
वि.वि. श्रेष्ठ
अन्तरमनको त्यो भावले पछयाइरह्यो । लाग्दथ्यो कि यो निरश कालरात्रि नै जीवन हो । कालरात्रिमा नै जीवन खोज्ने त्यो अभिप्राय अव सम्भव हुनेछ । दुई आत्माको त्यो मिलनमा सांसारिक नियम पनि ठप्प हुँदैछ । निस्पठ अध्यारो नै सम्वन्धका लागि सहज हुनेछ । शुक्क शुक्कतामा टाँसिएको उनको शरीर कदापी अलग्गिन चाहेन । बगेको त्यहि आँशु नै समुन्द्र बनि छचल्किरहेको छ । र त्यहि सामुन्द्रिक छालमा नै संसारको अन्य जीवजन्तुहरू कोही रमाउँदै त कोही आँशु पुच्छदै तैरिरहेका छन् ।
मिलनको त्यो आभासले प्रेमको यथार्थता दर्शाइरहेको थियो । लाग्दथ्यो, यहि नै माया हो । यहि माया र प्रेमका भावहरू जुनिजुनिसम्म रहिरहनेछन् । कहिल्यै नमेटिने गरी शिलामा लेखेर लाखौँ पुस्ताले पढ्नेछन् । माया र प्रेमको पर्याय नै यहि पल हो । सायद यहि पलमा नै सातौँ जुनिसम्म बाँच्न सक्ने चट्टानरुपी आधारशीला बनेको छ ।
जतिसुकै आँधीबेहरीको सिर्जना भएता पनि त्यहि पल नै माया गर्नेहरूका लागि कडी बन्नेछ । निश्चलतामा अडेको त्यो अन्तरमनको पुकार सायद कमैमा त्यो अनुभूति होला ! यहि निरन्तरता र कथा नै भोलिका लागि गोरेटो बन्ला जस्तो । अविरल छचल्किएको त्यो आँशुको धाराले संगिन समुन्द्रमा कोही पौडिइरहेको कोही तौरिइरहेका । जन्म नै मायाका लागि जस्तो एकअर्कामा आलिंगनमा बाँधेको त्यो पंक्षीको जोडी साँच्चै हेर्दा लाग्नेछ, मायाको अनुयायी यिनै हुन् ।
आत्माको अन्तरमनको मिलन विन्दु नै प्रेम हो । अवरोध त केवल समान्य हुन् । सजिवतामा हुने अन्तरआत्माको पुकारको नै जीवनको भोगाई हो । चाहे त्यो संसारमा हुने लाखौ असंख्या जीवजन्तु र पशुपंक्षी नै किन नहोस् । सवैको आत्मा समान हो भन्ने समान्य भेउसम्म नपाउने विश्वका नै सर्वश्रेष्ठ प्राणीका उपमा पाएका मनुवा जाति नै माया र प्रेमको घोतक हो । जसले सिंगो परिभाषालाई नै धुमिल बनाइदिएको छ । आँखाको भाव वोल्ने र संयमतामा नै सवथोक देख्ने क्षितिमा रम्ने त्यो ढुकुरको जोडीले साच्चै प्रेम के हो भन्ने यथार्थता बोध गराइरह्यो ।
निश्वार्थतामा नै जीवन विताउने, नदिको त्यो वहावमा आनन्द लिने, प्राणीको त्यो भाषा आफैमा गहन बनिदियो । विशेषता अनुरुपमा जीउनेका लागि भाषा ठूलो कुरा हुन सक्दैन । सृष्टिको अनुपमतामा नै सर्वोपरि देख्नेहरूका अगाडि स्वार्थताको व्यापार गर्नहरू छाँयामा पर्दारहेछन् । जीवनको यथार्थतामा भन्दा पनि वनावटीमा रम्नेका लागि जीवन गति असहज हुने भएता पनि यथार्थतामा रम्नेहरूको संख्या निकै कम हुने रहेछ र त्यस्ता प्राणीहरूका लागि यो जीवनचक्र निकै छोटो हुने रहेछ ।
प्रकाशको त्यो विस्तारै चमकहटसँगै शुरु भएको दैनिकीले फगत भौतिक र मानसिक तनावमा थप बोझ थप्ने शिवाय केही गर्दैन । त्यहि इश्र्या, त्यहि आत्माग्लानी, त्यही स्वार्थताको मोहमा गाँजेको त्यो स्वच्छ मनमस्तिष्कले कदापि सकारात्मक प्रभाव पार्न सक्दैन । लाखौ प्राणीको आफ्नै आफ्नै विशेषता, दैनिक र आवश्यकता हुने समान्य सांसरिक नियमन समेत वुझन नसकेका मानवजातिको त्यो धृष्टताले कदापि अर्काको भूमिका स्वीकार्न सक्दो रहनेछ । चिची र चुचुमा रमेका ती जोडीको पुकार स्वार्थताम अल्झेको मानव नामक दानवका कारण विचलित बनिदियो ।
शान्ति र शीतलमा रम्ने अधिक चाहनामा उज्यालो प्रकाशको आगमनसँगै फिका बनिदियो । लाग्दछ, त्यो कालरात्रि नै जोडी ढुकुरका लागि सहज वातावरण हो । जुन कालरात्रिमा केही वेर सन्तोषका सास फेर्न त पाउनेछ, मानव जातिको त्यो कुचक्रबाट ।
अन्तरभावले सामिप्यताको पुकार गर्दछ । स्वार्थमनले क्षणिक उत्तेजना । ढुकुरिरह्यो त्यो पंक्षीहरूले अन्तरआत्माबाट, मानव जातिले वोल्न नसक्ने त्यो आवाजमा । रमिरह्यो, त्यहि मिठासमा, चुच्चो जोडेर, न कुनै विगार, न कुनै स्वार्थता जीवन जिइरहँदा पनि वाँच्न दिएन पापीहरूले, चुडेर लगिदियो एउटालाई । ज्यानको त्यो माया, आफनो अन्तरमनका साथी अव रहेन, फर्केर आउँदै हेरिरह्यो, पापीले देख्दछ कि भनेर, आँखामा वलिन्द्र आँशु बगिरह्यो, मन अमिलो भएर आयो । साच्दै थियो ।
उ फर्केर आउछ कि भनेर, दिन वित्यो, रात वित्यो, तर उ आएन, आशाको त्यान्द्रोहरू विलाएर गयो । असीमित आशुँहरू भल बनेर बग्यो । तर उ आएन । पर्खाइको त्यो अविश्रान्तमा रहेको त्यो आत्माले अरु पर्खन सकेन । पखाईको त्यो पीडाले थप वाँच्न दिएन । मनको त्यो ज्योजलित भावले दिनानुदिन खोक्रो र कमजोर वनाइदियो । तर उ आएन, उ अझै आएन । उसलाई हेर्ने त्यो नजरहरू सधैका लागि अस्ताएर गयो । कहिल्यै नखुल्ने गरी….















प्रतिक्रिया