काठमाडौँ, २५ पुस । इजरायलले नेपाली श्रमिकलाई परीक्षणका रुपमा चाँडै आफ्नो मुलुकमा रोजगारीको अवसर प्रदान गर्ने तयारी गरिरहेको स्पष्ट गरेको छ ।
नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददातासँग कुरा गर्दै इजरायलका कृषि तथा ग्रामीण विकासमन्त्री याइर समिरले नेपाली श्रमिकलाई प्रशिक्षण दिन जरुरी भएको र फिलिपिन्सलगायत अन्य मुलुकका श्रमिकले आफ्नो मुलुकमा उत्कृष्ट सेवा प्रवाह गरिरहेकाले नेपालीलाई पनि त्यत्तिकै दक्ष कामदारका रुपमा आफ्नो देशले लिन चाहेको स्पष्ट गर्नुभयो ।
“बिस्तारै नेपाली श्रमिकले पनि सीप र ज्ञान हासिल गर्नेछन्, त्यसपछि कामदार लिन हामीलाई गाह्रो हुने छैन”–दक्ष कामदारको माग इजरायलमा अहिले पनि उच्च रहेकाले सीपयुक्त श्रमिकलाई स्थान दिने आफ्नो सरकारको प्राथमिकता प्रस्ट्याउँदै मन्त्री समिरले भन्नुभयो । नेपाली श्रमिकको इमान्दारी, कर्तव्यपरायणता र मेहनतबाट रोजगारदाता कम्पनी प्रभावित भएकाले निकट भविष्यमा इजरायलमा नेपालीका लागि रोजगारीका थप अवसर प्राप्त हुने उहाँले बताउनुभयो ।
नेपाली श्रमिकलाई तत्काल इजरायलमा अवसर प्रदान गर्ने सम्बन्धमा काठमाडौँस्थित आफ्नो मुलुकका राजदूतले नेपाल सरकारका सम्बन्धित निकायसँग निकट सम्पर्कमा रहेर आवश्यक गृहकार्य गरिरहेकाले छिटो समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको मन्त्री समिरले बताउनुभयो । इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५औँ वर्षको प्रवेशको अवसरमा भएको आफ्नो भ्रमणबाट द्विपक्षीय हित प्रवद्र्धनका भएको र पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न दुवै मुलुक प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रकृतिको बरदानका रुपमा रहेको नेपालको पर्यटन विकासको प्रचुर सम्भावना रहेकाले त्यसतर्फ पनि इजरायल र नेपालबीच सहकार्यका प्रशस्त क्षेत्र छन् भन्दै मन्त्री समिरले आफ्नो प्रतिनिधिमण्डलमा रहेका उद्योगपति व्यापारीले नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज गरेको छलफलले सकारात्मक परिणाम निकाल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कृषिमन्त्री समिरले आफ्नो मुलुकले हासिल गरेको कृषि प्रविधि, थोपा सिँचाइ, अन्न भण्डारणलगायत क्षेत्रमा सघाउन इजरायल सधैँ तत्पर रहेको स्पष्ट गर्नुभयो । उहाँले नेपालका बाढीपीडितलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ४०० पानी छान्ने अत्याधुनिक फिल्टर परराष्ट्रमन्त्री पाण्डेलाई आजै हस्तान्तरण गर्नुभयो ।
मन्त्री समिर नेतृत्वको प्रतिनिधिमण्डललाई कृषि सचिव जयमुकुन्द खनाल, नेपालका लागि इजरायलका राजदूत यारोन मायर, परराष्ट्र र कृषि मन्त्रालयका उच्च अधिकारीका साथै यहाँस्थित इजरायली राजदूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गर्नुभएको थियो ।
















प्रतिक्रिया