१ कार्तिक २०८३, शनिबार

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली महाबाणिज्य दूतावासले ल्हासामा शुक्रबार आयोजना गरेको अन्तरक्रियापछि सामूहिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल । तस्बिर: हरि लामिछाने/रासस

चीन, ८ असार । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शुक्रबार ल्हासा आइपुग्नुभएको हो ।

नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली व्यापारीले प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई दुई देशबीचको व्यापार, वाणिज्य तथा सहयोगका संभावित अन्य क्षेत्रबारे समेत जानकारी गराएका थिए । नेपाली महावाणिज्यदूत गोविन्द कार्कीले नेपालीले ल्हासामा भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउँदै समाधानका लागि आफूहरु पनि तत्पर रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली समुदायको गुनासालाई सम्बोधन गर्न तयार रहेको र त्यसबारेमा तिब्बत सरकारसँग पनि कुराकानी गर्ने बताउनुभएको थियो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । –रासस