३ कार्तिक २०८३, मंगलबार

गुन्डा नाइके दावा लामा सिक्किममा, यस्ता छन् आधा दर्जन सट्टेबाज खेलाउनेहरू

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । गुन्डा नाइके दावा लामासहितले नेपालबाट सट्टेबाजीको खेल अवैध रुपमा सञ्चालन गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ गरिएका पूर्व राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अञ्जन केसीसहित ६ जनालाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले भने,‘दावाले भारतको सिक्किमबाट यस्तो खेल खेलाइरहेको पाएका छौं ।’

भारतमा भर्खरै सकिएको आइपीएल, युरोपियन च्याम्पियन्स कपलगायतका खेलमा सट्टेबाजीको अनलाइन खेललाई अवैध रुपमा सञ्चालन गरिएको पाइएको हो । ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ, गिरोहको पनि खोजी गर्ने काम भइरहेको छ ।’

मंगलबार प्रहरीले सट्टेबाजीमा संलग्न पूर्व फुटबल प्रशिक्षक केसी, मैतीदेवीका गौरव तिवारी, काभ्रेका भूपेन्द्र कुँवर, नुवाकोटका निदेश बोगटी, भक्तपुरका विजय श्रेष्ठ र नरेन्द्र सुवाललाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

गुण्डा नाइके दावा भने फरार भएका छन् । दावाले पछिल्लो समय भएको चेल्सी र लिभरपुलको खेलमा १० लाख भारतीय रुपियाँ अनलाइन अकाउन्टमार्फत लगानी गरेको प्रहरी अनुसन्धानले खुलाएको छ ।

नेपालमा सट्टेबाजीको खेल नागराज भनिने अमित अग्रवालले सुरु गरेका थिए । यो समुहमा गौरव तिवारीको हिमचिम बलियो थियो । सँगै मिलेर सट्टेबाजीको धन्दा चलाउँदै आएका दुवैबीच लेनदेनमा विवाद भएपछि गौरवले फरक समुह सञ्चालन गर्दै आएको थियो ।

गौरव समुहले लन्डनबाट २४ वटा मास्टर एकान्टमार्फत ७ करोड ४७ लाख बराबरको कारोबार गरेको फेला परेको पोखरेलले बताए । उनले भने,‘यो काम ०७२ सालदेखि भूपेन्द्र कुँवरले गौरवसँग मिलेर गरेको देखिन्छ ।’

भर्खरै सम्पन्न आईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगितमा भुपेन्द्रको खाताबाट ३ करोड २३ लाख नगदको कारोबार भएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका विजय श्रेष्ठले विगत एक वर्षदेखि भुपेन्द्रमार्फत बेटिङ खेल्ने खेलाउने गर्दै आएका थिए । विजयको खातामा एक करोड ७० को ट्रान्जेक्सन देखिएको प्रहरीले जनाएको छ । त्यस्तै नरेन्द्र सुवालले भने विजय श्रेष्ठसँग मिलेर सत्तहत्तर लाख बराबरको सट्टेबाजी गरेको खुलेको छ ।