
काठमाडौँ, २१ असार । प्रमुख प्रतिपक्षी दल कांग्रेसले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको भदौ १४ गतेपछि गरेका सवै निर्णय बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयको आलोचना गरेको छ ।
वर्तमान सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित भन्दै सरकार आफैले मुलुकमा द्धन्द्व निम्त्याउन खोजेको काँग्रेसले प्रतिकृया दिएको छ । सडक र सदनमा सरकारी निर्णयविरुद्ध उत्रने बताएको छ ।
बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि काँग्रेसले प्रारम्भिक प्रतिकृया दिँदै निर्णय बदनियत र राजनीतिक पूर्वाग्रहका आधारमा गरेको जनाएको हो ।
देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्ति पाएका सातै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्ति पनि सरकारले खारेज गरेपछि कांग्रेस आक्रामक प्रतिवादमा उत्रिएको छ ।
पछिल्लो समय सरकार पञ्चायती शैलीमा प्रस्तुत भएको भन्दै काँग्रेसले आलोचना गरेको छ । ओली नेतृत्वको सरकारले गरेको यो निर्णय कार्यान्वयन भए आफूहरू जस्तोसुकै आन्दोलन गर्न तयार रहेको काँग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नीति नियम भन्दा पनि दम्भ देखाउन थालेको बताए । प्रवक्ता शर्माले यस विषयमा दिउँसो तीन बजे केन्द्रीय कार्यालयमा पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरेर विस्तृत धारणा सार्वजनिक गर्ने पनि बताए ।
निर्वाचन आचारसंहिता लागू भएपछि भएका राजनीतिक नियुक्तिहरु खारेज गर्ने बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।















प्रतिक्रिया