१ कार्तिक २०८३, शनिबार

पूर्व शान्तिमन्त्री ढकाल ‘स्टाँकहोम पिस अवार्ड’ द्वारा सम्मानित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


स्वीडेन, १७ असार । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल स्वीडनको राजधानी स्टाँकहोममा सम्मानित भएका छन् । ‘स्टाँकहोम पिस अवार्ड’ समितिद्वारा स्टाँकहोम स्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा आयोजित समारोहमा ढकालसहित विश्वभरिका दश जना सामाजिक अगुवाहरुलाई सम्मान प्रदान गरिएको हो ।

ढकालले नेपाल तथा एशियाली मुलुकमा शान्ति, भाइचारा तथा सदभाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको भन्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । थाईल्याण्डका वरिष्ठ भिक्षु फ्रावितेस्पुन्यपोर्णको पहलमा तथा युरोपियन र एशियन विभिन्न संस्थाहरुको सहयोगमा स्थापित ‘स्टाँकहोम पिस अवार्ड’ स्वीडनको लागि थाई राजदूत सककन्थोर्न चैयीन्दीपुमले पूर्वमन्त्री ढकाललाई प्रदान गरे ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री ढकालले गौतम बुद्ध र सगरमाथाको देश नेपालबाट विश्वको लागि शान्तिको सन्देश बोकेर ल्याएको बताए । ढकालले वर्तमान विश्वका अनगिन्ति चुनैतिहरुको सामना गर्न एक्लै नसकिने भन्दै शान्तिका पक्षधरहरु एक हुनु पर्ने धारणा राखे । ढकालले संसारमा युवाहरुको गिर्दो अवस्थाबारे चिन्ता व्यक्त गर्दै युवाहरुलाई सही दिशा निर्देश गर्न नैतिक जागरणको खाँचो रहेको उल्लेख गरे ।

२५०० वर्ष अघिको गौतम बुद्धको सन्देश आज पनि त्यतिकै सान्दर्भिक रहेको बताउँदै ढकालले नेपालको सफल शान्ति प्रकृयाको बारेमा पनि आफ्नो सम्बोधनमा व्याख्या गरे । इन्टरनेशनल एशोशिएसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल अन्तर्राष्ट्रिय स्तरमा चर्चित थोरै नेपालीहरु मध्ये एक हुन् ।