नेपालका चर्चित चार नेता सुशील कोइराला, केपी शर्मा ओली, प्रचण्ड र उपेन्द्र यादवलाई गुण–दोषका आधारमा कसरी मुल्यांकन गर्नुभएको छ ?
सुशील कोइराला: सबैभन्दा बलियो पक्ष भनेको उहाँ अरु नेताहरुको तुलनामा इमान्दार हुनुहुन्छ । उहाँ आर्थिक रुपमा पारदर्शी नेताका रुपमा परिचित हुनुहुन्छ । भ्रष्टाचारमा नमुछिएको व्यक्ति सुशील कोइराला हो । सरलता उहाँको अर्को बलियो पक्ष हो । यति हुँदाहुँदै पनि उहाँले आफ्नो इमान्दारीतालाई जसरी सजावटका रुपमा मात्र देखाउनु भएको छ । यो उहाँको कमजोर पक्ष हो । इमान्दारीता ‘फङ्सनल’ हुनुपर्छ । त्यो उहाँमा भएन । उहाँको अर्को प्रमुख कमजोरी भनेको उहाँ नजिकका आसेपासेसँग छिट्टै प्रभावित हुनुहुन्छ । यो उहाँको अर्को कमजोरी हो ।
केपी शर्मा ओली: उहाँको सबै भन्दा ठूलो तागत भनेको उहाँ प्रष्ट वक्ता हुनुहुन्छ । उहाँले राज्य पुनःसंरचनाका बारेमा जति पनि चिन्ता व्यक्त गर्नुभएको छ । यो उहाँको जायज चिन्ता छ । हामी यही विषयमा अनुसन्धान गर्ने विद्यार्थी पनि भएका नाताले भन्नुपर्दा अध्ययनले पनि यही बताउँछ । निर्भिकता र निडरता उहाँको अर्को बलियो पक्ष हो ।
उहाँको कमजोर पक्ष भनेको नेतृत्वमा रहँदा पनि प्रतिपक्षीले जस्तो गर्ने व्यवहार धेरै ठाउँमा हानिकारक बन्ने गरको छ । आफूलाई मनमा लागेको कुरा प्राज्ञिक वा स्वतन्त्र व्यक्तिले जस्तो बोल्ने उहाँको बानी सबै ठाउँमा फलदायी बन्दैन । आफ्नो बोलीले आगामी दिनमा पार्न सक्ने प्रभावका बारेमा ख्याल नगर्ने उहाँको कमजोरी हो ।
प्रचण्ड: उहाँको बलियो पक्ष स्पष्टता नै हो । तर, धेरै ठाउँमा उहाँको अस्थिर प्रवृत्तिले हानी गरेको छ । उहाँ धेरै ठाउँमा निकै अस्थिर नेताका रुपमा प्रस्तुत हुने गर्नुहुन्छ । यसले उहाँ स्वयम् र पार्टीलाई पनि हानी गरेको छ । उहाँको अर्को कमजोर पक्ष भनेको शंकालु प्रवृत्ति हो । अहिले पनि उहाँ ‘हेग’ लैजाने कुराको बहकाउमा कुद्नु भएको छ । यो उहाँको सबैभन्दा कमजोर पक्ष हो । उहाँले आफूलाई स्थिर बनाएको भए उहाँ दक्षिण एसियाकै ठूलो नेता बन्न सक्ने सम्भावना थियो । छिट्टै भावुक बन्ने, छिट्टै उत्तेजनामा आउने, छिट्टै प्रतिक्रिया दिने र छिट्टै प्रतिसोध साँध्ने प्रवृत्तिका कारण उहाँले त्यो अवसर गुमाउनुभयो । अहिले पनि उहाँमा संविधान जारी गरेर काँग्रेस र एमालेलाई जस दिने भन्दा बरु विघटन भए पनि केही छैन भन्ने मानसिकता देखिन्छ । यो उहाँको सबै भन्दा कमजोर पक्ष हो ।
उपेन्द्र यादव: म उहाँलाई नजिकबाट चिन्छु । उहाँका कतिपय कानुनी समस्याहरुमा हामीले सहयोग पनि गरेका छौँ । उहाँ मधेशवादी नेताहरुको तुलनामा निक्कै क्षमतावान नेता हो । तर कहिलेकाँही राष्ट्रिय मुद्दामा उहाँ प्रभावित हुने गर्नुहुन्छ । यो उहाँको कमजोर पक्ष हो । राष्ट्रिय मुद्धामा केही तत्वहरुबाट छिट्टै प्रभावित हुने उहाँको बानीले उहाँ आफैलाई हानी गरको छ । राष्ट्रिय नेता बन्ने खुबी भएर पनि क्षेत्रीय नेता वा जातिय नेतामा उहाँ सीमित हुनुभएको छ । यो उहाँको कमजोरी हो ।
अब प्रसंग बदलौं,
मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
म संविधानको विद्यार्थी हुँ । संविधानकै विषयमा अध्ययन अनुसन्धान गरेको व्यक्ति पनि भएका नताले मैले संविधान निर्माणका विषयमा कुराकानी गर्दा तर्क र तथ्यसहित भन्नुपर्छ भन्ने लागेको छ । नेपालको सन्र्दभमा संविधान निर्माणको प्रसङ्गका बारेमा कुराकानी गर्दा बाहिरी देशमा संविधान निर्माणका सन्र्दभमा भएका अनुभव र प्रयासहरुलाई पनि हेर्नुपर्छ । यसरी हेर्ने हो भने हामी अहिले जुन तरिकाबाट अघि बढि रहेका छौँ । त्यो सही छ भन्ने मैले ठानेको छैन । मेरो अनुभवमा नेपालमा संविधान निर्माण गर्ने सन्र्दभमा तीन–चार ओटा त्रुटी भएका छन् । संविधान निर्माणका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको समयसीमा हो । यो ज्यादै महत्वपूर्ण हुन्छ । बाहिरी देशको अनुभवलाई हेर्ने हो भने पनि जुन जुन देशमा समयसीमा भित्र संविधान जारी भयो । त्यहाँ संविधान जारी भयो । जहाँ समयसीमा भित्र संविधान जारी भएन । त्यहाँ निकै ठूलाठूला समस्याहरु देखा परे । हामीले दक्षिण अफ्रिकालाई हेर्ने हो भने त्यहाँ समयावधी भित्रै संविधान लेखिएको छ । त्यहाँ समयावधी भित्रै संविधान लेखिए पनि सहमतिमा संविधान लेख्ने प्रयास सफल भएन । त्यहाँ दुईतिहाई मतदान मार्फत संविधान लेखियो । भारतले पनि जसोतसो समयसीमा भित्रै संविधान लेखेको इतिहास छ । पाकिस्तानको सन्दर्भको कुरा गर्ने हो भने त्यहाँ समयसीमा गुजार्दाको परिणाम ११ वर्षपछि संविधान लेखिएको इतिहास छ । इण्डोनेसियाको सन्र्दभ पनि त्यस्तै खालको छ । उनीहरुले पनि १० वर्षपछि पुरानै संविधानलाई निरन्तरता दिए । क्यानडा जस्तो देशले पनि निकै लामो समयसम्म संविधान लेख्न सकेन । त्यसैले नेपालका राजनीतिक दलहरुले पनि यो कुरालाई विषेश ख्याल गर्नुपर्ने जरुरी हुन्छ । तर, उहाँहरुले यो बुझ्न सक्नु भएको छैन ।
संविधान निर्माणका लागि दोस्रो महत्वपूर्ण कुरा भनेको नेतृत्वको सक्षमता र असक्षमता हो । नेपालको सन्दर्भमा हेर्ने हो भने दलीय नेता र संविधानसभा दुवैमा सक्षम, क्षमतावान र इमान्दार नेताको अभाव छ ।
तेस्रो महत्वपूर्ण कुरा हाम्रा नेताहरुमा बुझाईमा कमजोरी छ । संविधान भनेको दलको दस्तावेज होइन । जनता राष्ट्रको दस्तावेज हो । अहिले नेपालका राजनीतिक दलहरुले संविधानलाई आ–आफ्ना दलको दस्तावेज बनाउन खोजेका छन् । यसले पनि संविधान निर्माण प्रक्रियामा अवरोध भएको छ । यो दुखःद कुरा हो ।
दलहरुले माघ आठमा संविधान जारी गर्ने भनिरहेका बेला फेरि राजनीतिक सम्वाद तथा सहमति समितिको दस्तावेज घुमिफिरी दलहरुकै बीचमा आएको छ । यसलाई कसरी लिनुभएको छ ?
यसले संविधान निर्माण प्रक्रियालाई अन्योल मात्र बनाएको छैन । संविधान नै जारी नहुने हो कि भन्ने आशंकालाई बलियो बनाउँदै लगेको छ । शीर्ष नेताहरुले माघ ८ मा संविधान जारी हुन्छ भनेर अहिले पनि भनिरहनु भएको छ । माघ ८ को त कुरै छाडौँ । देशमा संविधान नै नबन्ने हो कि भन्ने चिन्ता आम नेपाली जनतामा व्याप्त हुन थालेको छ । अहिले संविधानसभा भित्र र बाहिर काँग्रेस र एमालेको प्रस्तावलाई स्वीकार गर्ने कि एमाओवादी र मधेशवादी दलको प्रस्तावलाई स्वीकार गर्ने भन्ने बहस चलिरहेको छ । यो निरर्थक बहस हो अर्थात धेरैपछि गर्नुपर्ने बहसमा अहिले नेताहरु अल्मलिरहेका छन् । यो गर्नु नुहुने बहसलाई नेताहरुले नियोजित रुपमा गरिरहेका छन् । जसले संविधान निर्माण प्रक्रिया झन भन्दा झन जटिल बन्दै गएको छ ।
त्यति मात्र होइन्, अहिले दलहरुले सबै भन्दा बढी संविधान सहमतिमा कि प्रक्रियामा गएर जारी गर्ने भन्ने बहसमा सयम खर्च गरिहेका छन् । मुलुकमा कति प्रदेश बनाउने भन्ने पनि अहिले गर्ने बहस होइन । यो दलहरुले जे गरिरहेका छन् गलत गरिरहेका छन् । अहिलेको काम भनेको जे–जस्ता प्रस्वावहरु संविधानसभामा पेस भएका छन् । तिनलाई मस्यौदा समितिमा पठाउने र छलफल गर्ने हो । तर, सभामुखले पनि प्रतिवेदन फिर्ता पठाएर गल्ती गर्नु भएको छ । उहाँले त्यो प्रतिवेदन संवैधानिक समितिमा पठाउनु पर्ने हो । तर, उहाँले त्यो नगरेर जे गर्नुभयो अन्तरिम संविधानमा उल्लेख भएको व्यवस्था भन्दा ठिक उल्टो गर्नुभयो । यसले पनि समस्या भएको छ ।
नेपालका राजनीतिक दलका नेताहरुले सानातिना कुरामा बखेडा झिकेर सहमति कायम गर्ने भन्दा पनि सहमतिको दूरी बढाउने काम गरेका छन् । यसलाई चाँहि तपाईँले कसरी लिनुभएको छ ?
म त भन्छु । नेपालका राजनीतिक दलहरुले जानेर वा नजानेर यस्ता खालको गल्तीहरु गरिहेका छन् । संविधानको नियमावली हेर्ने हो भने पनि एकै दिनमा संविधानका लागि मस्यौदा तयार हुँदैन । नियमावलीमा प्रष्टसँग संविधानको मस्यौदा तयार गर्ने र संविधान जारी गर्ने सन्र्दभमा विभिन्न चरणहरुको उल्लेख गरिएको छ । नियमावली अनुसार अहिले हामी संविधानको पहिलो सस्यौदा तयारको चरणमा छौँ । तर, दलका नेताहरुले एकदमै गलत रुपमा विषय भन्दा बाहिर गएर बहस गरिरहेका छन् । अहिले उनीहरुले नै बनाएको नियमलाई मिच्ने काम गरेका छन् । सभामुखले पनि पछिल्लो समय जे काम गरिरहनु भएको छ । त्यो गलत गरिहनु भएको छ । यो संविधान जारी नगर्ने नियत हो भन्ने लागेको छ ।
नेपाली जनताको समयमा संविधान पाउने अपेक्षमाथि दलहरुले गरेको थिचोमिचोलाई चाँहि तपाईले कसरी लिनुभएको छ ?
अहिले चार जना नेताहरुले जे भन्यो त्यही सत्य हो भन्ने मान्यताका कारण सबै भन्दा बढी समस्या भएको छ । बुहसंख्यक संविधानसभा सदस्यको रायलाई पनि चार जना नेताको निर्णयले उलटपुलट गर्ने अवस्था देखिएको छ । यो गलत कुरा हो । यसले जनताको संविधान होइन चार नेताको लहडमा संविधान बन्ने नबन्ने भन्ने संसय उत्पन्न भएको छ । यो दुर्भाग्यपूर्ण कुरा हो । जवसम्म हामीले संंविधानसभा र जनताको सार्वभौमिकतालाई सम्मान गर्न सक्दैनौँ तवसम्म जनताले अपेक्षा गरेको संविधान बन्ने कल्पना पनि पुरा हुन सक्दैन ।
अर्को कुरा संविधानसभाको चार वर्षे कार्यकाललाई नेताहरु आफैले यही माघ ८ भित्रको समयसीमा दिए । अहिले पनि माघ ८ मा संविधान जारी हुने कुनै सम्भावना छैन । तर, नेताहरु अहिले पनि जनतासँग झुटको खेती गरिहेका छन् । यो दलहरुको गम्भीर त्रुटी हो । यसमा सुधार गर्न आवश्यक छ । त्यस्तै संविधान निर्माण प्रक्रियामा अवरोध गर्ने अर्को महत्वपूर्ण कुरा भनेको संघीयताको सन्र्दभ हो । त्यसमा पनि उनीहरुले जसरी जातीय आधारमा राज्यको पुनःसंरचना गर्ने भनेका छन् त्यो हाम्रा नेताहरुको बलबुतमा संभव छैन । मुलुकलाई नै हित नगर्ने एजेण्डा लिएर नेताहरु हिड्नु भनेको संविधान निर्माण प्रक्रियामा अवरोध गर्नु हो । नेपालमा दलित, जनजाति, आदिवासी, मधेशी सबैलाई विभाजित गरेर शासन गर्न ल्याएको यो ‘फर्मुला’ अहितकर छ ।
नेपाली जनताले चाहेको संविधान दिनका लागि नेपालका राजनीतिक दलहरुले खेल्नु पर्ने भूमिका के–के हुनसक्छ ?
मेरो व्यत्तिगत विचारमा भन्ने हो भने सुशील कोइराला, केपी शर्मा ओली, प्रचण्डहरुको पालामा संविधान जारी होला भन्ने कुरामै आशंका छ । यद्यपी उहाँहरुले संविधानलाई कुनै दल विशेषको नभई जनता वा राष्ट्रको साझा दस्तावेज हो भन्ने ढंगले काम गर्नुभयो भने संविधान जारी हुनसक्छ । उहाँहरु फरक–फरक पृष्ठभूमिको नेता हुनुहुन्छ । त्यसैले उहाँहरुले संविधानमा सबै नेताको फरकमत संविधानमा लेखिनुपर्छ भन्नुभयो भने त्यो सम्भव छैन । त्यो सँगै उहाँहरुले यो देशमा हामी मात्र राजनीतिक दल हौँ । अरु छैनन् भन्ने भावना राख्नु हुँदैन । त्यो भयो भने संविधान जारी हुने सम्भावना कम हुन्छ । अर्को कुरा उहाँहरुले हाम्रो संविधान र नेपाली जनताप्रति उत्तरदायित्व छ भन्ने भावना राख्नुपर्छ । उहाँहरुले अरु शक्तिको भन्दा पनि नेपाली जनताको पक्षमा काम गर्नुभयो भने पनि संविधानको परिणाम असल आउनसक्छ । त्योसँगै हामी सबैले जस लिने हो भन्ने भवनाले काम गर्न पनि उत्तिकै जरुरी छ ।
प्रस्तुतिः मोहन बास्तोला












प्रतिक्रिया