काठमाडौं, २१ पुस । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि दुईपटक पक्राउ परेर छुटेका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापालाई हत्या अभियोगमा फेरि पक्राउ पर्छु भन्ने विश्वास रहेछ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा थापाको बयान यस्तो छ, ‘पहिला प्रतिशोधले हत्या गरियो, घटनापछि न राम्ररी खान रुच्थ्यो, खाली त्यही घटना झल्झली आउँथ्यो, धेरै दिन मनमनै तड्पिएँ, प्रहरीले समात्यो अब आनन्द भो।’
२०६९ जेठ १८ मा बिहान ११ बजे ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकै बममाथि गोली प्रहार गरी हत्या गरेको अढाइ महिनापछि पक्राउ परेका थापा सामान्य केरकारपछि छुटेका थिए।
प्रहरीले घटनामा प्रयोग भएको पेस्तोलबारे नख्खु कारागारमा रहेका मिलन भनिने ज्ञानु लामासँग सोधपुछ गर्दा लामाले उक्त हतियार थापाले दिएको बयान दिएका थिए।
ललितपुर प्रहरीले पुनः थापालाई पक्राउ गरेर हतियाबारे सोधपुछ गर्दा उनले अस्वीकार गरेका थिए। त्यसपछि सार्वजनिक मुद्दामा थापा मुक्त भएका थिए। ‘दुईपटकसम्म प्रहरीले पक्राउ ग¥यो। तर झूटो बोल्दा म बाहिर निस्कन सफल भएँ।
अहिले फेरि पक्राउ परेपछि अब राजनीतिक यात्रा यति नै रहेछ भन्ने सम्झिएको छु, थापालाई उद्धृत गर्दै सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले भने ।’ जतिबेला मेरो राजनीति माथि उठ्न लाग्दै थियो, बमको अन्तरिम आदेशपछि तल गिर्यो, मैले रिस थाम्न सकिनँ र मार्ने योजना बनाएकै हुँ, अहिले पश्चात्ताप छु, थापाले बयानमा भनेका छन्।
डीआईजी ठकुरीका अनुसार बयानका क्रममा थापाले घटनाक्रम सुरुदेखि नै स्वीकारेका छन्। ‘पहिला थापामाथि शंका गर्दा हामीसँग जुन प्रमाण थियो, त्यो अहिले उनले बयान दिएका आधारमा भिडाउँदा धेरै मिल्छ, थापाले तीन पानाको बयान सजिलै दिएका छन्,’ ठकुरीले भने। एक पत्नी र दुई छोरी रहेका थापा पाँच भाइमध्ये काइँला हुन्।
थापाका माइला दाजु जनकपुरमा बम पड्काए र एकजना घाइते भएको घटनामा जेलमै छन्। आजको अन्नपुर्णपोष्ट दैनिकमा खवर छ ।
यसैबीच ललितपुर न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आइतबार थापासहित चारजनालाई थुनामा राखी अनुसन्धान गर्न सात दिन म्याद दिएको छ।















प्रतिक्रिया