
-विनोद ढकाल
भारतको स्वतन्त्रताका लागि लडेका महात्मा गान्धीले भनेका छन्– सत्याग्रह (भोक हड्ताल)को शक्ति, ताकत र इज्जत त्यतिबेला अपहरण हुन्छ जतिबेला त्यसकाविरोधीले बल प्रयोग गराएर हड्तालकर्तालाई खुवाउनेछन् ।
व्यक्तिका चरित्र, उसको कर्तव्य, उसका नीजि विषय यसका अगाडी गौण हुन् । एउटा प्रवित्तिको चित्रलाई पुरै परिवर्तन गर्नुपर्छ भन्ने प्रजातान्त्रिक मान्यतामा केसीको सत्याग्रह बाँचेको विषयलाई नजरअन्दाज गरियो भने त्यो अन्याय हुन्छ । त्यो लोकतन्त्रविरुद्धको भाषा हुनेछ
हो, गान्धीले भनेजस्तै अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले डा. गोविन्द केसीको सत्याग्रहको हुर्मत लिइरहेको छ । जुम्लामा उनका समर्थक, महिला, डाक्टर र नर्समाथि लाठी र अश्रुश्यास प्रहार गरी डा. केसीलाई जबरजस्ती खुवाउनका लागि उठाइयो । यसलाई राज्यको दादागिरी भन्नुपर्छ । हिजोका दिनमा डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि हुर्मत लिएको हो । अहिले यहि पंक्ति केसीको पक्ष र विपक्षमा विभक्त छन् । यो विभक्तपनमा उनका नीहित स्वार्थ लुकेका छन् । तर केसीले निरन्तर उठाइरहेका मागले बारम्बार ‘लोकतन्त्रमा न्याय’को चित्कार गरेको छ । व्यक्तिका चरित्र, उसको कर्तव्य, उसका नीजि विषय यसका अगाडी गौण हुन् । एउटा प्रवित्तिको चित्रलाई पुरै परिवर्तन गर्नुपर्छ भन्ने प्रजातान्त्रिक मान्यतामा केसीको सत्याग्रह बाँचेको विषयलाई नजरअन्दाज गरियो भने त्यो अन्याय हुन्छ । त्यो लोकतन्त्रविरुद्धको भाषा हुनेछ ।
भोक हड्ताल यस्तो आन्दोलन हो जसले भगवानलाई पनि उसको माग पुरा गराउनका लागि बाध्य पार्दछ । तर लोकतन्त्रको सामान्य मुल्य र मान्यतालाई बुझेर पनि पचाउने कोशिश गरेका माफियातन्त्रका मुकुन्डोहरूले यसको गाम्भिर्यतालाई लोकतन्त्रमा ‘अश्लील’ बनाइदिए । बिरामी ओलीको राष्ट्रप्रेमका भाषणमा देखिएको त्यो मार्मिक अनुहार अहिले शासक भएर माफियाका पक्षमा उभिएको देख्दा उदेक लाग्छ । जसले केसीको सत्याग्रहलाई राजनीतिको प्रतिष्ठा र अडानको विषय बनाएका छन्, तिनले यो देशमा माफियातन्त्रलाई बलियो बनाउने काम गरिरहेका छन् ।
दलको भारी बोकेर सरकार र प्रतिपक्षको आवाज होइन, गहन र विश्वाशिलो पत्रकारिता, व्यवस्थाले दिनुपर्ने न्यायका विषयमा गम्भिर भएको देखिँइदैन । चिकित्सकीय पेशाकर्मीहरूको पनि विभाजित आन्दोलन, वकिल र प्राध्यापकका विभाजित विचारले लोकतन्त्रलाई धरासायी पारेको छ । खासगरी, लोकतन्त्रको सबैभन्दा ठूलो र अहिंसात्मक आन्दोलन ‘सत्याग्रह’को खिल्लि उडाउने काम भएको छ
राजनीतिमा पक्ष र विपक्षको अन्तरविरोध एकातिर हुन्छन् । तर गैरराजनीतिक आवाजको मुलमन्त्रलाई अहंकारले प्रतिस्थापन गर्नु निक्कै घातक हुनेछ । जनताको आवाजलाई शासनले दबाउनुको परिणाम लिवियामा एउटा विद्यार्थीले तरकारी पसल थाप्दा त्यसले जलाएको मध्यपूर्वको उदाहरण काफी छ । अहिले पक्ष र विपक्षमा राजनीतिक दलमात्र होइन, पेशागत संगठन पनि लागेका छन् । यसमा सबैभन्दा उदण्ड भएर पत्रकारिता जगत् लागेको छ । दलको भारी बोकेर सरकार र प्रतिपक्षको आवाज होइन, गहन र विश्वाशिलो पत्रकारिता, व्यवस्थाले दिनुपर्ने न्यायका विषयमा गम्भिर भएको देखिँइदैन । चिकित्सकीय पेशाकर्मीहरूको पनि विभाजित आन्दोलन, वकिल र प्राध्यापकका विभाजित विचारले लोकतन्त्रलाई धरासायी पारेको छ । खासगरी, लोकतन्त्रको सबैभन्दा ठूलो र अहिंसात्मक आन्दोलन ‘सत्याग्रह’को खिल्लि उडाउने काम भएको छ ।
ओलीराजका ‘भतुवा’हरूले फेसबुक र केही माध्यममा एउटा ‘फतवा’ जारी गरिरहेका छन् । कि, केसी आफैं विद्यमान मेडिकल सञ्चालकबाट परिचालित छन् । आँखा खोलेर निद्रा पाल्नेहरूका लागि प्रश्न छ– तमाम मेडिकल कलेजहरूमा पर्दापछाडीका लगानीकर्ता को–को हुन् ? तिनले केसी पालेका छन् कि नेता ? खोजी हेरौं ।
भान्सा र घरबाट निस्किएको कृत्रिम फोहोरको व्यवस्थापनमा चुकिरहेको सरकारका लागि नीतिगत तहदेखिकै फोहोर मैला व्यवस्थापन गर्न चुनौति छन् । नेताका सालासाली, मामाभान्जी, दाजुभाईले चलाएका, चलाउन खोजेका, अर्बौं रकम दिएर अनुमति लिन खोजेका मेडिकल कलेज रोक्दा पैसा थुपार्ने कारखाना बन्द हुने भयो, त्यसकारण डा. केसीको मृत्युको परिकल्पना पनि भइरहेका छन् । केसी पनि अजम्बरीको बुुटी बोकेर आएका होइनन् तर केसी सासमा बाँचीरहेको लोकतन्त्रको धैर्यता उनको मृत्युपछि विद्रोहको ज्वारभाटा नबनोस् यो पनि परिकल्पना गरौं । उनको कायम रहेको धुकधुकीसँग शालिन आन्दोलनमा प्लेकार्ड बोकेर सहरमा देखिएको हुल उनलाई तलमाथि हुँदा मसाल बोकेर सहर नछिरोस्, यहि प्रार्थना गरौं ।
पार्टीको कार्यकर्ताको आन्दोलन निर्देशित हुन्छ जब स्वतस्फूर्त विरोध सहरमा निस्कन्छ त्यो शालिन देखिन्छ, त्यसलाई भड्काउनका लागि बल प्रयोग भयो भने त्यसले व्यवस्था परिवर्तन गर्न र गराउनका लागि लामो समय लाग्दैन । केसीको आन्दोलनमा राजनीतिक अभिष्टबोकेका बाहेक देशविदेश र न्यायप्रेमीको नैतिक समर्थन छ । यो नैतिक समर्थनलाई उनीमाथि हुने प्रहारको परिणाममा भौतिक आन्दोलन बनिदियो भने हातका औंला भाँचेर बहुमत र अल्पमतको कुरा गर्नेहरूले टाउको लुकाउने ठाउँ खोज्न मुस्किल हुनसक्ने सम्भाव्य गतिबारे हेक्का राखौं ।
केसीले उठाएका मुद्दा राज्यको दिर्घकालिन हितका लागि भएकै कारण पहिला त्यसलाई आफुभित्र रहेको बेइमानीमा नेपथ्य बनेको इमानीलाई कायम गरेर देखाऊ, त्यसपछि केसीका व्यक्तिगत चरित्र, उनको पेशागत मर्यादा, नागरिकताका सवालमा राज्यलाई छानबिन गर्ने छुट हुन्छ
केसीले लोकतन्त्रको बिम्बलाई बोकेका छन् । उनको व्यक्तिगत चरित्र र लाभांश होइन, भिँडले, नीतिले नियमले के माग्छ ? लोकतन्त्रले कसलाई सही ठान्छ ? त्यसलाई नजरअन्दाज नगरौं । केसीले उठाएका मुद्दा राज्यको दिर्घकालिन हितका लागि भएकै कारण पहिला त्यसलाई आफुभित्र रहेको बेइमानीमा नेपथ्य बनेको इमानीलाई कायम गरेर देखाऊ, त्यसपछि केसीका व्यक्तिगत चरित्र, उनको पेशागत मर्यादा, नागरिकताका सवालमा राज्यलाई छानबिन गर्ने छुट हुन्छ । अन्यथा, जनताको दिर्घकालिन जीवनसँग आफ्नो मृत्युलाई धरौटी राखेका केसीमाथि अभियोग लगाउने नैतिक आधार हुँदैन ।
कैलाशमा गणेशले गाएको महादेवको गानले मुलुक बन्दैन, मुलुक बनाउनका लागि नीति र चरित्र दुवैको इमानदारीताको खाँचो हुन्छ । अहिले राज्य चलाउनेका पछाडी माफियाको संगीत छ । हो, उनीहरू कुनै पनि अर्थमा नाफामुखी व्यापार गर्नका लागि कसरत गरिरहेका माफिया नै हुन् जसको संगीतका तालमा राज्य नाचिरहेको छ । त्यसको उदाहरण शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मन्त्रालयमा नै भनिदिए– विधेयक संशोधन हुँदैन ! त्यो तालमा नाच्न राज्यका सबै शक्ति प्रयोग होलान् तर सत्याग्रहले दिएको एउटा तरङ्गले के पुष्टि गर्छ भने केसी होइन, केसीको साससँग जोडिएको मुद्दा कति गहन हो । त्यसैले हत्केलाका रेखाका आधारमा लोकतन्त्रको व्याख्या जायज हुँदैन ।
बहुमत राम्रो, असल र विवेकी कामका लागि जनताले दिने हो, जनताका मुद्दालाई रद्दीका टोकरीमा राखेर माफियाका अर्बौंका योजना पास गराउनका लागि बहुमत दिइएकै होइन त्यसको प्रभाव र हिसाबकिताब जनताले तत्काल र तत्काल नभए केही समयमा देखाउने नै छन्
संविधान जारी गरेपछि ओलीले बारम्बार संख्याको सवाल उठाएका थिए । लोकतन्त्रमा संख्या सदनमा हुने हो, सडकमा जनता नै हुन्छन् । संख्या बहुमत हुँदैमा लोकतन्त्रको आधारभुत मुल्य मान्यतालाई कुल्चन पाइन्छ भन्ने कुनै पनि शास्त्रमा उल्लेख छैन । न संविधानमा उल्लेख छ । बहुमत राम्रो, असल र विवेकी कामका लागि जनताले दिने हो, जनताका मुद्दालाई रद्दीका टोकरीमा राखेर माफियाका अर्बौंका योजना पास गराउनका लागि बहुमत दिइएकै होइन त्यसको प्रभाव र हिसाबकिताब जनताले तत्काल र तत्काल नभए केही समयमा देखाउने नै छन् ।
डा. केसीको आन्दोलनको महत्वलाई गिराउनका लागि उनका व्यक्तिगत विषयलाई चक्कुको टुप्पोले उधिन्ने प्रयास भएका छन् । होसियार ! कासका थालमा मार्सी चामलको भात खानेहरूले भोक हड्तालको महत्व बुझ्दैनन् । लोकतन्त्रमा भोक हड्ताल गर्नु, त्यो पनि तीन सातासम्म दुर्गम जिल्लामा पुगेर जनतामाझ बसेर देखाउनु नै एउटा पराक्रम हो । भोक हड्ताल आन्दोलन मृत्युलाई अँगालेर राज्यलाई नियममा बाँध्ने कोशिश गर्नु हो । यस्ता आन्दोलनकारी र यो हिम्मत युगमा खोजेर भेट्न मुस्किल हुन्छ । यसर्थ नजरअन्दाज नगरौं ।
डाक्टरले जनताको मुद्दाका लागि गरिएको सत्याग्रहमा जनताको उपचार छाडेर आन्दोलन गर्न जायज हुँदैन । विरोध गर्न सकिन्छ, कालो पट्टी बाँधेर आन्दोलन गर्ने शालिन मार्ग पनि छ । डाक्टरहरू यति तल्लो तहमा झर्न उपयुक्त पनि हुँदैन कि जनसरोकारको सवालमा मर्न तयार भएकालाई बचाउनका लागि जनता नै मरुन् भन्ने आन्दोलन होस्
अन्त्यमा,
डा. केसीले कसैलाई सेवा अवरोध गरेर सत्याग्रहमा साथ देऊ भनेका छैनन् । उनले जनताको सुविधाका लागि कुनै पनि अत्यावश्यक सेवा बन्द नगर्न भनेका छन् । आन्दोलनका विभिन्न आँखा हुन्छन् । जहाँ राजनीतिमा मुक्ति र देशका निम्ति बन्दुक उठाएर रगतको खोला बगाउनका लागि जनतालाई उद्दत बनाइयो, त्यस देशका पेशागत व्यक्तिहरू स्वतस्फुर्त आन्दोलनमा सहभागी हुन्छन् ।
तर, डाक्टरले जनताको मुद्दाका लागि गरिएको सत्याग्रहमा जनताको उपचार छाडेर आन्दोलन गर्न जायज हुँदैन । विरोध गर्न सकिन्छ, कालो पट्टी बाँधेर आन्दोलन गर्ने शालिन मार्ग पनि छ । डाक्टरहरू यति तल्लो तहमा झर्न उपयुक्त पनि हुँदैन कि जनसरोकारको सवालमा मर्न तयार भएकालाई बचाउनका लागि जनता नै मरुन् भन्ने आन्दोलन होस् । न यो केसी चहान्छन् न केसीका समर्थक नै । जनताको सवालमा लडिरहेको एउटा प्राध्यापकले राज्यलाई सही कानुनका लागि उभिन सत्याग्रह गरेका हुन् भन्ने हेक्का राखौं । यो आन्दोलनको प्रारुपमा नै वार्तामार्फत टुंगो लागोस्, विद्रोहको कारणचाहीँ नबनोस् ।















प्रतिक्रिया