टेकराज भण्डारी
अछाम, २८ पुस । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफैँले गरेको बाचा भुल्नेहरु धोकेबाज भएको आरोप लगाउनु भएको छ ।
गृह जिल्ला अछाम आइपुग्नु भएका रावलले एक वर्ष भित्रमै संविधान गर्ने प्रतिज्ञा गरेको स्मरण समेत गराउनुभयो ।
‘सबै दलले संविधानसभाको दोस्रो निर्वाचन अघि नै एक वर्ष भित्रमा संविधान जारी गर्ने प्रतिज्ञा गरेका थिए,’ रावलले भन्नुभयो, ‘एमाओवादीले त अझ भिष्म प्रतिज्ञा नै गरेको थियो, अहिले त्यही दल सहमतीको नाममा देशलाई बन्धक बनाई मधेशी मोचासँग मिलेर देशलाई अनिर्णयको बन्दी बनाई रहेको छ ।’
तोकिएको समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले पत्रकार महासंघ अछामले सदरमुकाम मंगलसेनमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता रावलले नेपालको परिवेश सुहाउँदो संघीयता, राज्य पुर्नुसंरचना, शासकीय प्रणाली संविधानमा उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एमाओवादी र मधेशी दलको सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान नदिने षडयन्त्रका कारण समस्या उत्पन्न भएको आरोप लगाउनुभयो ।
उहाँले पहिलो संविधानसभा पनि माओवादीकै कारण विघटन भएको भन्दै अब त्यस्तो गलत गर्न एमाओवादीलाई नदिने चेतावनी दिनुभयो ।
‘एमाओवादीलाई पटक–पटक जनतालाई धोका अधिकार छैन,’ उहाँले भन्नुभयो, ‘एमाओवादी मधेशी मोचासँग मिलेर रगतको खोलो बगाउने धम्की दिइरहेको छ, अब यस्ता धम्कीका बिरुद्ध आम नेपाली एकजुट हुन जरुरी छ ।’















प्रतिक्रिया