सन्तोष कुमार
सिरहा, २९ पुस । पछिल्लो अभिव्यक्तिलाई लिएर मधेशी दलका नेताहरु रुष्ट बनिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज सिरहाको लहान पुग्दैछन् ।
मधेशका अधिकांश जिल्लामा उनको पुत्ला जलाइएको छ । चार दिन अगाडि सिरहाको मिर्चैयामा पनि मधेशवादी दलका कार्यकर्ताले ओलीको पुत्ला जलाएका थिए । मधेशबासी नै रुष्ट बनेको बेला ओली मधेश आन्दोलनको उद्गमस्थल लहान आज आउँदैछन् । त्यसैले लहानमा ओलीले के भन्लान् ? भन्ने चासोको विषय बनेको छ ।
ओलीप्रति रुष्ट बनेको मधेसी जनतालाई फकाउन ओलीले एमालेको सिरहा जिल्ला अधिवेशनको क्रममा लहानको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयमा हुने खुल्लासभाको सम्बोधनबाट केही नयाँ विचार सार्वजनिक गर्ने उनी निकट एमालेका एक नेताले बताएका छन् ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति मधेसीहरुले विरोध गरेपछि उनी स्वयम् आश्चर्यचकित छन् । उनले आफू मधेसीप्रति नकरात्मक नभएको बताउँदै आएका छन् । ओलीले अहिलेका मधेसी नेताहरु नै मधेसको बाधक रहेको आरोप समेत लगाएका छन् ।
लहानमा एमालेको सिरहा जिल्ला अधिवेशन
नेकपा एमाले सिरहा जिल्ला समितिको नवौं अधिवेशन आजदेखि लहानमा शुरु हुदैछ । नेकपा एमाले सिरहाको प्रत्येक गाविस र नगरपालिकाबाट अधिवेशनका लागि करिब ६ सय प्रतिनिधि छनौट भएको अधिवेशन सचिवालयले जनाएको छ । केन्द्रमा नेताहरु मिलेपनि जिल्लामा भने संस्थापन र नेता माधव नेपाल पक्षधरबीच मतभेद देखिएको छ । विगतमा नेकपा एमालेको जिल्ला अध्यक्षमा कुशल नेतृत्वकर्ताको रुपमा चिनिएका लीलानाथ श्रेष्ठ केन्द्रीय सदस्यमा आदिवासी जनजातिबाट निर्वाचित भएपछि जिल्ला नेतृत्वका लागि चरम गुटबन्दी सहित दुइपक्षीय हानथाप देखिएको हो । नवौं अधिवेशनमा संस्थापन पक्षबाट रामऔतार यादव र नेपाल पक्षबाट प्रमोद यादव अध्यक्षका उम्मेदवार बन्दैछन् ।
















प्रतिक्रिया