काठमाडौँ, १ साउन । श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा कडाइ गरेसँगै दुई समूहमा विभाजित भएका वैदेशिक रोजगार व्यवसायीहरूका बीच तिक्तता बढ्ने क्रम शुरु भएको छ । कांग्रेस र कम्युनिस्ट निकटका केही व्यवसायीहरूका बीच झण्डै–झण्डै बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका व्यवसायीहरूले श्रममन्त्री विष्टको कदमलाई झिनो स्वरमा सहयोग गरेका छन् । तर, नेपाली कांग्रेस निकटका व्यवसायीहरू भने श्रममन्त्री विष्टले सिण्डिकेट तोडेको कामको सह्राना गरे पनि व्यवसायीहरूको हितभन्दा बाहिर हुने गरेर धरौटीको मूल्य बढाउने लगायतका अनावश्यक दुःख दिन थालेको भन्दै विरोध गर्दै आएका छन् ।
व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा पनि विवाद बढ्दै गएको छ । संघका अध्यक्ष रोहन गुरुङ पनि यसको निशानामा छन् ।
संघका अध्यक्ष गुरुङ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका निवर्तमान अध्यक्ष प्रज्ञान न्यौपानेबीचको झगडा भने झन रोमाञ्चक छ । न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेर व्यवसायीहरूको हितमा काम गर्न र ऐन कानूनहरू पालना गर्न अध्यक्ष गुरुङलाई सोमबार सुझाएका थिए । तर, अध्यक्ष गुरुङले तत्काल फोन गरेर न्यौपानेलाई तल्लोस्तरको गालीगलौज गर्दै जे मन लाग्छ त्यो गर्न धम्की दिएको उनले बताए ।
फोरमका अध्यक्ष विष्णुप्रसाद गैरेले मंगलबार विज्ञप्ति जारी गरेर संघका अध्यक्ष रोहन गुरुङले तानाशाही शैली अपनाएको आरोप लगाउँदै सुध्रिन चेतावनी दिएका छन् ।
‘प्रतिपक्षीहरूको सुझावलाई रचनात्मक रुपले लिनुको साटो फोन गरेर तल्लोस्तरको गाली गलौज गर्नु आपत्तिजनक छ’, फोरमका अध्यक्ष गैरेले भनेका छन्, ‘तपाईभित्र व्यक्तिगत उदण्डता, अहं र तानाशाही प्रवृत्ति हाबी भएको छ । अभद्र प्रस्तुतिको तपाईले क्षमा माग्नुपर्छ । अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको तपाई स्वयं जिम्मेवार हुनुपर्नेछ ।’
















प्रतिक्रिया