पर्सा, २६ पुस । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालु आर्थिक वर्षमा विभिन्न सवारी साधनलाई कारबाही गरी करिब रु १० करोडको राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयले पुस २३ गतेसम्म जम्मा १८ हजार १०० सवारी साधनलाई कारबाही गरी रु नौ करोड ६३ लाख २२ हजार जरिवाना गरेको जनाएको हो ।
त्यसरी नै वीरगन्ज–पथलैया सडकखण्डमा मात्रै ट्राफिक नियम विपरित सवारी साधन चलाउनेहरुसँग कारबाही गरी रु चार करोड २२ लाख १७ हजार राजस्व सङ्कलन भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिनुभयो ।
उहाँले नेपाल यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल ट्रक व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल प्रहरी ट्राफिक निर्देशनालयको संयुक्त बैठकले सवारी चक्काको आधारमा भार क्षमता तोकेको बताउँदै छ चक्के सवारीले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले ३०.२ टनभन्दा बढी भार बोक्न नमिल्ने नियम बनाएका कारण सो नियम प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।
उहाँले यस क्षेत्रमा ५८७ वटा सवारी दुर्घटना चालु आर्थिक वर्षको हालसम्म भएको उल्लेख गर्नुभयो ।















प्रतिक्रिया