
– महेन्द्र गुरुङ
जब मानिसलाई आफ्नो मातृभूमिको मायाले तान्छ, तब विश्वका जुनसुकै सम्पन्न राष्ट्रमा भएपनि स्वदेशमै फर्किन मन लाग्छ । दुई दशकअघि म पनि हङकङ थिएँ । मेरो परिवार नै हङकङको आईडी लिएर त्यहाँ बसोवास गर्छ । तर म नेपालभन्दा टाढा रहेर बस्न सकिन । मलाई पनि नेपालको, आफ्नो मातृभूमिको मायाले तान्यो । र, म हङकङको आईडी त्यागेर नेपाल फर्किएँ । आफ्नो पसिना आफ्नै देशमा खर्चन्छु भन्ने लाग्यो ।
नेपाल फर्केर होटल व्यवसायमा आबद्ध भएँ । मेरो अहिले रेष्टुरेन्ट क्लव र ट्राभल व्यवसाय पनि छ । आखिर जहाँ पनि परिश्रम नै गर्ने हो, परिश्रम नगरी खान पाइने सायदै कुनै देश होला । आफ्नै देशमा व्यवसायमा लाग्नुको अर्को कारण भनेको मैले विदेशिएका युवाको हविगत पनि देखेको छु । युवाहरु विदेश पलायन भएर कोही बाकसमा फर्केका छन्, कोही ऋण तिर्न नसकेर अलपत्र परेका छन् त कोही नेपाल आउन नसकेर त्यहाँको जेलमा बस्न बाध्य । विदेशमा बसेकाको घुमेको, डुलेको र रमाइलो गरेको फोटो फेसबुकमा हेर्दा आहा भन्ने लाग्छ । तर त्यहाँको दुःखको फोटो कसैले सेयर गदैन । त्यहाँ पनि मेहेनेत उत्तिकै लाग्छ । यो सबै परिस्थितिलाई नियाल्दा मेलै नेपालमै बसेर केही गर्ने निर्णय गरेकोमा आफैँलाई खुुसी लागेको थियो ।
व्यवसाय गर्दै जाँदा मैले राजनीतिमा पनि प्रवेश गर्ने अवसर पाएँ । व्यवसायबाट भन्दा राजनीतिबाट धेरै कुराहरु सिक्ने मौका पाएको छु, मैले । धेरै प्रशिक्षणहरुका माध्यमबाट जीवन परिर्वन गर्नमा राजनीतिको पनि देन छ । अहिले राजनिति र व्यवसाय सँगसँगै अघि बढिरहेको छ, मेरो जीवनमा । तर काम गर्दै जाँदा प्रतिस्पर्धी आफै बढ्दा रहेछन् । प्रतिस्पर्धामा जित्नुको मज्जा पनि बेग्लै छ । मैले अहिलेसम्म जानेर कसैको केही बिगारेको छैन् । तर, पनि अघि बढ्न खोजेको मान्छेलाई चारैतिरबाट हमला हुँदोरहेछ । सायद यो हाम्रो समाजमा परम्परा नै बसेको छ । तर, त्यसो हुँदा पनि मैले आफूले कहिल्यै पनि आत्मबल कमजोर गरेको छैन् ।
व्यवसायमार्फत मैले १२५ जना युवालाई रोजगारी समेत दिएको छु । म जस्ता युवाले अन्यलाई रोजगारीको अवसरको सिर्जना गर्ने हो भने देशमा बेरोजगारीको समस्या पनि हट्छ भन्ने लाग्छ । किनकी नेपाललाई समृद्ध बनाउनु पर्छ, अबको पाँच वर्षमा नेपालको मुहार फेरिनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले म ट्राभल व्यवसायमा छिरेको हो । यस व्यवसायबाट मैले देशका धेरै स्थानमा पुगेर त्यहाँको अवस्था जान्ने मौका पाएँ । विकट भेगका केही स्थानमा पूवाधारहरु पुगिसकेको छ भने केही स्थानमा पुग्ने क्रममा छ । पहिलेको तुलनामा विकट क्षेत्रमा पनि सडक पुगेको छ । जुनको निकै सकारात्मक कुरा हो ।
नेपाल प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । नेपालै छ सबैभन्दा अग्लो सगरमाथा । नेपालमै छन् विभिन्न खोलानाला र ताल तलैयाहरु । नेपालको हरियाली वनजंगल देखेर कुन विदेशीको मन नजित्ला ? विदेशी पर्यटकहरु नेपालको यो प्राकृतिक सुन्दरता देखेर आँशु चुहाउँछन् । जुन दृश्य मैले पछिल्लो समय नेपालको अग्लो स्थानमा रहेको तिलिचो तालमा देखेको थिएँ । त्यहाँको सुन्दरता हेरेर एक विदेशी पर्यटकले त आँशु नै भारेका थिए ।
यस्तो कुरामा राज्यले अलि बढि चासो दिन आवश्यक छ । तर सरकारलाई जिम्मेवार बनाउनु पनि हाम्रो कर्तव्य हो । हाम्रै प्रकृतिको माध्यमबाट हामीले लाखौँको सख्यामा पर्यटक भित्राउन सक्छौँ । तर ति पर्यटकीय क्षेत्रको प्रवर्धन आवश्यक छ ।
हाम्रो देश हामी आफैँले बनाउने हो । देशको भविष्य हाम्रो काँधमा छ । अहिलेको सरकार स्थिर सरकार भएकाले यो सरकारबाट अबको पाँच वर्षमा धेरै परिवर्तन हुने आशा छ । प्रधानमन्त्रीले विकासको खाका बनाउँदै हुनुहुन्छ । त्यसको कार्यान्वन हुन केही समय भने पक्कै लाग्छ । देश विकास भन्ने कुरा आजको भोली हुने कुरा होइन । त्यसकारण सरकारले केही पनि गरेन भनेर निराश हुनु आवश्यक छैन । सबैतिरबाट केपी ओलीको सरकारले कही गरेन भन्ने गुनासो आएको छ तर केही समयमै देशले विकासका गति लिने मैले आशा लिएको छु ।
नेपाली युवाको लागि निकै संक्रमणकालिन अवस्था हो यो, जुन काँचो माटो जस्तो छ । पहिले अधिकांश युवामा विदेश जाने भुत सवार थियो । तर आजको युवामा मैले परिवर्तन देखेको छुु । नेपालमै केही गर्नुपर्छ भन्ने भावना पनि मैले युवामा रहेको पाएको छु । राज्यबाट अवसर र थोरै भएपछि सहयोग मिले केही गर्न सक्ने जोश जाँगर पनि महसुस गरेको छु, हाम्रा युवामा ।
युवा संघले पनि यसमा साथ दिइरहेको छ । युवा संघमा रहेका अधिकांश युवा विभिन्न रुपमा रोजकारमा आबद्ध छन् । रोजगार साथीहरुले अन्यलाई पनि रोजगार बन्ने हौसला दिने गरेको पनि मैले पाएको छु । त्यसमाथि अब हाम्रो सर्टिफिकेटले पनि मुल्य पाएको छ । हामीले आफ्ना सर्टिफिकेट धितो राखेर ऋण लिन सक्नेसम्मको व्यवस्था आएको छ । मेरो विचारमा यो कुराले पक्कै पनि युवाहरुलाई प्रोत्साहन मिल्नेछ । नेपालमै बसेर केही गर्नु पर्छ भन्ने भावना बढेको छ, युवामा । युवा संघले पनि केही गर्न खोज्नेलाई साथ दिने गरेको छ ।
अबको समयमा देश बनाउने र राजिनिति गर्ने भनेको युवाले हो । युवालाई प्रविधिको धेरै ज्ञान छ । उनीहरुले प्रविधिको माध्यमबाट धेरै कुरा आफैँ नै सिक्न सक्छन् । प्रविधिको ज्ञानले युवाहरुलाई राजनितिमा अघि बढ्न पनि मद्यत गर्छ । राजनीतिमा पनि युवाको राम्रो भविष्य मैले देखेको छ । युवाहरु तातो रगत हुन्छ त्यसैले उनी राजनितिमा अटाउँदैन, हिँसा मात्रै फैलिन्छ भन्ने कुुरा पनि केहीमा रहेको देखिन्छ । तर अहिले अवस्था फेरिएको छ । युवाहरुले पनि यो अन्तरालमा धेरै कुुराहरु जान्ने मौका पाएका छन् । र उनीहरुले पनि देशलाई विकासको बाटोमा लैजान खोजिरहेको छन् । त्यसैले अग्रजहरुले पनि युवाको क्षमतामा विश्वास गर्नुपर्ने र उनीलाई हौसला दिनुपर्ने मैले देखेको छु ।
अब युवाले पनि आफ्नो लागि आफैँ सम्भावना खाज्नु आवश्यक छ । नेपालमा सरकारले विकास निर्माणका कामहरु सम्पन्न गरेर उपयुक्त वातावरण बनाउने हो भने युवाको लागि विदेश जानुपर्ने बाध्यता आउने थिएन । देशमा रहेको युवालाई आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउँथे । र विदेशमा रहेका युवालाई पनि नेपाल आउ भनेर भनिरहनुपर्ने थिएन ।
(युवा संघका नेता सँग दैनिक नेपालका हेम रोकाहाले गरेको कुराकानी)















प्रतिक्रिया