मस्को, २८ असार । इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा पुगेको क्रोएसिया थोरै जनसंख्या भएको देश हो ।
क्रोएसियाले बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा पूर्वविजेता इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्यो ।
क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे । १०९ औं मिनेटमा मान्जुकिचले गरेको गोलमा क्रोएसियाले एेतिहासिक सफलता हात पारेको हो ।
क्रोएसिया विश्वकपमा पहिलोपटक फाइनल पुगेको हो । क्रोएसियाले आइतबार उपाधिका लागि पूर्वविजेता फ्रान्ससँग खेल्नेछ ।
सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो । क्रोएसिया अन्तिमपटक सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । इङ्ल्यान्डविरुद्ध सुरुवाती अग्रता लिन असफल क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
युभेन्ट्सका ३२ वर्षीय स्ट्राइकर मान्जुकिचले इभान पेरिसिचको पासमा गोल गरेका थिए । यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो ।
क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए ।
खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो । पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे । डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो । २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
५२ वर्षपछि विश्वकपको फाइनलमा पुग्ने इङ्ल्यान्डको प्रयाश सफल हुन सकेन । इङ्ल्यान्डले सन् १९६६ मा विश्व विजेता बनेयता यो प्रतियोगितामा फेरि फाइनल पुग्न सकेको छैन । इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको थियो ।
यसअघि मंगलबार राति भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको थियो । एजेन्सी















प्रतिक्रिया