नेपालको वर्तमानलाइ नियाल्दा देखिन्छ जे नहुनुपर्ने हो त्यही भैरहेको छ । संविधान जारी गर्ने भनेर तोकिएको मिति नजिकै आइसकेको छ तर त्यसतर्फ प्रगति हुने भन्दा पनि त्यस प्रक्रियालाइ अवरोध गर्ने गराउने कार्य हुँदै रहेको देखिन्छ । संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गर्नुपर्ने पार्टीहरु आफै विवादमा त छंदैछन, उनीहरुलाइ दबाब दिनुपर्ने जनताको पंक्ति पनि कताकता अलमलमा परेको जस्तो देखिंदैछ । अझै अनौठो र दुखद विषय त के छ भने अहिले आफूलार्इ वौद्धिक ठान्ने केहि व्यक्तिहरु राष्ट्रियता जस्तो संवेदनशील विषयमा अनावश्यक विवाद गर्नमै व्यस्त देखिन्छन । खास गरेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुको वैठकमा छलफलको दौरान ‘समथर भूभाग जति मदेश राज्यमै गाभ्ने भए त युपी अनि बिहार पनि चाहिने तर्क गरिने त हैन ?’ भनेर मधेसी मोर्चाका नेताहरुलाई भनेको भन्ने विषयलाई अनावश्यक रुपमा उचाल्ने काम भैरहेको छ । वैठकमा छलफलको दौरान सन्दर्भ जोडन उदाहरणको निम्ति अभिव्यक्त भनाइको बिषयलाई विवादको विषय वनाउने अनि वैठकनै छोडेर हिड्ने मधेसी नेताहरुको खेल बुझ्न कठिन छैन । अनि कठिन छैन बुझ्न त्यस्तो आरोप लगाउनेहरुलाइ ढाडस दिने सवै खालका माओवादीहरुको खेल, किनकि माओवादी अनि मधेसी जनताको नाम वेच्दै स्वार्थ सिद्ध गरिरहेका कथित मधेशवादीहरु कुनै पनि हालतमा अहिले संविधान वन्न दिनै चाहदैनन । त्यसैले उनीहरुले संविधान निर्माणको सम्वन्धमा के भन्छन भन्ने अहिलेको निम्ति वहसको विषय हुँदैन, यदी त्यसो गरियो भने त्यो घरमा आगो लगाउन पेट्रोल र सलाइ वोकेर आइरहेको मान्छेसंग उसले आगो लगाउन चाहेको घरमा रंगरोगन गर्ने वारेमा छलफल गर्नुसरहनै हुनेछ । तर विभिन्न कारणले आँखामा पट्टि बाँधेर माओवादी र मधेशवादीलाइ समर्थन गरिरहेका वाहेकका सम्पूर्ण जनतामा रहेको भ्रम चिर्ने प्रयन्त गरिनु पर्दछ ।
समयमा लोकतान्त्रिक संविधान सम्पूर्ण नेपाली जनताको चाहना हो अनि जनताले चाहेको नेपाली नेपालीलाइ एक आपसमा भावनात्मक रुपमा बाँध्ने संविधान हो । नेपाली जनताले चाहेको भनेको योग्यता, क्षमता विकासमा राज्यले समानतापूर्वक सवैलार्इ सहयोग गरोस अनि योग्यता, क्षमता अनुसार भेदभाव विहिन ढंगले जिम्मेवारी दिने कुराको ग्यारेन्टी गरियोस भन्ने हो । जात, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण वा अन्य कुनै कारणले पनि कोही कसैमाथि पक्षपात गरिनु हुँदैन र गरिने छैन भन्ने कुराको ग्यारेन्टी जनताको चाहना हो । हाम्रो समाजमा पछाडि परेका जाति, समुदाय छन् भन्ने सबैले मानिसकेको विषय हो र त्यस्ता जाती, समुदाय वा क्षेत्रका नेपालीको विकास अनि उनीहरुको प्रगति राष्ट्रको एजेन्डा बन्नुपर्छ भन्ने नेपालीहरुको साझा धारणा हो । तर अहिले थरीथरिको जातका नाममा अनि भूगोलको नाममा राज्य माग्नेहरुको एजेन्डामा जनताको उल्लेखित मागहरु परेको छन त ? के उनीहरु जसको प्रतिनिधित्त्व गरिरहेको दावी गर्ने गर्छन ती जनताको दुख र पीडाको निदानको अग्रगामी कार्यक्रम उनीहरुसँग छ ? अत्यन्त दुखका साथ भन्नैपर्छ उनीहरुसँग त्यस्तो केहि पनि छैन । अहिले कामले विभाजित भएपनि नामले एकीकृत भनिने माओवादी पार्टी अनि उसको नेतृत्वमा आफूलाई मधेसी जनताको प्रतिनिधि दाबी गर्नेहरुको एउटा मोर्चा छ, अनि त्यो मोर्चा संविधान निर्माणमा पहाडमा जातको आधारमा अनि तराइमा भूगोलको आधारमा राज्य मागिरहेको छ । सदियौंदेखि मिलेर वसिरहेका हामी नेपालीहरुको चाहना हो यो ? पक्कै हैन । यथार्थ त के हो भने हामी सवैको निम्ती अधिकार चाहन्छौं तर एउटाले अधिकार पाउँदा अर्कोले असुरक्षित हुने अवस्था चाहदैनौ । हिन्दु धर्मको दशैं, मुश्लिम धर्मको इद, वुद्ध धर्मको ल्होसार अनि क्रिस्चियनको क्रिसमस देखि अन्य चाडपर्व आउँदा हामी सम्पूर्ण नेपालीहरु मिलेर चाड मनाउने गर्छौ । मधेशको कुनै नेपालीलाई अन्याय परेको सुन्दा वा दुख परेको सुन्दा पहाडमा वस्ने नेपालीको मन दुख्छ, अनि पहाडमा विपद आउँदा मधेशी जनता शीघ्र विपद निवारणको कामना गर्छन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविताको ‘मानिस ठुलो दिलले हुन्छ जातले हुदैन’ भन्ने हरफ हामी सवैलाई सहि लाग्छ । अनि के हामी जात जातको नाममा राज्य चाहन्छौं ? किमार्थ चाहदैनौँ । तर त्यसको अर्थ हामी विगतदेखि चल्दै आएको केन्द्रीकृत राज्य प्रणालीको पक्षमा उभिन चाहन्छौं ? त्यो पनि चाहदैनौँ । हामी राज्यको उपस्थिति खोज्न आफ्नो घरआँगनबाट टाढा जान नपर्ने हिसावको विकेन्द्रित राज्य चाहन्छौं, त्यसको मतलव हामी वैज्ञानिक संघियता चाहन्छौं । तर अहिले पुष्पकमल दाहाल अनि उनको मोर्चा नामक झुण्डले वकालत गरिरहेको संघियता जनतालाई अधिकार सम्पन्न पार्नको निम्ति हैन, पुष्पकमललाइ शीतल निवास अनि झुण्डका सदस्यहरुलाई कुनै अमुक राज्यको मुख्य मन्त्री अनि सभासद वनाउनको निम्ति चाहिएको छ । आफ्नो स्वार्थको निम्ति अनेकन पटक अनेकन खेल खेली सकेका्, सवै खालका सत्ता समीकरणमा मन्त्री वन्ने अवसर खोज्ने राजेन्द्र महतोजस्ता पात्रहरुलाई ठूलो मधेशवादी देखाउने काम भैरहेको छ । अझै कतिपयले त राजेन्द्र महतोहरुको राष्ट्रवादसँग नेकपा एमालेका नेताहरुको राष्ट्रवादलाई समेत तुलना गर्ने दुस्साहस गरेका छन । तर यहाँ वुझ्नुपर्ने कुरा के छ भने राजेन्द्र महतो उनीजस्ता केही पात्र छन राजनीतिमा जसको वारेमा चर्चा गर्नु समेत पनि वास्तवमा समयको बर्वादी हो । उनको स्वार्थी प्रवृति अनि सत्तालोलुप व्यवहार वुझेपछि उनले निर्वाचन हारेका थिए । आफ्नो क्षेत्रमा जनाताले मत नदिएर हराई दिएपछि यो हाम्रो हैन भारतको हार हो भन्ने राजेन्द्र महतोको राष्ट्रवादको तुलना नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला केवल नेपालीले मात्रै गर्न सक्छन र गर्न पाउनुपर्छ भन्ने जवर्जस्त अडान राख्ने पार्टीका नेताहरुको राष्ट्रवादसँग गर्नु भनेको वौद्धिक विलास र भ्रमको खेती बाहेक केहि हुनै सक्दैन । तर राजेन्द्र महतोले के भने वा के गरे भन्ने आधारमा मधेसी जनताको राष्ट्रवादितामा शंका गरियो भने त्यो सवै भन्दा ठूलो भुल हुनेछ ।
हाम्रो मुलुक नेपाललाइ सार्वभौम र अखण्ड राख्न जति भूमिका पहाडमा वस्ने हामी पहाडियाहरुको छ, त्यो भन्दा कैयौं गुणा ज्यादा तराईमा वस्ने नेपालीहरुको छ । त्यसो भन्दा कतिपयले हिजो ब्रिटिसले राज्य गरेको भारतसँगको लडाईमा अग्र मोर्चामा लड्ने वलभद्र कुँवर, भक्ति थापाको इतिहासको कदर गरिएन पनि भन्न सक्लान तर त्यस्तो विल्कुल हैन । हो बलभद्र, भक्ति थापाहरुले घोषित लडाईको दौरान बहादुरी देखाए तर हामीले भुल्नु हुँदैन मधेशमा बसिरहेका हाम्रा मधेशी दाजुभाइ, दिदिबहिनीहरु त विगतदेखि अहिलेसम्म भारतीय पक्षबाट हुने जान-अन्जान हेपाईको, अतिक्रमणको सिकार वन्न वाध्य छन् । उनीहरु त्यसको वावजुद नेपाली हुनुमा गौरव गर्छन् । देशको विकासमा पनि मधेसी समुदायको ठूलो योगदान छन । हाम्रो मुलुकमा प्राविधिक पेशामा अहिले पनि ठूलो संख्यामा मधेसीहरु सेवारत हुनुहुन्छ, शिक्षण, कानुनी लगायको थुप्रै क्षेत्रमा पनि हुनुहुन्छ । उहाँहरु जहाँ हुनुहुन्छ त्यहाँ राम्रो गरिरहनु भएको छ । महतो वा अर्को कुनै मधेसी थर भएका कथित मधेशवादी नेताले गरेको वेइमानीको कारणले मुलुकको हितमा कार्यरत लाखौंलाख मधेसीको अपमान गर्नु हुँदैन, उनीहरुको नेपाल राष्ट्रप्रतिको माया र समर्पणको गलत अर्थ लगाउनु हुँदैन । हामीले आपसी एकताको बलमा नै अहिलेसम्म हाम्रो देश अखण्ड रहेको सार्वभौम रहेको तथ्य स्वीकार गर्नुपर्छ र आपसी एकतालाई अझै वलियो वनाउनु पर्छ । हामीले वुझ्नुपर्छ कि मधेशको नाम भजाएर राजनीतिको केन्द्रमा राज गर्ने कथित मधेशवादी नेताहरु भनेको वर्षौंदेखि मोफसलको कुनै जिल्लाको सांसद हुने तर काठमाडौँको आलिशान बंगलामा नपुगी निदाउनै नसक्ने पन्च महाराजहरु जस्तै हुन् जसले जनताको नाम भजाउँदै सत्ताको चास्नी त पटकपटक चाटे । तर जनतालाइ केही दिएनन । अब आगामी दिनमा जनताको नाम भजाउनेहरु हैन, जनताको सुखदुखमा साथ रहनेहरु जनताको असली प्रतिनिधि हुन कसरी सम्भव छ भन्नेमा छलफल गर्नुपर्छ । राजनीतिमा सफल हुन जनताको व्यापक समर्थन हैन आर्थिक सम्पन्नता चाहिन्छ भन्ने जुन संस्कृति बन्दै गएको छ त्यसलाई पनि अब वदल्नुपर्छ ।
अब देशका सबै क्षेत्रमा जनताको असली पङ्क्ति राजनतिमा सहभागी हुनुपर्छ, स्वोघोषित ठेकेदारहरुको भरमा आफ्नो क्षेत्र, लिङ्ग वा समुदायको भाग्य भविष्य छोडनु हुँदैन । अहिले संविधान निर्माणको वारेमा वहस गरिरहँदा गरिब, दुखी जनताको पङ्क्ति पनि राजनीतिको मुलधारमा आउने ढोका खोल्नेतर्फ संविधानमा कस्तो व्यवस्था हुँदैछ भन्नेमा हामीले ध्यान दिनुपर्छ । नेपालका कुनै पनि नागरिकले आफूले चाहेको जति शिक्षा हासिल गर्न पाउने विषयको ग्यारेन्टी कसरी गरिंदैछ भन्नेमा हामीले ध्यान दिनुपर्छ । सरकारी सेवामा, प्रहरी अनि सैनिक सेवामा पक्षपात नहुने ग्यारेन्टी कसरी गरिंदैछ त्यसमा हाम्रो ध्यान जानुपर्छ । न्याय प्रणालीलाई कसरी स्वच्छ अनि छिटोछरितो वनाउने भन्ने विषयमा के के लेखिन्छ त्यसमा हाम्रो ध्यान जानुपर्छ । देशको साधन र स्रोतलाइ न्यायोचित ढंगले वितरण गर्ने विषयको ग्यारेन्टी हुन्छ कि हुन्न भन्नेमा हाम्रो ध्यान जानुपर्छ । दुःखका साथ भन्नुपर्छ कि समयमै संविधान निर्माण हुनुपर्छ, लोकतान्त्रिक संविधान निर्माण हुनुपर्छ भन्ने हामी मध्येका धेरैको ध्यान उल्लेखित विषयहरुमा जान सकिरहेको छैन । हामी संविधानको अन्तरवस्तुमा हैन, कुन नेताले के भने ? भन्ने विषयमा चर्चा गर्नमा ध्यान लगार्इ रहेका छौं िनेताहरुको भनाइकै कुरा गर्दा पनि कतिपय वेला नेताको भनार्इ र उसको गरार्इ मिलिरहेको छ छैन ? भन्नेमा हाम्रो ध्यान गएको छैन । यदी हाम्रो ध्यान गएको हुन्थ्यो भने सहमति हुनुपर्छ भन्ने अनि आफूलाइ मन नपर्ने कुरा आउनासाथ बैठक छोडेर हिड्नेहरुको पक्षमा तर्क खोज्न हैन यस्ता प्रवृति र पात्रको भण्डाफोरमा हाम्रो समय जानुपर्थ्यो, एउटा देशको संघियताको खाका कोर्ने छलफलमा पहाडमा जातको आधारमा अनि तरार्इमा भूगोलको आधारमा संघियता हुनुपर्छ भन्नेहरुको नियतलाइ उदाङ्गो पार्नको निम्ति हाम्रा कलमहरु चल्नु पर्थ्यो । तर त्यो यथोचित रुप र मात्रामा हुन सकेको छैन । यद्यपि अहिले पनि ढिला भैसकेको छैन । अब मुलुकको हित चाहने सवैले संविधान निर्माणमा भएका सहमति के के छन् भन्ने अध्ययन गर्नुपर्छ र विमतिको विषय के के हुन् र त्यस विमतिमा कसको अडान के छ ? भन्ने आधिकारिक अडान के छन् त्यो अध्ययन गर्नुपर्छ । कुन नेताले कहाँ के वोले भन्ने विषय महत्वको विषय हैन, महत्वपूर्ण हुन्छ कुन पार्टीले कस्तो संस्थागत निर्णय लिएको छ भन्ने । त्यसको अध्ययनको आधारमा हामीले आफ्नो धारणा वनाउनुपर्छ । तर त्यसो गरिरहँदा पनि सहमतिमा संविधान वन्नुपर्छ भन्ने निर्णय गर्ने अनि संविधान जारी गर्ने भनेर आफू समेतको सहमतिमा तय गरिएको मितिमा संविधान बनिहाल्ला कि भनेर त्यही मितिको आसपास आमहड्तालको कार्यक्रमको घोषणा गर्ने पाखण्डलाइ पहिचान गर्नुपर्छ ।
नेपाललाइ माया गर्ने अनि नेपालीहरुको भलो चाहने सवैको अबको एजेन्डा शीघ्र लोकतान्त्रिक संविधान हुनुपर्छ र त्यस एजेन्डालाइ टुङ्गोमा पुर्याउन सक्रिय छलफल र हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पनि सबै तयार हुनुपर्छ । नेपालको साधन, स्रोतले धान्न सक्ने संघियता हुनुपर्छ भन्ने सवैको चाहना हो, यो नै वास्तवमा अग्रगामी चिन्तन हो । तर कसैले दिएको भ्रमपूर्ण अभिव्यक्ति अनि चालेको स्वार्थी खेलले हाम्रो धरातलीय बुझाइलाई कमजोर बनाउनु हुँदैन । भनिन्छ, सन्तान भनेको इश्वरका वरदान हुन् तर आजकाल हामी इश्वरको वरदान भनिने सन्तान जन्माउनु पूर्व आफ्नो हैसियतले जन्मने वच्चाको यथोचित देखवाल गर्ने अवस्था छ छैन ? बिचार गर्छौं अनि त्यसै अनुसार सन्तान जन्माउने विषयमा निर्णय गर्छौं । जव हामी एउटा सन्तान जन्माउनु पूर्व त उसको भविश्यको वारेमा सोच विचार गर्छौं भने लाखौंलाख मानिसहरुको भाग्य र भविष्यसंग साइनो राख्ने संघीय राज्य बनाउँदा त्यस्तरी वनाइने राज्य चल्छ वा चल्दैन ? त्यसले मुलुकको अर्थ व्यवस्थालाइ फाइदा गर्छ वा गर्दैन भन्ने सोच्नु हाम्रो दायित्व हैन र ? संघीय राज्य बन्दा त्यसको आर्थिक पक्षको वारेमा आफूले मुख्य मन्त्री निवास , राज्यपाल निवास अनि सभासद वा विधायकको भत्ता पाउने सपना पालिरहेकाले नसोचे पनि हामीले सोच्नुपर्छ कि कतै मुख्य मन्त्री निवास, बिधानसभा भवन अनि मन्त्री निवास वनाउँदा वनाउंदै हाम्रा छोराछोरी पढ्ने विद्यालय त वन्द हुने अवस्था आउदैन ? यी र यस्ता थुप्रै प्रश्नहरु छन् जसको हामीले उत्तर खोज्नुपर्छ । यी र यस्तै प्रश्नहरुको उत्तर खोज्दा जुन पार्टीले हामीले खोजेको जस्तो मुद्दा अगाढी सारेको छ त्यसलाई साथ र समर्थन गर्नुपर्छ र उसलाई अझै अग्रगामी वन्न र अझै व्यापक ढंगले हाम्रो सरोकारको सम्वोधन गर्नुपर्छ भन्नेमा खवरदार गर्नुपर्छ । तर फेरी पनि हामीले भुल्नु हुदैन कि संविधान निर्माणको विषयमा छलफल र वहस गरिरहँदा संविधान वनाउनै नचाहने, संविधान वन्नुपर्ने समयमा आमहडतालको घोषणा गर्ने संविधान विरोधी षडयन्त्रकारीहरुको पहिचान गर्नुपर्छ । संविधान निर्माण हामी जनताको एजेन्डा हो भने त्यसलाई टुङ्गोमा पुर्याउन हामी आफैं जाग्नुपर्छ र त्यसो गरिरहंदा संविधान निर्माणको विपक्षमा उभिने सबै खालका अतिवादी जनविरोधीहरुसंग पैठाजोरी खेल्न तयार हुनुपर्छ । लडार्इँ सजिलो नहोला तर जित हामी जनताकै हुनेछ तर हामीले पनि आफू-आफूमा जात, धर्म, लिङ्ग, क्षेत्र वा अन्य कुनै प्रकारको दरार पर्न दिनु हुदैन ।














प्रतिक्रिया