३० आश्विन २०८३, शुक्रबार

खै, भारतीय नाकाबन्दीबाट हामीले के सिक्यौँ ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हेम रोकाहा

उत्तरी क्यारेबियन क्षेत्रमा एउटा देश छ, जसको नाम हो क्युबा । यो एक कम्युनिष्ट देश हो । अमेरिकालाई गाली गर्नु यहाँका मानिसहरुको दैनिकी नै थियो कुनै बेला । किनकी क्युबाको तेल खानीमा आँखा गाडेको अमेरिकाले सन् १९५८ मा क्युबामा आर्थिक नाकाबन्दी गरेको थियो । त्यतिबेला क्युबाले बाहिरबाट सामान ल्याउने मात्रै होइन अन्य देशमा सामान निर्यात गर्न पनि नपाउने अवस्था थियो । क्युबाका तानाशाह फल्गेन्सियो बाटिस्टाले अमेरिकासँग मिलेर क्युवालाई सखाप पार्ने काम गरे । पछि क्युबान क्रान्तिबाट बाटिस्टा सत्ताच्युत भए र फिडेल क्याष्ट्रो सत्तामा आए । उनले क्युबालाई एकल पार्टी कम्युनिष्ट राज्य बनाए र देशका सबै उद्योग र व्यवसायलाई राष्ट्रियकरण गर्दै देशको उत्पादनलाई आफ्नो कब्जामा लिए । बाटिस्टाको तानाशाहबाट क्युबालाई मुक्त गर्न राउल क्याष्ट्रो र चे गुभेरासँगै क्युबान क्रान्तिको नेतृत्व गरेका फिडेलले गुरिल्ला युद्धमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी सत्तामा आएपछि क्युबाले विस्तारै आर्थिक बृद्धि हासिल गर्दै गएको थियो ।

अहिले क्युबाको कुल ग्राहस्थ उत्पान (जीडीपी) नेपालको भन्दा झण्डै तीन गुणा बढि छ । आयात र निर्यातको मामलामा भने नेपाल र क्युबा उस्तै छन् । सार्वजनिक क्षेत्रमा ७६ प्रतिशत र निजी क्षेत्रमा २३ प्रतिशत रोजगारीको अवसर छ । मावन विकास सुचकांकमा क्युबा ६८ औँ स्थानमा छ । क्युबाका मानिसहरु स्वरोजगार हुन थालेपछि यहाँको अर्थतन्त्रले पनि कोल्टे फेर्‍यो । मानिसहरु अमेरिकालाई गाली गर्न छाडेर आफ्नो देश विकास गर्न थाले । अहिले क्युबा नेपालको लागि एक उदाहरणिय देश हो ।

क्युवाको हावाना सहर ।

नेपालमा भारतको विरोध गर्ने परम्परा पुस्तौँदेखि चल्दै आएको छ र अहिलेको पुस्तामा पनि त्यसले निरन्तरता पाएको छ । भारतको थिचोमिचोका कारण नेपालीहरुमा भारतप्रतिको रिस बढ्दै गएको छ । नेपाल कतिसम्म भारतसँग आश्रित रहेछ भन्ने कुरा विस २०७२ सालको नाकाबन्दीले होस् दिलायो । यतिसम्म कि नेपालको दानादेखि नानासम्ममा त्यसको विकराल अवस्था देखियो । नाकाबन्दीले गरिबी अझै बढायो । व्यापारीहरुलाई कालोबजारी गर्ने राम्रो मौका मिल्यो । जसले दाजुभाई भनेनन्, आफन्त इष्टमित्र भनेनन् र १०० रुपैयाँको पेट्रोल ५ सय र १५०० को ग्याँसको सिलिण्डर ५ हजारदेखि १० हजारसम्म पनि बेचे । भारतप्रतिको घृणा अझै बढ्दै गयो र अझ चर्को विराध हुँदै गयो । जुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालको नेपाल भ्रमणमा पनि देखियो ।

त्यो नाकाबन्दी नेपालको लागि एउटा गतिलो पाठ थियो । नेपालले त्यसबाट पाठ सिकेर आत्मनिर्भर हुनुपर्ने थियो । तर त्यो पाठ न नेपालका नेताले सिके न जनताले । अब केही गर्नुपर्छ भन्ने भावना कतै दखिएन र देखिएको छैन । नाकाबन्दी भएको अढाई वर्ष बितिसक्दा पनि नेपालले आत्मनिर्भर हुुने एक छनक पनि देखाएको छैन । सबै कामधन्दा छोडेर भारतको विरोध गर्नमा तल्लिन छन् । जसले गर्दा नेपाल अझ भारतसँग आश्रित हुँदै गइरहेको छ ।

यो अवस्था तबसम्म रहन्छ जबसम्म नेपाल आत्मनिर्भर हुँदैन । जबसम्म नेपालीले भारतको विरोध गर्न छाडेर आफ्नो काममा लाग्दैनन् । त्यो नाकाबन्दी पहिलो थिएन । विगतमा पनि पटक पटक भएका थिए तर त्यसबाट नेपालीले कत्तिपनि चेतेनन् । अरुको भरपर्दा विजाग हुने रहेछ भन्ने कत्ति पनि ख्याल भएन । नाकाबन्दीलाई नेपालले उपलब्धीको रुपमा लिन पर्थ्यो । भारतको विरोध गर्नेहरुलाई नुनदेखि सुनसम्म, ओड्ने देखि ओछ्याउनेसम्म, भाँडादेखि लुगाफाटासम्म हामी भारतमै आश्रित छौँ भनेर थोरै पनि हेक्का छ कि छैन होला ? कृषिप्रधान देश नेपालको लागि चाहिने आधा जति धानमात्रै भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा भारतको विरोध गरेर मात्रै बस्नै कि आफ्नो स्थिति सुुधारको लागि केही गर्ने पनि ?

नेपाल सधैँ नेपाल नै रहनेछ र भारत सधैँ भारत नै । हामीले छिमेकी फेर्न सक्दैनौँ तर छिमेकीसँगको सम्बन्ध फेर्न सक्छौँ । अब भारत र चिन दुुई छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम दिएर नेपालको हित हुने काममा नेपाल सरकार लाग्नुपर्छ । र नेपाली जनताले पनि नाकाबन्दीको घाउमा मलम पट्टि लगाएर अघि बढ्नुपर्छ । सगरमाथाको जति नै उचाई भएको नेपालीको मनलाई नाकाबन्दीले प्रभाव पार्नुहुन्न । त्यसबाट पाठ सिकेर सबै नेपालीहरु नेपाललाई आत्मनिर्भर बनाउने दिशामा लाग्नुपर्छ । ताकि भविष्यमा भारतले फेरी नाकाबन्दी लगाएमा त्यसले नेपाललाई होइन भारतलाई नै घाटा हुने अवस्था सिर्जना होस् ।