१ कार्तिक २०८३, शनिबार

धर्मचक्र दिवसको अवसरमा न्यूयोर्कमा विश्व शान्ति पूजा, हेर्नुस् तस्वीरहरु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । बौद्ध धर्मावलम्वीहरुको पवित्र चाड क्षोखोर धुछेन् (धर्मचक्र दिवस) न्यूयोर्कमा भव्य रुपमा मनाइएको छ ।

युनाइटेड शेर्पा एशोशिएयशन अमेरिकाको आयोजनामा न्यूयोर्कको ज्याक्शन हाइटस्थित शेर्पा किदुगको हलमा सयौंको उपस्थितिमा धर्मचक्र दिवस मनाइएको हो । यस पवित्र चाडको पुण्य तिथिमा धर्म गुरु खेन रिन्पोछे वागिन्द्र शीलले उपस्थितहरुलाई प्रवचन दिनुभएको थियो ।

युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाका अनुसार, बौद्ध पात्रो अनुसार छैंटौ महिना शुक्ल चतुर्थीको दिन बौद्ध चार महातिथि मध्ये एक हो । भगवान बुद्धले बुद्धत्व ज्ञान प्राप्त भएपश्चात शारनाथको ऋषिपतन जंगलमा प्रथमपटक पाँच शिष्यहरुलाई धर्म चक्र प्रवर्तन गर्नुभएको पुण्यपावन तिथि हो।

सोही तिथिको अवसरमा सोमबार बिहान विभिन्न किसिमका धूपहरुको मिश्रण बालेर बातावरण शुद्ध गर्ने साङ् पूजा गरियो । यसैगरी, संसारका सम्पूर्ण प्राणीहरु दुःखबाट मुक्त होउन् अनि सुख र सुखको हेतुले युक्त होउन् भनी कामनाका साथ ध्वजा उठाउने कार्य गरियो ।

धर्मचक्र दिवसकै अवसरमा विश्व शान्ति पूजा पनि गरिएको थियो । नेपालबाट आउुभएका धर्म गुरु खेन्पो वागिन्द्र शीलले प्रवचन दिँदै विश्व मानव समुदायको हितका लागि धर्मचक्र दिवस सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो । मानव समुदायमा बुद्धको ज्ञान प्रसार भएको दिनका रुपमा यसलाई मनाइने उहाँले बताउनुभयो ।

मुख्य गुरुहरु औतारी गुरु उगेन टुल्कु रिन्पोछे, खेन्पो वागिन्द्र शील (नन्द प्रसाद तिमिल्सिना) र आचार्य ङवाङ साङ्गेको उपस्थितिमा बिहान १० बजेदेखि राति ८ बजेसम्म “ॐ मणि हुँ” उच्चारण गर्दै क्षोखोर नाच पनि नाचिएको थियो ।

शेर्पा किदुग अमेरिकाले बौद्दधर्म, संस्कृति र नेपाली कला संस्कृतिको संरक्षण एवं सम्बर्धनका लागि आयोजक समिति गठन गरी नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।