काठमाडौं, २८ पुस । संविधान समयमा जारी गर्ने विषयमा छलफल गर्दै आएका प्रमुख दलहरुको सोमबार दिनभरिको छलफल पनि व्यर्थ बन्यो ।
प्रमुख दलहरु कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेन ।
बैठकमा कांग्रेस नेता शेरबहादुर देउवाले अन्तरिम संविधानको अन्तरिम शब्द हटाएर वर्तमान संविधानलाई नै जारी गर्न प्रस्ताव गरेका थिए । नेताहरुका अनुसार देउवाको सो प्रस्तावलाई एमाओवादीले अस्वीकार गरेको छ ।
यसअघि सोमबार बिहान बसेको शीर्ष बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माघ आठ गते नयाँ संविधान जारी गर्ने मिति सार्न प्रस्ताव गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिएका थिए । पौडेलको सो भनाइको अध्यक्ष दाहालले भने खण्डन गरेका छन् ।
यसैबीच, संविधानका विवादित विषयमा छलफल गर्न संवैधानिक सम्वाद तथा सहमति समितिको बैठक बसेको छ । बैठकमा समग्र विवादित विषयमा छलफल हुनेछ ।
















प्रतिक्रिया