३ कार्तिक २०८३, मंगलबार

‘अब सीता आमा मुस्कुराउनेछिन्’

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । संयोगले स्व. छोरा प्रकाश दाहालको जन्म दिनमा उपचारको प्रारम्भिक चरण सकेर सिंगापुरबाट पति पुष्पकमल दाहाल प्रचण्डसँगै सीता दाहाल काठमाडौं आइपुग्दैछिन् ।

ठूलो हुन्जेलसम्म काखमा निदाउने बानी भएको छोरालाई अन्य सन्तानको तुलनामा अधिक प्रेम गर्थिन् उनी । त्यसैले त्यो भावुकताको कसीको गहिराईले नै उनलाई बिरामी बनायो । उनले अल्पायुमै छोरो गुमाइन् । त्यति नहास्ने तर मुस्कुराउने उनको बानी छ ।

हेर्दा जति गम्भिर देखिन्छिन्, त्यति नै शालिन उनको बानी थियो । त्यसैले युद्धका डोभहरूसँगै क्रान्तिको यात्रामा प्रचण्डलाई सफल बनाउन उनको योगदानलाई स्मरण गर्दै प्रचण्डले सिंगापुरबाटै भनेका थिए,‘सीताले ५० वर्ष साथ दिएकी छन्, उनको स्वास्थ्यका लागि म पनि केही दिन रहन्छु ।’

यो युगजोडी आइतबार राती ९ बजे काठमाडौं अवतरण गर्दैछ । योसँगै सीताले केही समयदेखि गुमाएको मुस्कान फिर्ता ल्याउनसक्ने आशा परिवारमा जागृत भएको छ । ‘स्वास्थ्यमा सुधार भएको छ, डाक्टरको सल्लाहबमोजिम नियमित औषधी खुवाउने र शारिरीक अभ्यास गराउनुपर्छ’, छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन्,‘अब उहाँ पहिलाजस्तै स्वस्थ्य बन्नुहुन्छ ।’

आमाको मर्का उनलाई थाहा छ । केही महिनाअघि उनी बहिनी गंगासहित सीतालाई लिएर नयाँदिल्लीमा उपचारका लागि पुगेकी थिइन् । दिल्लीको एपोलो अस्पतालको सल्लाहअनुसार नै सिंगापुर लगेको बताइन्छ ।

‘नियमित उपचारका लागि उहाँलाई तीन महिनापछि फेरि सिंगापुर लैजानुपर्छ’, रेणुले थपिन् ।

दुई साता लामो उपचार, वाटरथेरापीलगायत गरेपछि सीतालाई काठमाडौं ल्याउन लागिएको हो । ३ असारमा सिंगापुर पुराउनसाथ अस्पतालमा राखिएको थियो ।

एक साता अघि काठमाडौं फर्किएकी अर्की छोरी गंगाले सिंगापुरमा आमाको उपचारको प्रत्यक्ष निगरानी गरेकी थिइन् । उनले नै घरमा आमालाई डाक्टरको सल्लाहअनुसारको औषधि खुवाउने र व्यायाम गराउनेछिन् ।

प्रकाशको निधनअघिसम्म घरयासी काममा स्वस्थ्य र फूर्तिका साथ काम गर्ने सीता त्यसपछि कमजोर हुँदै गइन् । उनलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या पनि छन् ।

सिंगापुरको उपचारपछि प्रचण्डपरिवार सीताको स्वास्थ्यमा बेजोड सुधार आउनेमा ढुक्क छन् । सन्तान भन्छन्,‘सीता आमा मुस्कुराउनेछिन् ।’