
काठमाडौं, १५ असार । कर छली, अवैधानिक क्रसर उद्योग सञ्चालनदेखि प्रशासनलाई दबाबमा राखेका पूर्वका ठेकेदार भीम पौडेलको उच्च राजनीतिक चलखेल सुरु भएको छ ।
नेपाली कांग्रेसको राजनीतिक पृष्ठभुमीमा रही नुन ओसार्ने काम थालेका पौडेलले सुन बरारका सामान ओसार्नेसम्मका काम प्रशासनलाई दबाबमा राखेर गर्दै आएका छन् । मोरङ, सुनसरीका खोलानालामा क्रसर उद्योग स्थानीय चुन्द्रे, मुन्द्रे गुन्डाहरूको सहयोगमा चलाएका पौडेलले राजनीतिक दलका नेतासँग पनि राम्रै कनेक्शन राखेका छन् ।
पछिल्लो पटक भोजपुरमा अवैध हिसाबले क्रसर स्थापना गरेपछि तिव्र विवादमा तानिएका पौडेलले अहिले राजनीतिक दबाब दिनका लागि दौडधुप थालेका छन् ।
भोजपुरमा चलाएको क्रसरका विषयमा विवाद आएपछि त्यसलाई साम्य पार्नका लागि भोजपुर स्थायी घर भएका र निर्वाचनमा जितेर प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राईलाई समेत पौडेलले भेटिसकेका छन् । राईसँगको भेट मोरङ क्षेत्र नम्बर १ ‘क’का प्रदेश सांसद उपेन्द्र घिमिरेले गराएका थिए । ‘कुरो मिलाउने बाहनामा घिमिरे मध्यस्तता बसी मुख्यमन्त्रीसँग भेट गराइएको हो’, स्रोतले भन्यो,‘अहिले भोजपुरको विवाद आएपछि पौडेल त्यहाँ पुगेका हुन् ।’
त्यसो त ढुंगागिटीको विषयमा कुराकानी गर्नका लागि मुख्यमन्त्री राईको च्याम्बरमा पौडेलसँग भेट भएको घिमिरेले स्वीकार गरिसकेका छन् । स्थानीय एउटा मिडियामा उनले भेट स्वीकारे पनि संगत नरहेको दाबी गरेका छन् । तर उच्च स्रोतका अनुसार घिमिरे पनि पौडेलकै गाडी चढेर हिँड्ने गरेका छन् ।
यतिमात्र होइन स्थानीय तहका एक प्रमुख त पौडेलको खास मान्छेमात्र नभएर पार्टनर समेत हुन् । मोरङको केराबारी गाउँपालिका प्रमुख रोहित कार्की उनका साझेदार हुन् । कार्की नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । कार्कीको पनि क्रसर उद्योग छ ।
नेपाली कांग्रेसका उम्दा नेता गगन थापासँग राम्रो सम्बन्ध रहेका पौडेलले शक्ति केन्द्रलाई सन्तुलनमा राख्न तत्कालिन माओवादीबाट आपूर्तिमन्त्री बनेका नेकपा नेता शिवकुमार मण्डल, नेकपाका अर्का स्थानीय नेता विनोद ढकालसँग पनि नजरानाको सम्बन्ध राखेको स्रोतको दाबी छ । केन्द्रमा जाली र काम नगर्ने ठेकेदारलाई कारबाही गर्छु भन्दै गृहमन्त्री उफ्रिए पनि तल्लो तहमा जाली काममा सक्रिय रहेकाहरूसँग कार्यकर्ता र इन्चार्जहरूको ‘लोकल कुखुरे’ उठबस राम्रै रहेको बताइन्छ ।
तत्कालिन संविधानसभा सांसद तथा मोरङ कांग्रेसका पूर्वसभापति अमृत अर्यालसँग पनि पौडेलले सम्बन्ध राखेर माथिल्लो निकायको कृपालाई कायम राखेका थिए । सोही आडमा उनले मोरङ, सुनसरी र भोजपुरसम्मका खोला नाला, प्राकृतिक सम्पदामा रत्यौली खेल्न प्रशासनलाई पनि दबाब र प्रभावमा राखिरहेका छन् ।















प्रतिक्रिया