३ कार्तिक २०८३, मंगलबार

विश्वकपमा एसियाली मुलुकबाट जापान नकआउट चरणमा प्रवेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १५ असार । रुसमा जारी विश्वकपमा नकआउट चरण पुग्ने जापान एकमात्र एसियाली टोली बनेको छ । समूह ‘एच’मा सेनेगलसँग समान अंक, समान गोल भएपनि जापान फेयर प्लेका आधारमा अगाडि रहेर नकआउट चरणमा पुगेको हो । समूहको अन्तिम खेलमा बिहीबार पोल्यान्डले जापानलाई तथा कोलम्बियाले सेनेगललाई समान १–० गोलले हराए ।

दक्षिण अमेरिकी टोली कोलम्बिया र एसियाली टोली जापान रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् ।

समूह ‘एच’ अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा कोलम्बियाले सेनेगललाई १–० गोलले हरायो । सोही समूहको अर्को खेलमा पोल्यान्डले जापानलाई १–० गोलले पराजित गर्‍यो ।

समूहमा तीन खेलबाट ६ अंक जोडेको कोलम्बिया विजेता बन्यो भने चार अंकसहित जापान उपविजेता बन्यो । सेनेगलसँग समान अंक भएपनि जापान फेयर प्लेमा अगाडि रहेको हो । समान गोलअन्तर र गरेको गोल पनि समान भएपनि जापान फेयर प्लेमा सेने‍गलभन्दा अगाडि रहेको हो ।

अन्तिम खेलमा जापान र सेनेगल दुवैलाई बराबरीको नतिजा निकालेपनि अगाडि बढ्ने स्थिती थियो । जापानविरुद्ध पोल्यान्डका जान बेदनारेकले ६० औं मिनेटमा गोल गरे । जारी प्रतियोगितामा पोल्यान्डको यो पहिलो गोल हो ।

सेनेगलविरुद्ध कोलम्बियाका येरी मिनाले ७४ औं मिनेटमा हेड गोल गरे । समूहमा कोलम्बियाले तीन खेलबाट ६ अंक जोड्यो भने जापान र सेनेगलको समान चार अंक भयो । सेनेगल र जापानबीचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगितामा दुवै टोलीले चार गोल गरे भने चार गोल ब्यहोरे ।

समान अंक भएको अवस्थामा गोल अन्तर र त्यो पनि समान भएपनि जसले बढी गोल गर्‍यो त्यस आधारमा अगाडि रहने टोलीको निर्क्योल गरिन्छ । त्यो पनि समान रहे हेड टु हेडका आधारमा निर्णय लिइन्छ । त्यो पनि समान भए फेयर प्लेका आधारमा निर्णय गरिन्छ ।

जापान विश्वकपमा तेस्रो पटक नकआउट चरण पुगेको हो । उसले सन् २००२ र २०१० मा नकआउट चरणमा स्थान बनाएको थियो । उसले सन् १९९८ यता लगातार विश्वकप खेलिरहेको छ । यसपटक एसियाबाट दक्षिण कोरिया, इरान, साउदी अरब र अस्ट्रेलिया सहभागी थिए ।

यसपटक नकआउट चरणमा अफ्रिकन टोली भने ‘निल’ भएका छन् । कुनैपनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन् । दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिकाबाट एक टोली र युरोपबाट १० टोली नकआउट चरण पुगेका छन् । एजेन्सी