३ कार्तिक २०८३, मंगलबार

संसदको गाडी दुरुपयोग गर्नेहरूलाई सभामुख महराले ठेगान लगाउने !

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २६ जेठ । सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयका गाडीहरूको दुरुपयोग रोक्न चर्को दवाव परेको छ ।

यसअघि पद र राजनीतिक शक्तिको दुरुपयोग गरेर भीभीआइपी र भीआइपीहरूले गाडी जथाभावी प्रयोग गर्ने गरेको तथ्य फेला परेपछि महराको सचिवालयले त्यसलाई रोक्न सभामुख महरालाई दवाव दिएको हो ।

स्रोतका अनुसार महराले संसद सचिवालयका गाडीको तथ्याङ्क मागेर नियमन गर्न कडा निर्देशन दिने तयारीमा लागेका छन् ।

सभामुख महराले आफ्नो सचिवालय र कर्मचारीहरूलाई ऐन कानूनभित्र रहेर मात्रै गाडी सुविधा दिन निर्देशन दिएको स्रोतले जनाएको छ ।

हुन त राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पनि दुईवटा गाडी प्रयोग गर्दै आएका छन् । अध्यक्ष तिमल्सिनाले वा २ झ १६९१ र वा २ झ २८७० नम्बरका दुईवटा गाडीमा कब्जा जमाएका छन् । अध्यक्ष तिमल्सिनाले पनि चालक सिंहराज रुकवाको नाममा बुझेका छन् ।

राष्ट्रिय सभाका सांसद परशुराम मेघी गुरुङले पनि वा १ झ ८५०८ नम्बरको गाडी प्रयोग गरेका छन् । पार्टी एकीकरणपछि उनको पद छैन । तैपनि गुरुङले गाडी फिर्ता गरेका छैनन् ।

दुई महिनाका लागि भनेर संसद सचिवालयबाट खेलकुद मन्त्रालयले लगेको वा १ झ ८४८५ नम्बरको गाडी फिर्ता भएको छैन । त्यो गाडी को चढेको छ भन्ने कुराको जानकारी संसद सचिवालयलाई नै छैन ।

खेलकुद मन्त्रालयले संसद सचिवालयबाट २०७४ साल असार ३० गते लगेको हो । एक वर्ष हुँदा पनि गाडी फेला परेको छैन ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली बनाउने मस्यौदाका संयोजक कृष्णभक्त पोखरेलले पनि वा १ झ ८४८२ नम्बरको गाडी चढेका छन् । मस्यौदा शुक्रबार पारित भइसकेको छ । अब त्यो गाडी फिर्ता हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि दुईवटा गाडीमा कब्जा जमाएकी छिन् । उनले वा २ झ १४३८ र वा २ झ १६८९ नम्बरका गाडी प्रयोग गर्दै आएको उच्च स्रोतले जनाएको छ ।

संसद सचिवालयले पूर्वसभामुख रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्तीसहितका भिभिआइपीलाई पनि गाडी उपलब्ध गराएको छ ।

सुविधामा गाडी पाउने नेता, पदाधिकारी र कर्मचारीहरूले संसद सचिवालयका सरकारी ड्राइभरहरूलाई लिन मान्दैनन् ।

ड्राइभरहरूको रुखो व्यवहार र भनेको नमान्ने गरेका कारण नेताहरूले बाहिरबाट ड्राइभर राख्ने गरेको स्रोतले जनाएको छ ।