
काठमाडौं, १ असार । भाईकाजी घिमिरे । न रोजगारी छ न व्यापार । तर सम्पत्ति अपार । नेताका वरिपरि र तस्करहरूसँगको सम्पर्कका कारण उनी एकाएक करोडपति बने । सिंहदरबार धाउने, विवादीत काम मिलाउने र त्यसवापत कमिशन कुम्ल्याउने उनको काम हो ।
त्यतिमात्र होइन, नेपालका ठूला घरानासँगको सिधा सम्पर्क र विवादीत काम मिलाउने जिम्मा पनि उनैले लिएका छन् । उनको सम्बन्ध चितवन घर भएको नाताले गृहमन्त्री, नेकपा अध्यक्ष प्रचण्डसम्म छ ।
त्यहि सम्बन्धलाई भँजाएर करोडौं रकम कुम्ल्याउने गरेका घिमिरे अहिले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका अभियुक्तलाई छुटाउने खेलमा सक्रिय छन् । त्यसका लागि शक्ति केन्द्रको प्रभाव अदालत र प्रहरीलाई पार्ने तयारी उनले गरेका छन् । उनकै सुझावका कारण कतिपय तस्करीका अभियुक्तले छानबिन समितिलाई दिएको बयान फेर्दै अदालतमा झूठ बोलेका छन् ।
विभिन्न तस्कर समुह र दुई नम्बरी समुहको काम लिने घिमिरे प्रशासन पनि आफ्नो मुट्ठीमा रहेको बताउँदै हिँड्छन् ।
घिमिरे उद्यमी बसन्त चौधरीको काम समेत हेर्छन् । नर्भिक अस्पतालको गाडी प्रयोग गरी उनी तस्करीका अभियुक्त छुटाउनका लागि बिराटनगरसम्म पुगेको त्यहाँका कर्मचारीले बताए । ‘उहाँलाई यहाँको गाडी दिइने गरेको छ, कहाँ जानुहुन्छ थाहा हुँदैन’, उनले भने,‘प्रायः अन्य सुविधा पनि माथिबाट आदेश आएको आधारमा नै दिने गरेका छौं ।’
चितवनका स्थायी बासिन्दा घिमिरेले करोडौं मुल्य बराबरको घर भक्तपुरमा बनाएका छन् । उनले गृह प्रशासन, प्रहरीमा पनि सरुवा बढुवाको जिम्मा लिने गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि नजिक हुनका लागि बादलपत्नी नैनकला थापालाई दिदी नै बनाएका घिमिरेले उनका एक छोरालाई भान्जा बनाएका छन् । उच्च स्रोतले भन्यो,‘त्यसैले पनि विवादीत काममा हात हालेर करोडौं रकम जम्मा गरेका छन् ।’
‘गृहमन्त्री छिमेकी हुन् भिनाजु हुन् भनेर पनि काम गर्दै आएका छन’, बसन्त चौधरीनिकट स्रोतले भन्यो,‘चौधरी ग्रुपकै पनि विवादका कतिपय मुद्दा मिलाउँछु भन्ने गरेका छन् ।’
पछिल्लो समय सुन तस्करीको अभियोगमा पूर्पक्षमा रहेका थाई एयरका कर्मचारी लालबहादुर मगर लगायतलाई जोगाउनका लागि शक्ति केन्द्र र अदालतलाई प्रभावमा पार्न सक्रिय घिमिरेले खानेपानी मन्त्री बिना मगर नजिक देखिन भाईटिका समेत लगाउने गरेका छन् । मन्त्री मगरलाई बद्नाम हुनेगरी विभिन्न काम गर्ने घिमिरे सिंहदरबारमा दिनभरी बस्ने र विवादीत कामको जिम्मा लिने गर्छन् ।
बसन्त चौधरीका कम्पनीका विवादीत काम मिलाएवापत घिमिरेले राम्रो रकम हात पार्ने गरेका छन् । त्यतिमात्र नभएर साना–ठूला ठेक्का टेन्डरको सेटिङ पनि उनैले मिलाउने गरेका छन् । स्रोतले भन्यो,‘शक्ति केन्द्रमा उनको एकाधिकार जस्तो छ । हरेक काम गर्छु भनेर सम्पर्क र सम्बन्ध बढाउने काम गर्छन् ।’















प्रतिक्रिया