काठमाडौं, २४ पुस । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गर्नुभएको छ ।
इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहका बीच उहाँलाई ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो । अवार्ड वितरण समारोहमा उहाँ नेपाली झण्डासहित उपस्थित हुनुहुन्थ्यो । गत कात्तिकमै घोषणा गरिए पनि यही सोमबार मात्रै यो अवार्ड प्रदान गरिएको हो । अवार्डका लागि मनोनयनमा परेका एसियाका ६ सय १३ जना महिलामध्ये उहाँ २० जना भित्र छानिनुभएको हो । अवार्डका लागि २७ वटा राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको पुरष्कार प्रदान गर्ने संस्था एसईएसियाले जनाएको छ ।
अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताउनुभयो । ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ । यसले आगामी दिनमा सिंगापुरबाट अरु नेपालीलाई पनि अवार्ड प्राप्त गर्ने बाटो खुलेको छ ।’ अवार्ड ग्रहण गरेपछि श्रेष्ठले भन्नुभयो ।
बैंकर श्रेष्ठले यसअघि गत भदौ २१ गते पनि मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ पनि जित्नुभएको थियो । अवार्डका लागि नेपालबाट इप्लानेट प्रालिका सन्तोष सापकोटाले मनोनयन गर्नुभएको थियो ।
अवार्ड विजेता श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर हुनुहुन्छ । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसक्नुभएको छ । यसअघि पनि उहाँले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाउनुभएको छ ।















प्रतिक्रिया