
काठमाडौं, १५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसाललाई पदमुक्त गर्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले यस्तो प्रस्ताव लैजान नयाँ खाका तयार पारिरहेका छन् ।
पुननिर्माणमा गति दिन नसकेका कारण उनलाई हटाएर नयाँ सीइओ ल्याउने तयारी भएको हो । केही विधानहरू संशोधन गरेर प्राधिकरणलाई राजनीतिक सहभागीतामुलक बनाउने विषयमा पनि छलफल भइरहेको उच्च स्रोतको दाबी छ ।
आर्थिक बर्षको अन्त्य सँगै साउनदेखि नयाँ संरचनामा प्राधिकरणको विकास गर्ने तयारी सरकारले गरेको छ । सरकार नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको अवधारणापत्रका आधारमा पुननिर्माण प्राधिकरणको संरचना तयार हुनेछ ।
नेपाल कम्युनिस्ट पार्टीको आर्थिक नीति र चुनावी घोषणापत्रका आधारमा तयार पारिएको नेता बामदेव गौतमको नेतृत्वको समितिको अवधारणाका आधारमा प्राधिकरण समायोजन हुनेगरी नयाँ संरचनामा ढाल्ने तयारी भएको छ । त्यसको नेतृत्व पनि राजनीतिक नियुक्ति हुने स्रोतको दाबी छ । ‘कसको नेतृत्वमा हुने भन्नेमा छलफल बाँकी छ तर राजनीतिक नेतृत्वमा हुनेछ’, बालुवाटार स्रोतले भन्यो,‘सिंगापुरमा रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनासाथ यसमा सहमति गरी नयाँ संरचनामा अघि बढ्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नेछ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला सीइओ भुसाल नियुक्त गरिएका थिए । भुसाल रामचन्द्र पौडेलका सम्धि पनि हुन् ।
यसैबीच पुननिर्माण प्राधिकरणका सीइओको काममा प्रधानमन्त्री ओली सन्तुष्ट नरहेको संकेत संसदमा दिएका छन् । उनले सीइओको काम विकास निर्माण गर्ने नभई राजनीति गराउनका लागि नियुक्त गरिएको आशंका संघीय संसद बैठकमा शुक्रबार बताएका थिए ।















प्रतिक्रिया