झापा, २५ पुस । विगत बाह्र वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएकी झापा धरमपुर–३ की राधिका गौतम बेपत्ता भएकी छिन् ।
पारिवारिक स्रोतका अनुसार स्थानीय म्यानपावर व्यवसायीमार्फत सन् २००३ मा कुवेत गएकी थिइन् ।
उनका १७ वर्षीया विस्मिता र १४ वर्षीया प्रेमिका नाम गरेका छोरी अहिले पनि आमा आउने आशमा बाटो कुरेर बसेका छन् ।
“दुई छोरीको भविष्यलाई उज्ज्वल बनाउने बाचा गर्दै राधिका कुवेत गएकी थिइन फर्केर आइनन् ।” नातिनी बेपत्ता भएको पीडामा वेदना पोख्दै राधिकाकी हजुरआमा ७६ वर्षीया धनमाया पाण्डे भन्छिन्, “म पनि दिनदिनै बुढ्यौलीले अशक्त हुँदैछु, यी सन्तानको भविष्य के होला कुन्नी ?”
राधिकाको खोजी गर्न परिवारले गैरआवासीय नेपाली सम्पर्क मञ्च कुवेत, कुवेतस्थित नेपाली दूतावास र कुवेतस्थित विभिन्न सङ्घसंस्थासँग लामो समयदेखि पहल गरिरहेको छ तर अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।
कुवेत पुगेको सुरुका दुई वर्षसम्म सम्पर्कमा रहेकी राधिकाको त्यसपछि कुनै खबर नै परिवारले पाएको छैन । अन्तिमपटक परिवारसँग कुराकानी हुँदै गर्दा राधिकाले एक्कासि चिच्याएको आवाज सुनिएको पारिवारिक स्रोतले बतायो ।
त्यसपछि हालसम्म राधिकाको सम्पर्कबिच्छेद छ । उनको परिवारले राधिकाको खोजीमा सघाइदिन सबैसँग अपिल गरेको छ । रासस















प्रतिक्रिया