
काठमाडौं । एकाएक चलचित्र विकास बोर्डको अध्यक्षमा निकिताको नियुक्तिमा जसरी मान्छे छक्क परेका थिए, उनलाई अपदस्त बनाउने चिठीले पनि सबै तिनछक परे ।
तर सरकारको निर्णयअनुसार नै उनको पनि पद हिँडेको हो । गोपीकृष्ण फिल्मस् प्रालिकी सञ्चालक समेत रहेकी सुन्दर निकिताले अब बिकास बोर्डको कुर्सी त्याग्नुपर्ने हुन्छ ।
स्रोतहरूका अनुसार तत्कालिन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँगको निकटको सम्बन्धका आधारमा नै पौडेल चलचित्र विकास बोर्डकी अध्यक्ष भएकी थिइन् । बाबु राप्रपाका नेता हुँदाहुँदै छोरीलाई कांग्रेसले कसरी पत्यायो भन्नेहरू पनि प्रशस्त थिए । बस्नेतसँगको राम्रो उठबसका कारण नै निकितालाई मन्त्री पद हिँड्ने बेलामा बिकास बोर्डको अध्यक्षको जिम्मेबारी दिइएको थियो ।
‘उनी जसरी आएकी थिइन् त्यसरी नै विदा गरिएको हो । उनीमात्र होइन, अन्य पनि विदा भएका छन्’, सञ्चार मन्त्रालयका एक अधिकारी भन्छन्,‘अब राज्यको नीतिअनुसारको फिल्मको विकासका लागि प्रगतिशील फिल्मकर्मीलाई ल्याउने हो ।’
नेपाली फिल्म क्षेत्रमा साउनदेखि बक्सअफिसको योजना लागु गर्ने तयारीमा थिइन् उनी । नेपाली फिल्मको बजारको स्तरोन्नतीको तयारी पनि गरेकी थिइन् । तर कसरी गर्ने भन्ने अवधारणामा भने चुकेका कारण वैशाखदेखि नै कार्यान्वयनमा ल्याउने भनेको बक्सअफिस लागु हुन सकेको थिएन ।
यसैबीच सञ्चार मन्त्रालय अन्तर्गतका १५ भन्दा बढि राजनीतिक नियुक्ति पाएकालाई अपदस्त पारिएको चिठि बुझाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सदस्य हेमकुमार श्रेष्ठ, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्य गोविन्दबहादुर कोइराला र विमला भण्डारीलाई अपदस्त पारिएको चिठि काटिएको छ ।
चलचित्र विकास बोर्डका सदस्य विजय देउजा, सेन्सर बोर्डका उमेश खड्का, देवीराम पराजुलीलाई पनि अपदस्त पारिएको चिठि दिइएको छ । नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार, राससका सञ्चालक समिति सदस्य एकराज पाठक, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धितालले पनि नियुक्ति बदरको चिठी पाएका छन् ।















प्रतिक्रिया