३ कार्तिक २०८३, मंगलबार

डा.केसीका कारण फुट्ने भयो चिकित्सक संघ, मिल्नै नसक्ने भए कांग्रेस-कम्युनिस्ट

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । डा.गोविन्द केसीको अनशन र मागलाई लिएर कम्युनिस्ट र कांग्रेस निकट चिकित्सकहरू दुई भागमा विभाजन भएका छन् ।

कम्युनिस्ट निकटका चिकित्सक र व्यवसायीहरूले मेडिकल कलेज खोल्न अवरोध गर्न नहुने अडान लिएपछि कांग्रेस निकटका चिकित्सक र व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

कम्युनिस्ट र कांग्रेस निकटका व्यवसायी तथा चिकित्सकहरूबीच कुरा नमिलेपछि नेपाल चिकित्सक संघ विभाजनको संघारमा पुगेको हो ।

कांग्रेस निकटका चिकित्सकहरूले सीमित व्यवसायीहरूलाई फाइदा पुग्ने गरेर मेडिकल शिक्षालाई प्रतिस्पर्धामा लैजान नहुने अडान राख्दै आएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् चिकित्सक डा.वंशिधर मिश्रले डा.गोविन्द केसीको अनशनलाई लिएर नेपाल चिकित्सक संघले अस्पतालहरूको सेवा बन्द गरेमा चिकित्सक संघ विभाजन हुने चेतावनी दिए ।

‘डा.गोविन्द केसीको अनशनलाई समर्थन गर्ने नाममा नेपाली जनता र बिरामीले दुःख पाउने गरे अस्पतालका साथै सेवाहरू बन्द गर्ने हो भने नेपाल चिकित्सक संघ विभाजन हुन्छ’, नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘डा.केसीका मागका विषयमा वार्ता र सम्वाद गर्न सकिन्छ । तर, बिरामीलाई दिने सेवा अबरोध हुन्छ भने चुप लागेर बस्न सकिँदैन ।’

डा.मिश्रले मेडिकल कलेज खोल्न नदिएका कारण अर्बौं रुपियाँ रकम विदेशतिर जाने गरेको बताए । मेडिकल शिक्षाको क्षेत्रमा प्रतिस्पर्धा हुनुपर्ने बताए ।

‘मेडिकल कलेज नै खोल्न दिनु हुन्न भन्ने माग उचित र जायज छैन’, उनले भने, ‘मेडिकल कलेज खोल्न दिनुपर्छ । बरु त्यसलाई नियमन गर्ने र पूर्वाधार पुगेको छ वा छैन त्यो विषयलाई अनुगमन गर्नुपर्छ ।’

नेपाली कांग्रेस निकटका चिकित्सक डा.केदारनरसिंह केसीले मेडिकल कलेज खोल्न नपाइने बताए । ‘काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न पाइँदैन’, उनले भने, ‘धेरै मेडिकल कलेज भयो भने गुणस्तरीय सेवा र विद्यार्थी हुँदैनन् ।’ डा.केसीले चिकित्सक सबैको साझा संस्था भएका कारण त्यसलाई व्यक्तिगत स्वार्थका कारण विभाजनको कुरा गर्न नहुने बताए ।

डा.केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले अस्पतालहरूमा आन्दोलन चलाउने तयारी गरेपछि कम्युनिस्ट निकटका चिकित्सकहरूले विरोध गर्दै आएका छन् ।