३ कार्तिक २०८३, मंगलबार

अमेरिकामा ९ महिना पनि बाँच्न पाएनन् यी नेपाली युवा

334.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गणेश पाण्डे

भर्जिनिया, (अमेरिका) २१ असार । अमेरिकामा नेपालीहरुको हत्या क्रम बढिरहँदा अमेरिकाको राजधानीमा फेरि एक नेपालीको हत्या भएको छ ।

अमेरिकाको सुरक्षित क्षेत्र मानिएको भर्जिनियामा गोरखा जिल्लाको केराबारी स्थायी घर भएका रेशम बजगाईंको ज्यान गएको हो । भर्जिनियाको हरन्डनस्थित फ्रेकलिन फार्मको सुनोको ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा बुधबार बिहान सवा १ बजे उनीमाथि लुटेराहरुले आक्रमण गरेका थिए । आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै ज्यान गएको फेयर फ्याक्स प्रहरीले जनाएको छ । प्रहरीले अस्पताल लगेपनि उनलाई तत्कालै मृत घोषित गरिएको थियो ।

अहिलेसम्म परिवारलाई पार्थिव शरीर हेर्न दिइएको छैन् । उनी हप्ताको एक दिनमात्रै यो ग्यास स्टेशनमा काम गर्दै आएको मृतकका आफन्त ठाकुर ढकालले जानकारी दिए । अकल्पनीय घटनापछि सिंगो नेपाली समुदाय स्तब्ध भएको छ ।

भर्जिनियास्थित संचारकर्मी गुणराज लुँइटेलका अनुसार, ४० बर्षीय बजगाईं नौ महिनाअघि मात्रै नेपालबाट अमेरिका आएका थिए । श्रीमतीलाई डिभी परेका कारण बजगाईं अमेरिका हुन् । श्रीमती र पाँच बर्षकी छोरी ४ बर्षअघि अमेरिका आए पनि उनीआएको नौ महिना मात्रै भएको थियो । काम गर्न सजिलो हुने भएकाले घरनजिकैको ग्यास स्टेशनमा काम गर्दै आएका थिए । तर, विडम्वना ! मिठो खाउँला र राम्रो लगाउँला भनेर आएका उनी नौ महिना पनि बाँच्न पाएनन् । गोरखाको केराबारीबाट भरतपुर सरेका बजगाईं पारिवारको अबस्था नेपालमा निकै नाजुक रहेको बताइएको छ । परिवारिक अबस्था कमजोर भएकै कारण बजगाई १० बर्षसम्म खाडी मुलुक कतारमा बसेर काम गरेका थिए । कतारबाट नेपाल फर्केको ३ बर्षपछि उनी गत बर्ष सेप्टेम्बर २०१७ मा अमेरिका आएका हुन् ।

प्रहरीले घटनामा संलग्न चार जनामध्ये ३ जनालाई पक्राउ गरेको छ । मुख्य अभियुक्त भने अझै फरार रहेको बताइएको छ ।

घटनापछि बजगाईंकी श्रीमती अचेत अबस्थामा छिन् भने रक्लायण्ड भिजेज ड्राइभस्थित उनको निवासमा समवेदनाका लागि नेपाली समुदायको भीड लागेको छ । एनआरएन भर्जिनियाले मृतक परिवारलाई राहतका लागि गो फण्ड अकाण्टमार्फत रकम संकलन सुरु गरेको छ । एनआरएन भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द सुवेदीले मृतक परिवारका लागि सहयोग गरिदिन अपील गरेका छन् ।

अमेरिकामा नेपालीहरुको बारम्बर यस्ता घटना हुने गरेका छन् । खासगरि, ग्यास स्टेशनमा काम गर्ने नेपालीहरु यस्ता हमलाको शिकार हुने गरेका छन् ।