मस्को, २२ असार । रसियामा जारी विश्वकप फुटबलमा शुक्रबारबाट क्वाटरफाइनलका खेल सुरु हुँदै छन् ।
पहिलो खेलमा शुक्रबार साँझ पौने ८ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । दोश्रो खेलमा राति पौने १२ बजे ब्राजिलले बेल्जियमको सामना गर्नेछ । बेल्जियम ब्राजिललाई हराएर विश्वकप उचाल्ने दाउमा लागेको छ ।
समूह चरणमा गोल नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा पोर्चुगललाई २–१ ले पराजित गरेको थियो ।
यो विश्वकपमा उरग्वेले व्यहोरोको यो एक मात्रै गोल हो । फ्रान्सविरुद्ध उत्रिँदा उरुग्वेका स्टार खेलाडी काभानी मैदान बाहिरै हुनेछन् ।
पोर्चुगलसँगको खेलमा घाइते भएका काभानीले शुक्रबारको खेल खेल्ने नखेल्ने निश्चित छैन । सुवारेज पनि पूर्णरुपमा फिट छैनन् ।
फ्रान्सका भने उरुग्वेविरुद्धको खेलमा सबै स्टार खेलाडी फिट छन् । अन्तिम १६ को खेलमा केलिन एमबाप्पे चम्किदा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो । फ्रान्स समूह चरणमा एक बराबरी र दुईमा जीत निकाल्दै अघि बढेको हो ।
दोश्रो खेलमा ब्राजिलले बेल्जियमको सामना गर्दैछ । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेको ब्राजिल त्यसपछिका खेल निरन्तर जित्दै अघि बढेको हो । अन्तिम १६ मा उसले मेक्सीकोलाई सिकार बनायो । पहिलो खेलमा जर्मनीलाई हराएको मेक्सीको २–० ले ब्राजिलसँग हारेपछि घर फर्किएको थियो ।
बेल्जियम भने अन्तिम १६ को खेलमा अप्रत्यासित पुनारगमन गर्दै अन्तिम आठमा पुगेको हो । जापाननले २–० ले पछि पारेको अवस्थामा अन्तिम ३५ मिनेटमा ३ गोल गर्दै नतिजा उल्ट्याएर बेल्जियमले क्वाटरफाइनलमा स्थान बनाएको हो । एजेन्सी















प्रतिक्रिया