वीरगन्ज, २१ पुस । पर्साको झौवागुठी गाविस–७ का आमाछोरीलाई स्थानीय केही व्यक्तिले आइतबार राती कथित बोक्सीको आरोपमा निर्धात कुटपिट गरेपछि उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ ।
वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका मञ्जुदेवी सुनारी र उनकी छोरी ममताको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको पीडितका छोरा रवीन्द्रले आज राससलाई बताउनुभयो । कथित बोक्सीको आरोपमा गाउँलेको एक समूहले आमाछोरीलाई निर्धात कुटपिट गरी घाइते बनाएका थिए ।
सोही ठाउँका धुव्र साहले आफ्नो अढाइ वर्षको छोरालाई बोक्सी लगाएको भन्दै शनिबार राति कुटपिट गरेको मञ्जुका छोरा रवीन्द्रले जानकारी दिनुभयो । राति घरमा आफू पनि नभएको र बुबा पनि बहिनीको विवाहका लागि कुरा गर्न केटा पक्षको घरमा गएका बेला राति साहसहित उनकी आमा एकवाली देवी र स्थानीय प्रभु साह, कृष्ण साह र भरत साह मिलेर आमा र बहिनीलाई कुटेको उहाँले बताउनुभयो ।
राति नै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गराइएकामा त्यहाँ उपचार सम्भव नभएपछि मञ्जु र ममतालाई नेसनल मेडिकल कलेज वीरगन्जमा आइतबार बिहान भर्ना गराएको थियो । रवीन्द्रका अनुसार मञ्जुको टाउकामा शरीरका विभिन्न भागमा चोट लागेको छ भने ममताको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ ।















प्रतिक्रिया