
-विनोद ढकाल/दैनिक नेपाल
एउटा युवा संघको ठेट्नाले सोध्यो – तपाईले कांग्रेसका गगन थापाको चुनावी अभियानमा सघाउने डाक्टर गोविन्द केसीको पक्षमा किन बोलेको ? तपाई त उनको बिरोधी होइन ? तपाई हाम्रो कित्ताको मान्छे होइन ?
उसको प्रश्नले मेरो मथिङ्गलमा एकाध प्रतिप्रश्नहरू नौनी बनेर निस्किए । म डा. केसीको बिरोधी थिएँ ? हो, एकाध लेखमा मैले भनेको थिएँ– डाक्टर केसीको अनशन बसेर राज्यलाई बाध्य पार्ने नियतको विरोधी हुँ । तर राज्यले गरेको सम्झौता र सहमति परिमार्जन गरी ‘चक्मा’ हान्ने प्रवित्तिको समर्थक पनि त होइन । हो, डा. केसीले अनशनको अडानमा हरेक चिज आफु अनुुकुलतामा व्याख्या गर्न थाले भने त्यसको बिरोधी हुँ । तर मेडिकल कलेज सञ्चालकका घरमा रातो चामल खाएर देखिनेगरी उनका पक्षमा निर्णय गर्न उद्दत प्रवित्तिको समर्थक पनि त होइन ।
डा. केसीलाई कति ग्लास जुस पिलाएको भनेर हेक्का राख्नेले गरेका सम्झौता र सहमति कार्यान्वयन गर्ने इमानलाई किन हेक्का नराखेको ?
महात्मा गान्धीको एउटा उद्दरण सम्झिएँ– मानवीयतामाथि निराशा राख्न हुन्न, मानवता सागर हो, सागरमा केही थोपा फोहोर पानी पर्दैमा सागर फोहोर हुँदैन । कुनै पनि बिम्बमा नेपाली राजनीतिका यस्ता केही थोपा फाहोरका कारण सत्याग्रह वा राजनीतिक दल सबै फोहोर होइन भन्ने पनि लाग्छ । व्यक्तिका विषयमा होइन, प्रवित्तिका विषयको सुन्दर बहसले लोकतन्त्रलाई बलियो बनाउँछ । यहाँ केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको व्यक्तिगत चरित्र वा डा. गोविन्द केसीको व्यक्तिगत व्यवाहारको होइन, यी दुई पाटाले प्रतिनिधित्व गरेको चरित्रको पक्ष र विपक्षको बहस हो । यी दुई प्रवित्तिको इमानमाथिको प्रश्न हो ।
मेरा अ(प्रिय) पूर्व(एमाले–माओवादी) र कांग्रेसीजनहरू !
आँखा ठूलो पारेर पढ्नुस्, कसैले सुनाउँदैछ भने कान ठाडो पार्नुहोस् । अहिले तपाईहरूले डा. गोविन्द केसीको विरोधमा बोल्नु जायज छैन । डा. केसीले यत्ति भनेका छन्– गरेका सम्झौता कार्यान्वयन गरिदेऊ ! उनी मार्सी चामल फल्ने जिल्लामा पुगेर भोकै बसेका लडेका छन् । लोकतन्त्रलाई जीउँदो राख्ने हो भने सहमतिको कानुन पारित गरिदेऊ !
यसमा मेरो सहमति हुन्छ किन ?
मै हुँ भन्ने बुद्धिजीवि, जनवर्गीय संगठनका ठेट्नाहरू र स्वयम् केसीलाई उचालेर राजनीतिक अभिष्टको साहरा देख्ने कांग्रेसजनहरू ले पनि बुझुन् । केसीसँग पक्ष र प्रतिपक्षको अदलाबदली सत्तारोहणमै सम्झौता भएका छन् । तीनै दलको संलग्नता बराबरी छ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सरकारमा पूर्वएमालेको सहभागीता थियो, प्रचण्ड सरकारमा कांग्रेस र पूर्वमाओवादीको संलग्नता थियो । फेरि, शेरबहादुर देउवा सरकारमा पूर्वमाओवादीको सहभागीता थियो । त्यसबेला भएका होइनन् सम्झौता ? डा. केसीलाई कति ग्लास जुस पिलाएको भनेर हेक्का राख्नेले गरेका सम्झौता र सहमति कार्यान्वयन गर्ने इमानलाई किन हेक्का नराखेको ?
इमानको गति युगौं युगसम्म हुन्छ । त्यसैले भारतमा जो आए पनि महात्मा गान्धीको महिमा गान गाउनुको अर्थ, इमानकै लय हो भन्ने बुझौं । अन्ना हजारेसँग झुकाव राख्नेहरूको थोरै शर्म छ र अन्ना छन् भन्ने आत्मविश्वास बाँचेको छ
स्वार्थकै लागि त्यसबेला प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउँदा एमाले जनहरूले निक्कै विरोध गरे । त्यतिमात्र होइन, सडकमा उत्रिएर देउवा र प्रचण्डको सकेसम्मको आलोचना गरे । त्यतिले पुगेन, भारतीय दलाल र न्यायालयमाथिको हस्तक्षेपसमेत भन्न भ्याए । त्यतिले पनि पुगेन, डा. केसीको नेतृत्वको नागरिक समाजको सभामा भाषण गर्न पनि भ्याए । खुइल्याउने मामलामा कोही पछि परेनन् । जब, दुर्गा प्रसाईले मार्सी चामल पकाएर नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षलाई दायाँ र बायाँ राखेर गाँस लिएको तस्बिर सार्वजनिक गरे, अहिले पूर्वएमाले, पूर्वमाओवादीजनलाई त्यो तस्बिर प्रिय लाग्छ । डा. केसीको आन्दोलन वाइयात लाग्छ । उदाहरणका लागि प्रहरीदेखि सशस्त्र वा अन्य प्रकरण कयन छन् ।
माफियाबाट आफ्ना नेता होइन, डा. केसी परिचालित भएको दूरदृष्टि देख्छन्, उनीहरू । कतिसम्म भने बौद्धिक मानिने कम्युनिस्ट, कम्युनिस्ट विचार राख्ने पत्रकार, नागरिक समाजका अगुवाको ‘दृष्टिदोष’ पनि त्यही नै छ । हुन त राजनीतिमा शर्म भन्ने चिज बिरलै पाइन्छ, भन्छन् । तर, इमान, बोली र व्यवाहारमा अलिकति पनि विश्वास भए लोक हसाउने, आफैंलाई गिज्याउने यस्ता हर्कत बन्द गरौं । अलिकति ‘शर्म’ पालौं । सरकार, बहुमत, विचारको लोकमतकै बहुमत शर्म विनाश गरी आडम्बरको पछि दौडनका लागि आएको होइन । बहुमतको गति केही बर्षका लागि हो मित्रहरू । इमानको गति युगौं युगसम्म हुन्छ । त्यसैले भारतमा जो आए पनि महात्मा गान्धीको महिमा गान गाउनुको अर्थ, इमानकै लय हो भन्ने बुझौं । अन्ना हजारेसँग झुकाव राख्नेहरूको थोरै शर्म छ र अन्ना छन् भन्ने आत्मविश्वास बाँचेको छ ।
राजनीतिक नेता र डाइपर प्रायः एउटै कारणले परिवर्तन गरिन्छ । अर्थात् जब तिनको अवस्था फोहोर बनिदिन्छ । हिजोको फोहोर सफा गर्दैगर्दा आफ्नो अनुहारमा हिलो छ्याप्ने काम नहोस्, लोकतन्त्र बचाउने हो भने हरप्रकारको आवाजलाई सम्बोधन गरौं
राजनीतिको कुरुप चित्र धेरै ठाउँ देखिन्छ । एउटा सचिव बन्नेदेखि प्रहरी प्रमुख नियुक्तिसम्म, एउटा सांसद बन्नेदेखि गुन्डा छुटाउने खेलसम्म कहाँ–कहाँ कतिको व्यापार हुन्छ ? एउटा राजनीतिक नियुक्तिदेखि ठेक्का दिलाएसम्म कसले कति प्रतिशतको हकदाबी गर्छ ? त्यतिमात्र होइन, एउटा मोबाइल कम्पनीलाई रकम बाहिर लैजानेदेखि एउटा व्यक्तिको रकम भित्राउनेसम्म कसले कति कमिशन खान्छ ? त्यतिमात्र होइन, एउटा व्यापारीको कर छुट दिलाउनेदेखि एउटा अपराधीलाई माफी दिलाएसम्म कहाँ–कहाँ कति रकम पुग्छ ? यी प्रश्नका हिसाबकिताबको वहीखाताअघि डा. केसीले राखेको माग अति सामान्य हो । कि त्यो बहिखाता शुन्य पार, कि डा. केसीको माग पुरा गर । लोकतन्त्रका लागि जेल बसेको, गणतन्त्रका लागि युद्ध गरेको, संघीयताका लागि मर्न तयार भएको भन्ने तर्कले सतहको तथ्य नामेट पार्न सक्तैन । दुनियाँलाई थाहा छ– पक्ष होस् वा प्रतिपक्ष व्यापारको हिसाबकिताब कुन प्रतिशतमा बाँडिन्छ भन्ने । यसर्थ, भावी पुस्ताको श्राप नलागोस् भन्ने चाहना हो भने अलिकति इमान देखाऊ ! बेइमानीका लागि बहुमत होइन, त्यसको परिक्षण आगामी बर्षहरूमा हुनसक्छ भन्ने हेक्का राखौं ।
त्यसैले हिजो र आजको बहुमतको नशामा उन्माद साथीहरूलाई अमेरिकी लेखक मार्क ट्वाइनको एउटा भनाई स्मरण गराउन चहान्छु – राजनीतिक नेता र डाइपर प्रायः एउटै कारणले परिवर्तन गरिन्छ । अर्थात् जब तिनको अवस्था फोहोर बनिदिन्छ । हिजोको फोहोर सफा गर्दैगर्दा आफ्नो अनुहारमा हिलो छ्याप्ने काम नहोस्, लोकतन्त्र बचाउने हो भने हरप्रकारको आवाजलाई सम्बोधन गरौं ।















प्रतिक्रिया