नेपालगन्ज, २२ पुस । द्वन्द्वकालीन अवस्थामा धर्मराएको नेपालगन्जको होटल व्यवसाय क्रमशः फस्टाउँदै गएको पाइन्छ ।
मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडा अनुसार तीन अर्बभन्दा बढी लगानी भएको छ ।
होटल अर्गनाइजेसन नेपाल बाँकेका अनुसार पछिल्लो तीन वर्षको अवधिमा यो सहरका होटल व्यवसायमा मात्र करिब रु तीन करोड लगानी थप भएको छ ।
शान्ति सुरक्षाको अवस्थामा आएको सुधारले पर्यटकको आगमनमा समेत वृद्धिसँगै नेपालगन्जमा ठूला अनि सुविधासम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ ।
अर्गनाइजेसनका अनुसार द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् ।
त्यसैगरी, यस सहरका पुराना स्नेह, किचन हट र सिद्वार्थ भ्युलगायत ठूला होटलमा अहिले लगानीसमेत बढेको हुनाले पर्यटकको यो सहरप्रति आकर्षण बढदै गएको छ ।
यस क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्नका लागि आकर्षक होटल मात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेको स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चासो आवश्यक भएको होटल व्यवसायीको भनाइ छ । रासस
















प्रतिक्रिया