पनि सरकारले वार्ता गरेको छ । संसारमा यस्तो कतै भएको छैन । तैपनि हामी वार्ता गरेका छौँ’, मन्त्री बास्कोटाले भने, ‘यस्तै हो भने डा.गोविन्द केसीलाई बर्खास्थ गर्न सक्छ । तर, सरकारले त्यो काम गर्दैन ।’
मन्त्री बास्कोटाले भने, ‘मेडिकल शिक्षा पढ्न चाहने विद्यार्थीलाई देशमा मेडिकल कलेजमा नपढ विदेश जाउ भन्ने आन्दोलन हो । बाहिर पैसा पठाउने तत्व पनि सक्रिय छ ।’
















प्रतिक्रिया