२८ आश्विन २०८३, बुधबार

होशियार ! अबको द्वन्द्व जंगलमा हुनेवाला छैन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavita-ram-shrestha

डा. कविताराम श्रेष्ठ

सबैतिर भिषण द्वन्द्वको तयारीको संकेत मिल्दो छ । माघ ८ मा संविधान जारी भए पनि नभए पनि देशका १५ जिल्लालाई अति संवेदनशील ठहर गर्दै ती जिल्लामा नेपाली सेना परिचालन गरिने तयारी हुँदै छ । नेपाली सेनाका उच्च अधिकृतहरूसहितको केन्द्रीय सुरक्षा समितिको बैठकले माघ ८ को केहीअघि र लगत्तै सुरक्षामा चुनौती आउने जिल्ला भनेर झापा, मोरङ, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, सर्लाही, रौतहट, पर्सा, बारा, रूपन्देही, बाँके, काठमाडौं, ललितपुर र भक्तपुरलाई ठहर गरेको छ ।

तराईका जिल्लामा सुरक्षा समस्या आउँदा उपत्यकाको अत्यावश्यक सेवा, खाद्यान्न, औषधि, निर्माण सामग्री आपूर्तिमा असर पर्ने भएकाले अग्रीम योजना बनाई सञ्चित गरेर आपूर्ति व्यवस्था सहज बनाउने निर्णय सुरक्षा समितिले गरेको छ। कहीं पनि १५ मिनेट भन्दा बढी रोक भएमा तत्काल कारवाही गर्ने योजना बनेको छ । गृहमन्त्रीको अध्यक्षतामा बसेको त्यस बैठकमा गृह र रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका युद्धकार्य महानिर्देशकसहितका केही जर्नेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख आदि सम्पूर्ण सुरक्षा संबेदनशील निकाय प्रमूखहरूका सहभागिता भएको हुंदा सरकार यस अवस्थालाई आपतकालीन संकटको अवस्था मानेर भिड्ने भएको बुझिन्छ ।

अर्कोतिरको तयारि पनि उस्तै भिषण देखिँदो छ । फुटेका ३ माओबादि पार्टीहरू कार्यगत एकताको रूपमा एकत्रित भई सघर्षमा उत्रने भएका छन् । संबिधानसभा भित्रै ठाडै भन्छन – २०० त मर्न तयार छौं । ३० दलका संयोजक भन्छन- अरू कुरा थाहा छैन “ठोक” । अर्कोले भन्छ – हतियार बाहिर हुँदैन गीदिमा हुन्छ । आदिबासी जनजातिहरूले राज्यभर कार्यक्रमहरू देखाएर आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । सांस्कृतिक कार्यक्रमहरूमा समेत आफ्नो जातिय पहिचानको माग राख्न पछि परेनन् । टुँडिखेलबाटै यो स्वत:स्फूर्त समूदाय राज्यमागको लागि सडकमा उत्रन नपरोस भनी हाँक दिएका छन् । यता गैह्र राजनीतिक जनजाति समुदायले दैनिक रूपमा बानेश्वर आफ्नो हातमा लेउ भन्ने कार्यक्रम गरेर घेर्दै आएको छ ।

म स्थिति सामान्य देख्दिन ।

सत्तापक्षले सोचेको छ माओबादीहरूसंग सेना छैन, हतियार छैन, लालसेना छैन, जनमत पनि घटेको अवस्था छ । जनजातिहरूको आन्दोलनलाई उनीहरूले एउटा सांस्कृतिक पर्वको जात्राजस्तो मात्र मानेका छन् । अझ के पनि भने यो संघर्ष जंगलको अनकन्टारमा नभएर शहरको सुरक्षित दुर्गभित्र केन्द्रित भएको र पहरेदारी र सुरक्षा दिने पुलिस र सेना आफैसंग भएकाले पनि बढी ढुक्क छन् । तर भुलेका छन् – सही ढंगमा सम्बोधित हुन नसकेका युगौं पुराना उत्पीडनका शिकार त्यो क्रुद्ध जनशक्ति अब अर्कै हिसाबका रुपान्तरणसाथ भिडन्तको लागि कार्यगत एकताको नाममा ध्रुविकृत हुँदैछन् ।

सत्ताको नियत पशुसमाजमा होस् वा मान्छेकै, त्यो दमनकारी नै हुन्छ । अनि त त्यो राणा, पंचायत, राजा, कांग्रेस, कम्युनिस्ट, चोर लुटेरा, जोगी सन्त, जो भए पनि कुरा उही हो । आफूले खाईपाई आएको खान्की त कीरा फटेंग्रासमेत छोड्दैन । जहाँ पनि टक्कर अविकसित समाजमा खान्कीकै सुरक्षाको लागि हुन्छ । तर हामी अब अलि माथि उठेका छौं । हामी आदिम युगमा छैनौं । त्यसैले अबको यो टक्कर भिन्न छ । यो पशुवत प्रत्यक्ष खानपिनको लुच्छाचुडी वा राजनीतिक अधिकारको लागि भन्दा पनि सांस्कृतिक पहिचानको मुद्दा बनेर आएको छ । राजनीतिक हक गुम्दैमा कुनै जाति लरतरोले गुम्दैन । तर सांस्कृतिक पहिचान गुमे पछि त कुनैपनि मै हुँ भन्ने जाति त्यतिकै गुम हुनपुग्छ । त्यो कुरो अबको हाम्रो समाजले बुझेको छ । हामीभित्र सत्तामा रहेका वा नरहेका, जाति धर्म वा सांस्कृतिक पहिचान उच्च रहेका र गुम्दै गरेका, सबैले बुझेका छौं कि नेपालमा युगौंदेखिको उत्पीडन सांस्कृतिक दलनबाट भएको छ. त्यही उत्पीडितका जागृतिबाट प्रस्फुटित प्रतिकारमय यो आगो सांस्कृतिक द्वन्द्वको रूपमा उजागर भएको छ । सबैले बुझेका छन् दुबैतिरका यो चक्रव्यूह रचना अन्तिम निर्णायक युद्धको लागि हो । यो युगमा यहाँ महाभारतको युद्ध हुँदै छ ।

जनताको संघर्षबाट धेरैपल्ट सत्ता त फेरियो राजनीतिक अधिकार प्राप्त भएपनि पहिचानहीन समूहलाई त्यो सदा आकाशको फल मात्र भयो । जनताले अब ७ साले, ३६ साले, ४८ साले, ६३ साले र यहाँ सम्मकी गत संबिधानसभा-१ को बाहिरी बोक्रा सबै छोडाऊँदै पत्ता लगाएको छ की मूल बीज राजनीतिक होइन. यो त सांस्कृतिक बिष रहेछ जो आफू र विपक्षमा समेत उत्तिकै अर्बूद बनेको छ. यसको सफाया दलगतको युद्धले होइन सांस्कृतिक युद्धबाट मात्र सम्भव छ जो पहिले त आफैभित्र अनि आफ्नै परिवार, त्यसपछि आफ्नै समुदाय, जातजाति, धर्ममा समेत पनि निराकरण हुन जरुरी छ । होमिएका जनता आफैमा पनि त्यो सांस्कृतिक सुधार गर्न युद्धरत छन । त्यही शुद्धिकरणको प्रक्रियाले पहिले कहिल्यै नदेखिएको यो घ्रुविकरणको प्रक्रिया देखिँदो छ जसमा पूर्वबत् राजनीतिक शत्रुहरू मित्र बन्दै छन् अनि मित्रहरू चाहिं शत्रु । अन्यौल देखिंदा छन् । कतिले बुझ्छन कतिले बुझ्दैनन् । बुझ्नेहरू धेरै त हालिमुहालिकै स्वार्थमा निर्लिप्त छन् र बिडम्बना त्यही हो आफ्नै समुदायका नबुझ्नेहरूलाई पनि दिक्भ्रमित गर्दै छन् ।

के भन्ने ? एक थरि त नामेटै हुने हो भने मर्न तयार छौं भनेर डटेका छन् । अर्को थरी यसरी नै युग खाइयो, अरू खाइन्छ भन्ने मानसिकतामा छन् । आफू बाचुन्जेल आफूलाई फाइदा भए पुग्यो मरेपछि के मतलब ? भन्नेमा छन् । साह्रै अनुत्तरदायी आदिम सोच हावी छ । मान्नुस या नमान्नुस अब देशमा दीर्घकालीन अशान्ति हुने नै भो । अन्यथा नलिनुहोला, खुलेरै भन्दछु, समाजशास्त्री डोरबहादुर बिष्टले उ बेलै यसको संकेत गरेर भनेका थिए पुरातनबादी ब्राह्मण पिंढीले आफ्नो वर्चश्व गुमाउन चाहने छैनन्, अत: ब्राह्मणपीडित जनसमुदायलाई थामथुम गर्दै भड्काउ बेगरका सद्भाव कायम गर्ने दिशामा बाहुन युवाहरूले पहल गर्नपर्छ । तर उल्टो भई रहेको देखिन्छ । बाहुन युवाहरू पनि मूठभेटको मानसिकतासाथ ध्रुविकृत हुँदै उत्रेका देखिन्छन् । फलस्वरूप तीब्र जातीय ध्रुविकरण अनौठो रूपमा बढ्दो छ । राजनीतिक पार्टीहरूमा समेत जातीय ध्रुविकरण चरम देखियो । माथिबाट तल, तलबाट माथि, दाहिनेबाट देब्रे र देब्रेबाट दाहिने स्पष्ट दिशा निर्देशको साथ । यो ध्रुविकरणको डढेलो कर्मचारी तन्त्र, पुलिस र सेनामा पनि नसल्केला भन्ने ग्यारेन्टी छैन ।

आगोको धर्म सल्कनु नै हो । सल्के पछि केही पनि खरानी नहोउञ्जेल निभ्ने प्रकृति त्यसको छैन । होशियार, अबको यो सांस्कृतिक युद्ध जंगलमा हुने वाला छैन । त्यो शहर केन्द्रित हुनेछ । त्यो डढेलो हेडक्वाटरमै लाग्छ । जहाँ प्रज्ज्वलन वस्तु रहेको छ र जहाँ सारा विडम्बनाको बीजले जरा गाडेको छ । जनयुद्ध कालको जस्तो यो अवस्था होइन । पहिले जनयुद्ध कालमा सुरक्षाकोलागि गाउँबाट मान्छे शहरतिर ओइरिएका थिए अब शहरबाट गाउँतिर ओइरिने छन् । शहर अब सुरक्षित छैन ।

हालीमुहाली गर्नेलाई यो कुरा पच्दैन । तर उनको खानपिनमा यो दखल होइन । न्यायसंगत कुरा सोच्नोस । धेरै लिनु भएको छ । अरूलाई पनि दिनोस । दानले ऋद्धि सिद्धी सबै बढ्छ । १ र १ मिल्दा २ मात्र हुन्न । यो जोड मात्र होइन संयुक्त उर्जाको संयोग हो । यसबाट वस्तुत: ११ बन्द छ । भलो तपाईं हामी सबैको हुने हो । सुन्ने धैर्यता हुनु पर्यो । सुनेपछि कुरा बुझिन्छ र अरूका पनि मार्का थाहा हुन जान्छ जसले अन्तत: सहानुभूति र सद्भावलाई अङ्कुरित गर्दछ । सद्भावले सबैलाई सहमतितिर डोर्याउँछ र सहकार्यको लागि बाटो प्रशस्त गर्दछ । सहकार्यले नै १ र १ लाई ११ बनाएर अन्तत: उत्पादन नै बढ्ने हो जो सहभोगको भाग लाग्दा २ को योगबाट होइन ११ को संयोगबाट हामी प्रत्येकलाई अपूल बन्ने छ । त्यो उपलव्धि सबैको हुने छ । समभावको हुनेछ । खोरिया पोलेर पनि नयाँ बीजसाथ उत्पादन त बढाउन सकिन्छ, तर त्यसले त तपाइं हामी सबैको सम्पूर्ण सांस्कृतिक बिरासत नै भष्म हुने छ । समभावको सोचलाई हावा दिउँ ।

दुवै तर्फका बुद्धिजीवीहरू ! बीचबचाउ गर्नोस । स्थिति भयावह छ ।